उत्तर कोरियाले गर्यो शक्तिशाली क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले गर्यो शक्तिशाली क्षेप्यास्त्र परीक्षण


ट्रम्पले ट्वीट गर्दै भने- ‘यो मान्छे उसको जिवनमा राम्रो गर्ने कुनै कामै पाउँदैन कि क्या हो ?’

विश्व समुदायले पटक पटक दिएको चेतावनीका बाबजुद उत्तर कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । विश्व समुदायको आग्रहका विपरीत उसले मङ्गलबार सो क्षेप्यास्त्र परीक्षण गरेको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यसलाई एक ठूलो समाचारका रुपमा बिहानैदेखि प्रचारमा ल्याएका छन् । यस परीक्षणलाई उत्तर कोरियाले संयुक्त राज्य अमेरिकालाई दिएको चेतावनीका रुपमा पनि लिइएको छ । किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला यता उत्तरले भने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।

गत सोमबारमात्र भएको अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिन चीनलाई आग्रह गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरले जारी राखेको सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बिगत लामो समयदेखि जारी तनावपूर्ण अवस्थाका बारेमा कुराकानी गर्नुभएको भोलिपल्टै उत्तरले आज यो परीक्षण गरेको छ ।

यसलाई निकै शक्तिशाली क्षेप्यास्त्रका रुपमा लिइएको छ । आणविक हतियारसम्बन्धी विज्ञहरुका अनुसार सो परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको सम्म भनेका छन् । यसअघि उत्तर कोरियाली नेताले आफ्नो देशले अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माणको तयारी गरिरहेको जनाउनुभएको थियो । तर यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने असम्भव भन्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार भएको चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको वार्तापछि गर्नुभएको ट्वीटमा उत्तर कोरियाको यस आणविक परीक्षणको कामलाई वाहियात भन्नुभएको छ र यसलाई सधैँका लागि बन्द गराउने काम गर्न चीनलाई पनि आग्रह गर्नुभएको छ । कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि चीनको अहम भूमिका हुने अमेरिकी भनाई रही आएको छ । उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि हालै अमेरिका भ्रमणका क्रममा उत्तर कोरियाको यो बारम्बारको क्षेप्यास्त्र परीक्षणको खेती रोक्न आग्रह गर्नुभएको थियो ।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तर रुपमा आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको विश्व समुदायको प्रतिक्रिया छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया, जापानमात्र नभएर विश्व समुदायले यस्तो आणविक परीक्षणको क्रियाकलाप तत्कालै रोक्न उत्तर कोरियालाई कैयाँ पटकसम्म आग्रह गरी आएका छन् । तर उत्तरले उनीहरुको आवाजको बेवास्ता गर्ने गरेको छ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबारे पछिल्लो समयमा बढी मात्रामा नै चासो लिनुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उहाँले आपूm राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाउनुभएको हो । यो परीक्षणलाई उत्तर कोरियाली रक्षा अधिकारीहरुले शक्तिशाली भनेका छन् । उनीहरुले यसको औपचारिक नामाकरण र घोषणा भने गरेका छैनन् । सञ्चारमाध्यमहरुले यस परीक्षणपछि उत्तर कोरियाली नेताको प्रतिक्रिया के आउछ भन्ने बारेमा केही बताउन नसकिएको जनाएका छन् ।

यो परीक्षणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको ट्वीटमा भन्नुभएको छ– यो मान्छे उसको जिवनमा राम्रो गर्ने कुनै कामै पाउँदैन कि क्या हो ? उत्तर कोरियाली राजधानी प्योङयाङको नजिकैको एक समुद्रबाट यो क्षेप्यास्त्र परीक्षण गरिएको छ । मङ्गलबारको यो परीक्षणबाट करिब २ हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमता रहेको अनुमान जापानले गरेको छ ।