पाँचलाख विस्थापित सिरियाली घर फर्केको राष्ट्रसङ्घको भनाई

पाँचलाख विस्थापित सिरियाली घर फर्केको राष्ट्रसङ्घको भनाई


सन् २०११ पछि सिरियामा जारी द्वन्द्वका कारण विस्थापित बनेकामध्ये झन्डै पाँच लाख सिरियाली जनता सन् २०१७ को सुरुदेखि हालसम्म घर फर्केका संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने नियोगले जनाएको छ । एएफपीका अनुसार उनीहरू घर फर्किनुको अर्थ सिरिया पूर्णतया सुरक्षित भएको कारणले भन्दा द्वन्द्वमा छुटेका आफ्ना परिवारका सदस्य र सम्पत्ति खोजी गर्न पुगेका पाइएको छ । उनीहरूले घर फर्की आफ्नो घर र सम्पत्तिको रेखदेखपछि केही पुनः शरणार्थी शिविरमा फर्किने गरे पनि केहीले भने पुनः घरगाउँ नछोडेका पाइएको समाचारमा जनाइएको छ ।

राष्ट्रसङ्घीय उक्त नियोगले पछिल्ला केही महिना यता स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका जनता घर फर्की आफ्ना परिवार र सम्पत्तिको हेरचाह गरेको भेटिएको बताएको छ । जनवरीपछि चार लाख ४० हजार विस्थापित सिरियाली अलेप्पो, हामा, होम्स र दमास्कस क्षेत्रमा फर्केको यूएनएचसीआरका प्रवक्ता आन्द्रेज महेसिकले जेनेभामा भेला भएका सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

सो अवधिमा करिब ३१ हजार शरणार्थी छिमेकी देशबाट स्वदेश आएका छन् । यससँगै विदेश पलायन भएका करिब दुई लाख ६० हजार सिरियालीको सन् २०१५ पछि स्वदेश आगमन भएको उहाँले बताउनुभयो । उहाँले विदेशमा रहेका सिरियाली स्वदेश फर्कने वातावरण हुनु र फर्कन चाहनुले सकारात्मक सन्देश दिएको भए पनि लाखौैँ जनता विस्थापित भएको सिरियामा फर्कनेको सङ्ख्या नगन्य मात्र भएको बताउनुभयो ।

उहाँले सिरियामा हिंसात्मक गतिविधिमा कमी आएका कारण घर छोडी शरणार्थी बनेका जनता स्वदेश वा घर फर्किन थालेका भनिहाल्नु नहुने बताउनुभयो । सिरियामा गत छ वर्षको अवधिमा तीनलाख २० हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा विस्थापित बनेका संयुक्त राष्ट्रसङ्घको आँकडा रहेको छ । तर सिरियास्थित राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन दे मिस्टुराले यसैहप्ता सुरक्षा परिषद्मा मे ४ मा भएको शान्तिवार्तापछि हिंसा प्रष्ट महसुस गर्न सकिने गरी घटेको बताउनुभएको थियो ।