गरिमाको शाखा विस्तार

गरिमाको शाखा विस्तार


पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय सञ्चालन गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । पोखराबाट काठमाडौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको प्रक्रिया पूरा गरी गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमा सेवा सुरु गरेको थियो ।

यसैबीच बैंकले चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए । चावहिलसंगै काठमाडौंको सामाखुसी, लाजिम्पाट तथा कलंकीसहित देशभर ४७ शाखा र ९ वटा एटीएमबाट बैंकले वित्तीय सेवा दिएको छ ।

आर्थिक बर्ष ०७३÷७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलन तथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरि ४२ करोड १६ लाख संचालन आम्दानी गरेको छ । केही समयअघि मात्रै १० बराबर ७ (१०ः७) को अनुपातका हकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्तापूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।