मैन-पुतलासँग भीख नमाग

मैन-पुतलासँग भीख नमाग


एमालेका वरिष्ठ नेताको विशेषण नामका अगाडि झुन्डिएकैले हुनुपर्छ, नेपाली काङ्ग्रेसका नेताहरूको एक समूहले कामचलाउ प्रधानमन्त्री रहेका एमाले नेता माधवकुमार नेपालसमक्ष बिन्ती गरेछन्, काङ्ग्रेसलाई प्रधानमन्त्री पद दिलाइदिनुपर्‍यो, यसका लागि एमाले पार्टीनेतृत्वलाई मनाइदिनुपर्‍यो †’ यो खबर पाएर स्वाभिमानी काङ्ग्रेसजनको सिङ्गो तप्का लज्जा र ग्लानिले पानी-पानी भयो । जो यस खबरसँग बेखबर छन्, जानकारी मिलेपछि यस्तै नमीठो अनुभूति गर्नेछन् ।
चारपटकसम्मको प्रधानमन्त्री छनोट प्रकरणमा एमाले भूमिकाको भरपूर अवलोकन गरिसकेपछि पनि उसको ढुङ्गाजस्तो निर्दयी स्वभावको प्रहार चरम .रूपमा भोगिसकेपछि पनि र यस क्रममा माधव नेपालको हैसियत एवम् उनले निर्वाह गरिरहेको अत्यन्त कुटिल चालको छनक पाइसकेपछि पनि, के काङ्ग्रेस नेताहरूलाई चेत भएन कि माधव नेपालहरूसँग गिड्गिडाउनुको अर्थ प्रजातान्त्रिक आन्दोलनमा लामो इतिहास बोकेको नेपाली काङ्ग्रेसजस्तो मौलिक पहिचान र ओज बोकेको राजनीतिक दलले आफूलाई घोर पदलोलुप तथा निरीह पार्टी दर्शाउने प्रयत्न मात्र सावित हुनसक्छ भन्ने – कसैको नामअघिल्तिर वरिष्ठ नेता भन्ने विशेषण जोडिदिँदैमा के ऊ विशिष्ट गुण या क्षमतासम्पन्न भइहाल्छ – यदि एमाले पार्टी माधव नेपालको वशमा हुँदो हो त के आज उनी खुद कामचलाउ ओहदामा खस्कनुपथ्र्यो होला – झलनाथ खनालले प्रचण्डको नसुनेर माधवकै कानेखुसीलाई महत्त्व दिन्थे भने के यतिबेला एमालेभित्र उग्रपन्थी र उदारपन्थी धारको टक्कर सिर्जना हुन्थ्यो होला त – र, सबभन्दा विचारणीय सवाल त यो हो कि आफूलाई कामचलाउ हैसियतबाट चाँडो मुक्ति दिलाइदेऊ भनी सार्वजनिक भाषण दिने माधव नेपाल अन्तःस्करणमा चाहिँ वर्तमान कामचलाउ हैसियत नै सही- जतिसक्दो तन्किरहोस् भन्ने चाहना हर्ुकाइरहेछन् भन्नेमा काङ्ग्रेसलगायतका प्रजातान्त्रिक शक्तिहरू किञ्चित मात्र पनि किन शङ्का गर्न सकिरहेका छैनन् – अन्यथा पक्कै पनि उनीसमक्ष काङ्ग्रेस प्रतिनिधिमण्डल प्रधानमन्त्री पदको भीख माग्न बालुवाटार दरबार हाजिर हुने थिएनन् ।
पछिल्लो समयमा कामरेड चट्टान उपनामले बढ्ता चिनिन थालेका झलनाथ खनालको ढुङ्गासरह अडिलो हृदयको कम्पनमा कुनै बदलाव आएको अनुभूति गरिएको छैन, बरु प्रचण्ड-पाउमा सत्ताको साँचो बुझाउने उनको नवीन कसरत उम्मेदवारी फिर्ता नामक प्रस्तावमार्फत छचल्किन थालेको छ । यसले स्पष्ट सन्देश दिइसकेको छ- पाँचौं चरणको प्रधानमन्त्री छनोट प्रक्रिया पनि निष्फलदायी भएरै तुहिनेछ । सहमति निर्माणको नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउँदै एमाले नेतृत्वको कामचलाउ सरकारलाई तन्काएर मुलुकलाई अझै तहसनहस तुल्याउने कर्ममा एमालेले थप सफलता हासिल गर्नेछ । संविधान निर्माण प्रक्रिया स्वतः गौण बन्न पुगेको यस परिवेशमा एमालेलगायतका दलहरूको अबको गन्तव्य कुन दिशातर्फ र केका लागि, यसको जवाफ गम्भीर प्रतीक्षाको विषय बनेको छ । यस्तो कटु यथार्थबीच अब काङ्ग्रेसले एमालेका मैनमर्ूर्तिहरूसँग प्रधानमन्त्री ओहदाको भीख माग्न छोडी भावी सम्भावित राजनीतिक दुघटना र मुलुकले व्यहोर्नुपर्ने दुगतिबाट राष्ट्रलाई बचाउन के गर्नुपर्छ र आफ्नोतर्फबाट कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सवालमा आत्ममन्थन सुरु गरिहाल्नुपर्छ । फेरि अर्को एकपटक नेपाली काङ्ग्रेसले मुलुक र प्रजातन्त्रको रक्षार्थ सङ्घर्ष गर्दै आफूलाई यस पुनीत कार्यमा अब्बल सावित गर्नुपर्ने परिस्थिति सिर्जना हुन लागेको आभास हुन्छ । विरोधीपक्षले पर्ूवाग्रहबस जतिसुकै हचुवा मूल्याङ्कन गर्दै आएका भए पनि अन्ततः लोकतन्त्रको लडाइँ लड्ने र यसलाई जोगाउन सक्ने हैसियत एवम् दायित्व फगत नेपाली काङ्ग्रेससँग सुरक्षित छ । नयाँ ऊर्जाका साथ जुर्मुराउन लागेको नेपाली काङ्ग्रेस पार्टीका आमनेता, कार्यकर्ता र शुभचिन्तकलाई यसको हेक्का रहोस् ।