सानो रकमले अमेरिकामा राम्रै कमाइ

सानो रकमले अमेरिकामा राम्रै कमाइ


■ सानुबाबु सिलवाल

‘लङ्कामा सुन छ, कान मेरो बुच्चै’ भनेजस्तै आर्थिक समृद्धिका लागि यसका बाटाहरू त्यति सहज छैनन् । आर्थिक स्वतन्त्रता र समृद्धशाली जीवनशैलीको कल्पना हामी सबैसँग छ । तर, यो सबैलाई प्राप्त हुन भने सक्दैन । र, सबैलाई सहज पनि छैन । यद्यपि, जोखिम मोल्ने आँट, स्रोत–साधन, ज्ञान र समयको सदुपयोगसँगै यी बाटाहरू कठिन पनि छैनन् । संसारभरिकै अवसर, स्वतन्त्रता र चाहना पूर्तिको उत्तम मुलुक अमेरिकामा आर्थिक समृद्धिको सपना त्यति टाढा पनि छैन । जहाँ व्यक्तिभन्दा कागज बोल्छ, जहाँ कुरामा भन्दा श्रममा विश्वास गरिन्छ । जहाँ उत्पादन, श्रम र क्षमताको मूल्य हुन्छ । हामी अहिले यस्तो ठाउँमा छौँ, जो संसारको सातौँ आर्थिक सम्पन्नशाली र शाक्तिशाली साना व्यवसायको अत्यन्त उर्वरभूमि (भर्खरै प्रकाशित २०१५ को नयाँ तथ्याङ्कअनुसार) हो । सो तथ्याङ्कअनुसार वार्षिक प्रतिव्यक्ति आम्दानी उच्च भएका विश्वका १० मुलुकमा कतार एक लाख आठ सय ८९ डलर, लक्जेम्बर्ग ९१ हजार तीन सय ८८ डलर, सिंगापुर ९१ हजार तीन सय ८८, मकाउ ८७ हजार सात सय ६५, नर्वे ६५ हजार ६ सय ४०, स्विजरल्यान्ड ५३ हजार तीन सय ६७, संयुक्त राज्य अमेरिका ५१ हजार सात सय चार, हङकङ ५० हजार नौ सय ३६, अस्ट्रेलिया ४४ हजार पाँच सय ९८ र संयुक्त अरब इमिरेट ४२ हजार ८० डलर रहेको छ ।

अमेरिकामा साना व्यवसाय आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको छ । साना व्यवसायमा क्रमशः प्रवासीहरूको भूमिका पनि वृद्धि हुँदै गइरहेको छ । साना व्यवसाय अमेरिकी राजस्वको मुख्य हिस्सा हो । यसले अमेरिकामा झन्डै ७२ प्रतिशत रोजगार सिर्जना गरेको छ । एउटा अचम्मको कुरा के छ भने साना ब्यवसायमध्ये ७० प्रतिशत एकजना वा एउटा परिवारबाट चलेको छ भने ५० प्रतिशत साना व्यवसाय घरबाट सञ्चालित छन् । अमेरिकामा ९९.३ प्रतिशत साना व्यवसायमा रोजगारदाताको प्रत्यक्ष प्रतिनिधित्व छ भने झन्डै ६ ट्रिलियन डलर जीडीपी साना व्यवसायले ओगटेको छ । साना व्यवसायमध्ये ५२.२ प्रतिशत खुद्रा व्यापारसँग सम्बन्धित छन् भने ४६.८ प्रतिशत थोकसँग सम्बन्धित छन् । २४.६ प्रतिशत उत्पादन बिक्रेतासँग सम्बन्धित साना व्यवसाय र यसबाट उत्पादित ९७ प्रतिशत वस्तुले अमेरिकाको निर्यातको हिस्सा ओगटेको छ ।

इकोनोमिक टुडेको एक सर्वेक्षणअनुसार अमेरिकाको महत्वपूर्ण सहरमा प्रवासीहरूले क्रमशः आफ्नो प्रभाव जमाइरहेका छन् । क्यालिफोर्नियामा चार प्रतिशत, उटाहमा ३.८ प्रतिशत, नेवाडामा ३.४ प्रतिशत, फ्लोरिडामा ३.१ प्रतिशत, वासिङ्टन डीसीमा २.९ प्रतिशत ओहायोमा २.२ प्रतिशत, ओरिगनमा २.१ प्रतिशत, मोन्टानामा २ प्रतिशत र अलास्कामा १.९ प्रतिशत प्रवासी व्यवसायी छन् । यसैगरी अन्य राज्यहरूमा पनि प्रवासी साना व्यवसायीहरूको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । प्रवासीहरूमध्ये स्पानिस ३७.२ प्रतिशत, एसियन ३१.१ प्रतिशत, काला २८ प्रतिशत र अमेरिकन–इन्डियन ६.७ प्रतिशत साना व्यवसायमा संलग्न रहेको देखिन्छ । मुख्यतः एसियन र स्पानिसहरूले नै अमेरिकाको अन्य क्षेत्रमा जस्तै साना व्यवसायमा पनि आफ्नो बाहुल्य बढाउँदै गइरहेका छन् ।

