दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष अवसरमा लण्डनमा विशेष कार्यक्रम

दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष अवसरमा लण्डनमा विशेष कार्यक्रम


London 2

लन्डन । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावास यूकेले साताव्यापी कार्यक्रम सुरु गरेको छ । मंगलबार साँझ लन्डनस्थित नेपाली दूतावासबाट औपचारिक रुपमा सप्ताहव्यापी कार्यक्रम सुरुवात गरिएको हो । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको द्विशतवार्षिकी पूरा भएको अवसरमा नेपाली दूतावास यूकेले साताव्यापी कार्यक्रम आयोजना गरेको हो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन समुदघाटन समारोहसँगै नेपाली सांस्कृतिक महोत्सव एवं फोटो प्रदर्शनी गरियो । समुदघाटन समारोहलाई राजदूत दुर्गाबहादुर सुवेदीले सम्बोधन गर्दै दुई देशको सम्बन्धबारे चर्चा गरेका थिए । दूतावासका प्रवक्ता शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि ड्यूक अफ ग्लस्टर र नेपाली कांग्रेसकी सभासद डा. आरजु देउवाले समारोह उद्घाटन गरेकी हुन् ।

सम्बोधनका क्रममा ड्यूक अफ ग्लस्टरले आफू नेपाल गएको स्मरण गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको र नेपालीहरु अत्यन्त सहृदयी भएको बताए । ब्रिटिश विदेश मन्त्रालयका स्थायी उपसचिव साइमन म्याकडोनेलले बेलायत नेपालबीचको सम्बन्ध आउंदो २०० वर्षसम्म पनि फस्टाउने विश्वास व्यक्त गरे । यस्तै डा. आरजू राणा देउवाले नेपालमा नयाँ संविधान जारी भएको र संशोधनको लागि पेश भएको संविधान सबै राजनीतिक दल मिली कार्यान्वयन गराउन निर्वाचनमार्फत् प्रतिनिधि चुनेर प्रगतिपथमा लाग्नुपर्ने धारणा राखिन् । उनले संयुक्त राष्ट्र बेलायतले नेपालको विकास र प्रगतिमा सधैं साथ सहयोग दिएको पनि बताइन् ।

कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत सुवेदीले गोर्खा सैनिक भर्ती दुबै मुलुकबीच सम्बन्धको सबैभन्दा बलियो कडी हो भन्दै उनले दुईवटा विश्वयुद्धमा झण्डै ४३ हजार गोर्खालीले ज्यान गुमाएको स्मरण गरे । बेलायतसँग नेपालको सम्बन्ध दुई सय वर्ष पुरानो मात्र नभई अझै प्राचीन र निरन्तर रहेको उल्लेख गर्दै राजदूत सुवेदीले नेपालको आर्थिक विकासका साथै नेपालको प्रजातन्त्र, स्थायित्व, मानवाधिकारलगायत विषयमा सहयोग गर्दै आएको चर्चा गरे । कार्यक्रममा एनआरएन अगुवाहरु, नेपाली संघ संस्थाका प्रतिनिधि एवं व्यवसायीहरु, बेलायती पाहुनाहरु, सञ्चारकर्मी एवं दूतावास कर्मचारीको उपस्थिति थियो ।

सात दिनसम्म चल्ने महोत्सवमा दोस्रो दिन नेपाली पर्यटन महोत्सव, तस्बिर र कला प्रदर्शनी हुने लन्डनस्थित नेपाली राजदूतवाासले जनाएको छ । तेस्रो दिन नेपाल र बेलायत सम्बन्धसम्बन्धी महोत्सव, तस्बिर र कला प्रदर्शनी एवं चौथो दिन साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी हुने छ । पाँचौ दिन नेपाली संगीत महोत्सव र नेपाली खाना महोत्सव हुनेछ भने छैटौं दिन व्यापार र लगानी महोत्सव र सातौं दिन २० मार्चमा समापन समारोह र भिक्टोयिार क्रस विजेता १३ गोर्खाहरुको तस्बिर अनावरण कार्यक्रम आयोजना गरेको दूतावासले जनाएको छ ।

London