ट्रम्पको एउटै घोषणाले संसार किन हल्लियो ?

ट्रम्पको एउटै घोषणाले संसार किन हल्लियो ?


राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोको सीमामा पर्खाल लगाउने र मुस्लिम शरणार्थीलाई अमेरिका प्रवेशमाथि रोक लगाउने घोषणासँगै अल्पसङ्ख्यक नेपाली त्रसित, मुस्लिम सडकमा

trump-signiture

– पुरुषोत्तम ढकाल, (लसएन्जलस)
आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने र मुस्लिम शरणार्थीलाई अमेरिका प्रवेशमाथि रोक लगाउने कार्यकारी आदेश जारी गरेपछि अमेरिकामा आइपुगेका, तर कागजपत्र नभएका नेपाली अन्योल र त्रासमा परेका छन् । दलाललाई मोटो रकम बुझाएर दक्षिण अमेरिकी राष्ट्र हुँदै अमेरिका छिरेका र छिर्ने अवसर कुरिरहेका नेपाली राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने र शरणार्थीलाई अमेरिका प्रवेशमाथि रोक लगाउने कार्यकारी आदेश जारी गरेलगत्तै अमेरिकी सपना भताभुङ्ग भएकोमा रुष्ट र अन्योलग्रस्त बनेका हुन् । इस्लामिक आतङ्कवादीहरूलाई देशबाट बाहिर राख्ने एक अभियानको रूपमा सात मुस्लिमबहुल देशका भ्रमणकर्तालाई कम्तीमा तीन महिनाका लागि अमेरिका प्रवेशमा रोक लगाउन जारी गरिएको कार्यकारी आदेशसँगै नेपालीले अमेरिका प्रवेशको सहज मार्गको रूपमा प्रयोग गर्दै आएको चोरमार्ग मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणालगत्तै दक्षिण अमेरिका हुँदै अमेरिका जाने क्रममा रहेका नेपालीजस्तै अमेरिकाभित्रै रहेका, तर अहिलेसम्म पनि कागजपत्र बनाउन असफल नेपालीसमेत अन्योल र त्रासमा परेका हुन् ।

दलालको फन्दामा परेर मेक्सिको हुँदै अमेरिका प्रवेश गर्दा धन सम्पत्ति जाने मात्र नभएर अमेरिकाबाट डिपोर्ट हुने जोखिम रहेको अध्यागमनसम्बन्धी जानकारहरूको भनाइ छ । उनीहरूको सुझाव छ– दक्षिण अमेरिकी बाटो हुँदै मेक्सिकोबाट ज्यानको जोखिम मोलेर अमेरिका नआउनु होला । गएको साता राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आतङ्कले ग्रस्त सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसकारण आमअल्पसङ्ख्यक जस्तै हजारौँको सङ्ख्यामा रहेका नेपाली अमेरिकी सपनाको यो यात्राकै क्रममा बिचल्लीमा परेका हुन् ।

गएको शुक्रबार कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै उनले उग्र इस्लामिक आतङ्ककारीहरूलाई अमेरिका भित्रिन नदिन र अनियन्त्रित आप्रवासीलाई अमेरिका प्रवेशमा कडाइ गर्न यस्तो आदेश ल्याउनुपरेको बताएका थिए । पेन्टागनमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेलाई मात्रै अमेरिका आउन दिनेछौँ ।’ उनले अमेरिकी जनताले इस्लामिक आतङ्कवादीलाई देख्न नचाहेको टिप्पणीसमेत गरेका थिए । उनले भनेका छन्, ‘हाम्रा सैनिकहरूसँग विदेशमा लडाइँ गरिरहेका छन् । उनीहरू हाम्रो देशमा नआउन् भन्ने हामी सुनिश्चित गर्न चाहन्छौँ । हाम्रा जनतासँग प्रेम गर्ने र हामीलाई सहयोग गर्नेलाई मात्र हाम्रो देशमा आउन दिनेछौँ ।’ राष्ट्रपति ट्रम्पले सन् २००९ सेप्टेम्बर ११ मा पेन्टागन हमलामा मारिएकाहरूलाई कहिल्यै भुल्न नसकिने बताउँदै उनीहरूको सम्मानमा कुरा मात्र होइन काम गरेर देखाउनुपर्ने बताएका थिए । आफ्नो यो आदेश यसैका लागि भएको पनि उनले स्पष्ट पारेका छन् । जबसम्म कुन–कुन देशका शरणार्थी भनेर तोकिँदैन, शुक्रबार जारी गरिएको कार्यकारी आदेशले अमेरिकी शरणार्थी कार्यक्रमलाई १२० दिनसम्म निलम्बित गर्नेछ । यो आदेशका कारण इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका सबै नागरिक कम्तीमा ३ महिनासम्म अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

आफ्नो चुनावी अभियानका क्रममा न्युजर्सीमा आयोजित सभामा ट्रम्पले आतङ्कवादमा विश्वास गर्ने मुसलमानलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने सार्वजनिक उद्घोष गर्दै भनेका थिए– मुस्लिम अतिवादभन्दा हिन्दू सर्वस्वीकार्य ‘सहिष्णुता’ मेरो राज्य सञ्चालनको आदर्श हुनेछ । स्मरण रहोस्, ट्रम्पको यो घोषणासँगै अमेरिकामा रहेका कागजपत्रविहीन अतिवादी मुस्लिम समुदाय, दक्षिण अमेरिकी मूलका समुदाय र अन्य अल्पसङ्ख्यक समुदाय भर्खरै निर्वाचन हारेको डेमोक्र्याट दलको साथमा आन्दोलित बनेको छ । यद्यपि अमेरिकाभित्रै रहेका कागजपत्रविहीन नेपालीका हकमा भने कुनै आपराधिक पृष्ठभूमि नभएका नेपाली हिन्दूबहुल रहेको र राष्ट्रपति ट्रम्प हिन्दूहरूप्रति सकारात्मक रहेका कारण उनीहरूको अमेरिकी सपनामा तुषारापात नहुने अनुमान गर्न सकिन्छ ।