नेपाली जनसम्पर्क समिति (बेलायत)मा अभूतपूर्व एकता प्रदर्शन, वृहत एकता अधिवेशनको तयारी

नेपाली जनसम्पर्क समिति (बेलायत)मा अभूतपूर्व एकता प्रदर्शन, वृहत एकता अधिवेशनको तयारी


B 5

विगत ९ वर्षदेखि नेपाली जनसम्पर्क समिति बेलायतलाई आपसी वादविवादले गाँजेको परिवेशमा फेब्रुअरी २६, २०१७ का दिन संयुक्त अधिराज्य बेलायतस्थित नेपाली काङ्ग्रेससम्बद्ध सङ्गठन नेपाली जनसम्पर्क समितिभित्र पूर्ण रूपमा एकता भएको छ । पश्चिम लण्डनको सड्वरी हिमालय रेष्टुरेन्टमा भएको एकता भेलाको समन्वय काङ्ग्रेस नेता एवम् समाजसेवी चिरन्जीवी ढकालले गर्नुभएको थियो । नेपाली जनसम्पर्क समितिको विवादको प्रभाव संसारभर रहेका जनसम्पर्क समितिहरूमा परेको देखिन्थ्यो भने नेपालमा नेपाली काङ्ग्रेस पार्टीको नेतृत्वमा समेत यस विवादले गम्भीर ध्यानाकर्षण गराएको थियो ।

हालै मात्र सम्पन्न भएको एकता भेलाले बेलायमा नेपाली कांग्रेसको संगठनमा सकारात्मक प्रभाव पार्ने र विशेष रूपमा सामाजिक प्रभाव बढ्ने विश्वास लिइएको छ । बेलायतस्थित कांग्रेसको संगठन विवाद अन्त्य हुँदा संसारभर रहेका नेपाली जनसम्पर्क समितिको विवाद समेत करिव–करिव अन्त्य हुने अपेक्षा गरिएको छ । यसले नेपालस्थित कांग्रेस नेतृत्वमा समेत खुशी छाएको बुझिएको छ । बेलायतस्थित नेपाली समुदाय तथा संघ–संस्थाहरूले समेत नेपाली जनसम्पर्क समिति बेलायतका नेताहरूलाई बधाई दिएबाट यसको पुष्टि हुन्छ ।

एकता भेलामा बेलायतस्थित नेपाली जनसम्पर्क समितिका नेताहरू लोक गुरुङ, विज्ञान प्रसाईं, चेतनाथ खनाल, डा. पुरुषोत्तम पौडेल, विनोद मोक्तान, विश्वआदर्श पण्डित, शिवजी श्रेष्ठ, आर.के. त्रिपाठी, चिरन्जीवी ढकाल, युवराज गुरुङ, कुश बस्नेत, शेरबहादुर सुनार, डा. मीन रानाभाट, हितकाजी गुरुङ, प्रवेश केसी, विकास देशवकोटा, युवराज सिंह, विजन भट्ट, खेमराज रानाभाट, ध्रुव ढकाल, आलेख चौहान, नारायण आचार्यलगायतले सानातिना विवाद भुली नेपाली जनसम्पर्क समिति एक बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको थियो ।

भेलामा उपस्थित समपूर्ण नेताहरूले नेपालको प्रजातान्त्रिक आन्दोलन, शहिदहरूको बलिदानी, प्रतिबन्धित अवस्थामा रहेको भातृत्व र स्नेह, प्रेम तथा विश्वासको बारेमा चर्चा गर्नुका साथै आफूहरूबीचको विवाद र अविश्वासको स्थितिले कसलाई फाइदा पुग्यो भनी प्रश्न गर्दै छलफल गरेका थिए । भेलामा उपस्थित सबैले नेपाली जनसम्पर्क समिति बेलायतलाई भविष्यमा विधिविधान र प्रजातान्त्रिक पद्धतिले अघि बढाउने संकल्प गरेका थिए । कसले जित्यो या कसले हा¥यो भन्दा पनि सबैको जित भएको निचोडमा उनीहरु पुगेका थिए । यस्तै, भेलामा उपस्थित सबैले नेपाली कांग्रेसलाई पक्ष–विपक्षको बिकारबाट मुक्त गर्ने, सामाजिक प्रभाव कायम गर्न नेपाली जनसम्पर्क समिति बेलायत एवम् अन्तर्राष्ट्रमा योगदान गरेका साथीहरूलाई बढुवा गर्न लगत राख्न सुरु गर्ने, लोककल्याणकारी कार्यमा सहभागीता जनाउने, गैरआवासीय नेपालीहरूको समस्या हल गर्न गैरआवासीय नेपाली संघसँग सहकार्य गर्ने, नेपालको विकासका लागि संगठनमार्फत् नेपाली दूतावास बेलायतसँग सहकार्य गरी नेपाली प्रतिभा, कला, भाषा, संस्कृति, वृद्धवृद्धाको समस्या, युवाहरूको विकास एवम् नेपालप्रति तिनलाई कसरी आकर्षित गराउने भन्ने बारेमा भविष्यमा विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्ने निर्णय गरेको छ ।