यति मात्र होइन, प्रवासी महिला पनि अमेरिकामा साना व्यवसायमा उल्लेखनीय रूपमा अघि बढिरहेका छन् । अमेरिकाका महत्वपूर्ण सहरहरूमा प्रवासी महिला साना व्यवसायमा केन्द्रित हुँदै गइरहेको देखिन्छ । साना व्यवसायको क्षेत्रमा महिलाको उल्लेखनीय रूपमा बढ्दो सहभागिता र उत्साहलाई नमुनाको रूपमा लिन सकिन्छ । अमेरिकाको १० सहरहरू लसएन्जल्स, सिकागो, न्युयोर्क, ह्युस्टन, फोनिक्स, वासिङ्टनडीसी, डल्लास, मिचिगन, फिलाडेल्फिया र एटलान्टामा महिला व्यवसायीको प्रतिशतमा बाहुल्य देखिएको छ ।

साना व्यवसायका लागि आफूसँग भएका निम्न स्रोत–साधनलाई सानो तहबाट सुरुवात गरेर नै आर्थिक समृद्धितर्फ उन्मुख हुन सकिन्छ । यसका लागि ठूलो लगानी आवश्यक पर्दैन । आफूसँग भएको ज्ञान र सानो स्रोतलाई सदुपयोग गर्न सकिएमा साना व्यवसाय आर्थिक स्वतन्त्रता र समृद्धिको मुख्य विकल्प हुन सक्छ ।

के गर्न खोजिएको हो ? कुन प्रकृतिको व्यवसाय गर्न खोजिएको हो ? कस्तो स्थान र क्षेत्रमा उपयुक्त हुन सक्छ ? व्यवसाय गर्नुपूर्व यस्ता लेखाजोखा र अध्ययन हुन आवश्यक छ । अमेरिकामा नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ । अमेरिकाका विभिन्न सहरहरूमा नेपाली समुदायको सङ्ख्यात्मक रूपमा वृद्धि भइरहेको अवस्थामा आफूसँग भएको सानो आर्थिक स्रोत–साधन सदुपयोग गरी साना व्यवसायातर्फ क्रमशः नेपाली केन्द्रित भइरहेको देखिन्छ । अमेरिकाका सहरहरूमा मात्रै होइन, यसका ग्रामीण राज्य तथा कुना–काप्चामा समेत पुगेर व्यवसाय गर्ने नेपाली उल्लेखनीय रूपमा बढ्दै गइरहेका छन् ।

विगतमा नेपाली भारतीय तथा पाकिस्तानी व्यापारीहरूकोमा मात्र काम गर्छन् भन्ने सोचाइ र अवस्था थियो, तर अहिले त्यो सोचाइ र अवस्थामा पूर्णतः परिवर्तन भएको छ । वर्षौैँसम्म आफूले बचत गरेको केही आर्थिक स्रोत–साधनलाई सदुपयोग गर्दै व्यवसायमा तल्लीन नेपाली समुदायले अमेरिकी आर्थिक समृद्धिमा क्रमशः अमूल्य योगदान पु¥याइरहेका छन् । अमेरिकामा झन्डै ७ हजार नेपालीले व्यवसाय गरिरहेका छन् । त्यसैले अमेरिकाको राजस्व, रोजगारी तथा सामाजिक क्षेत्रमा नेपालीले ठूलो योगदान दिइरहेका छन् । नेपालीले अमेरिकामा करोडौँ डलर लगानी गरिरहेका छन् । नेपाली समुदायले साना व्यवसायको क्षेत्रमा प्राप्त गरेको सफलता, नेपाली समुदायको योगदान र उपस्थितिलाई पहिचान वृद्धिमा केन्द्रित गर्नु आजको आवश्यकता हो । अमेरिकामा आर्थिक समृद्धिका लागि ‘आफ्नो साहु, आफैँ बन्नका लागि’ प्रचुर सम्भावना रहेको छ र आर्थिक स्वतन्त्रता र समृद्धिका लागि यो नै मुख्य विकल्प हुन सक्छ । अमेरिकामा लगानी र व्यवसाय गर्न धेरै रकम चाहिँदैन ।