एकता भेलाले नेपालको व्यवस्थापिका संसद्मा प्रस्तावित संविधान संशोधनको प्रक्रियालाई सम्पूर्ण राजनीतिक दलले सहमतिमार्फत् टुङ्गोमा पु¥याई घोषित निर्वाचनलाई शान्तिपूर्ण र प्रजातान्त्रिक तवरले सम्पन्न गराई संविधान कार्यान्वयनमा लाग्न सम्पूर्ण सम्बन्धित पक्षलाई अपिल गरेको छ ।

एकता भेलाले हालै नेपाल सरकारद्वारा घोषित स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई दुई तिहाई बहुमत दिलाई विजय गराउन नेपाली जनसम्पर्क समितिका पूर्ण सदस्यहरू एवम् नेपाली कांग्रेस बेलायतका सम्पूर्ण कार्यकर्ताहरूलाई परिचालन गर्ने संकल्प पनि गरेको छ ।

स्मरणीय यो छ कि नेपाली कांग्रेस जस्तो नेपाल एवम् एसियामै ठूलो प्रजातन्त्र अभ्यास गर्ने पार्टीभित्र सानातिना विवाद बेलाबखत भए पनि प्रजातन्त्रप्राप्ति, शान्ति र महानिर्वाचन नजिक आउँदा सबै मतभेद थाती राखेर एक ठाउँमा बसी नेपाली कांग्रेस पार्टीलाई एक बनाई चुनावमा बहुमत दिलाउन अग्रसर हुन्छन् ।

एकता भेलाले लोक गुरुङको संयोजकत्वमा विज्ञान प्रसाईं, विनोद मोक्तान, चेतनाथ खनाल रहेको एकता महाधिवेशन तयारी समिति गठन गरेको छ । भविष्यमा एकता समितिको बैठक बसी आउँदो अधिवेशन भव्यताका साथ सम्पन्न गर्न निर्वाचन समिति, विधान मस्यौदा संशोधन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार तथा व्यवस्थापन समिति, क्रियाशील सदस्यता नवीकरण एवम् नयाँ सदस्यता आह्वान गर्ने अपेक्षा गरिएको छ । एकता भेलाबाट एकता अधिवेशन तयारी समिति बनेपश्चात् तत्कालैदेखि बेलायतस्थित कांग्रेसका कार्यकर्ताहरूमा चुनावी तरंग, विभिन्न कोठेबैठक शुरु भएको देखिन्छ । ज्ञातव्य छ, लगभग तीन लाख नेपाली रहेको बेलायतमा नेपाली कांग्रेससम्बद्ध सदस्यहरूको बाहुल्यता रहेकोले सभापति, उपसभापति एवम् महामन्त्री पदलाई विशेष महत्वका सथ हेरिने गरिएको छ ।

भेलामा सहभागी आरके त्रिपाठीका अनुसार सम्पूर्ण बेलायतवासी कांग्रेसजनले त्याग गरी नेपाली जनसम्पर्क समितिलाई एकबद्ध बनाउन तयार रहेकोले आन्तरिक विवाद सदाका लागि निवारण भएको विश्वास लिइएको छ । नेपाली जनसम्पर्क समिति बेलायतको आउँदो अधिवेशन भव्यताका साथ सम्पन्न गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय नेता कृष्ण सिटौलालगायतलाई एकता अधिवेशन तयारी समितिले निमन्त्रण दिने अपेक्षा गरिएको छ ।

भविष्यमा कस्तो व्यक्तित्वले नेपाली जनसम्पर्क समिति बेलायतको नेतृत्व हात पार्ने हो भन्ने आँकलन गर्न समाजमा सकारात्मक चर्चा–परिचर्चा अहिलेदेखि नै शुरु भएको छ भने एकता भेला आयोजना गर्न विशेष भूमिका निर्वाह गर्ने कांग्रेस नेता एवम् समाजसेवी चिरन्जीवी ढकालको पहलकदमीलाई सबैले सह्राहना गरेका छन् ।