जितुवाहरू हरुवा हुनुपर्दाको पीडा…

जितुवाहरू हरुवा हुनुपर्दाको पीडा…


-मुक्तिनाथ खनाल
भदौ पहिलो साता प्रधानमन्त्रीको निमित्त पाँचौँपटक निर्वाचन हुँदै छ । यसअघि चौथोपटकको निर्वाचनमा हारिसकेका उम्मेदवार पुष्पकमल दाहाल र रामचन्द्र पौडेल पाँचौँपटक पनि हार्ने लक्षण देखिन्छ । उहाँहरूको भाग्यमा नै अब प्रधानमन्त्री हुने योग रहेनछ । झुक्किएर सबै पार्टीको निगाहबाट दाहालले सुरुमा केही महिना प्रधानमन्त्री पाउनुभएको थियो, तर के गर्ने अरूलाई सधैं हरुवा भन्दै ठूलो-ठूलो स्वरले कुर्लने र सुहाई-नसुहाई बढी चुरिफुरी गर्दा पाच्य हुन नसकी फुत्किएको हो कि –
यसरी चारपटक हार खानुपर्दा पीडा त दुवै नेताहरूलाई अवश्य परेको छ त्यसमा पनि मेरो बहुमत छ, अलिकति धक्का दिनासाथ मधिसे बन्धुहरूले मलाई साथ दिनेछन् भन्ने दाहालको सपना चकनाचुर हुँदा उनको ठाडो जुँगा घोप्टिएको र शिर झुकेकोजस्तो देखिन्छ । टुँडिखेलमा हरुवाहरूलाई गाली दिँदाको चमक अहिलेको अनुहारमा देखिँदैन । हुनत उहाँलाई मधिसे बन्धु ११ जनाले एकपटक सहयोग गरेकै हुन् । अर्कोपटकलाई माले पार्टीका थप चारजना तयार हुनुहुन्छ । उपे्रन्द्र यादव -फोरमका नेता) लाई त दाहालले धन्यवाद दिनैपर्ने हुन्छ, किनकि ११ जनाको बलि चढाउँदा पनि सफल हुन सक्नुभएन । यद्यपि कुनै समय सायद प्रचण्डजी प्रधानमन्त्री हुँदाकै समय हो मधेसवादीहरूको आन्दोलन र वार्ताको पनि क्रम चल्दै थियो, प्रचण्डजीले ‘उपेन्द्र यादवलाई माओवादीबाट भगौडे न रूप न रंगढंग बिनाहैसियतका मानिस नेता बन्न खोजेका छन्’ भनेर उपहास गरिएको सम्झना सबैमा छ, तर पनि उहाँले ठूलै गुन लगाउनुभएको छ, अलि ठूलो धक्का पुगेको भए मौका नगिच आएको थियो ।
हुन त अहिले मधेसको नेताहरू र जनता धेरै विद्वान् र राजनीतिमा अगाडि बढिसकेका छन्- ‘मधिसे लोभी हुन्छन्, राजनीतिक निष्ठा छैन, पैसामा बिक्छन्, किन्न सकिन्छ भनेर कहीँ कतैबाट सोचिएको छ भने कसैले नआँके हुन्छ, मधिसे बन्धुहरू अब त्यस्ता छैनन्, धेरै गहिरो सोचाइ राखेको पाइन्छ ।
काङ्ग्रेसका रामचन्द्र पौडेलको त कुनै चान्स छँदै छैन जबसम्म नेकपा एमाले र मधेसवादी दलहरूको समर्थन हुँदैन तबसम्म । एमालेमा झलनाथ खनालले राष्ट्रिय सहमति भन्दै बिनातुकको राग अलापे पनि सम्भव देखिँदैन । दुइजनाले उम्मेदवारी फिर्ता गर्दैमा सहमति हुन्छ – खै के कति मुद्दा कुनै कुरामा सहमति हुने – त्यसको विकल्प तयार नभई कसरी सहमति हुने – हुने भए यसअघि पनि धेरै समय बितिसक्दा किन हुन सकेन – यी सबै दाउ झलनाथ आफैं प्रधानमन्त्री हुने हो कि भन्ने कुरा सबैले बुझेका छन् । यद्यपि खनालले आशा गर्नु पनि अस्वाभाविक होइन किनकि माओवादीले काङ्गे्रसलाई समर्थन गर्दैन, अन्तिम विकल्प झलनाथ नै हो भन्ने पनि सबैलाई थाहा छ । सायद काङ्गे्रसले पनि एमालेको अन्तिम परीक्षा लिन चाहेको होला ।
‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भन्ने आख्यानजस्तै प्रचण्डलाई बुद्धिजीवीले पनि हिजोआज बढी आलोचना गर्न थालेका छन्, केही महिनाअगाडि वसन्तपुरमा जम्मा भएका बुद्धिजीवीहरूलाई ‘नेपालमा को बुद्धिजीवी छ – तिनको हैसियत के छ – म पनि बुद्धिजीवी हुँ’ भनी आफूले आफैंलाई बुद्धिजीवी सम्झेको र केही समयअगाडि अन्तिम आन्दोलन भनेर नेपाल बन्द गरी यातायातको नाममा साइकलसम्म गुडाउन र उपभोग्य वस्तु किन्ने मौका नदिई नागरिकलाई बन्दी बनाउँदै चक्रपथ घेराउ गर्दा आफ्ना कार्यकर्तालाई घाममा उभ्याई पानीसम्म खान नपाए पनि नेताको जयजयकार गुन्जाउनुपर्ने र नेताहरू पूर्वराजा-महाराजहरूजस्तै गाडीमा अभिवादन स्वीकार गर्दै सामन्त अनुहार उदाङ्गिएको दृश्यको चर्चा अहिले यत्रतत्र चल्न थालेको छ ।
जेहोस्, अब देशलाई यसरी बन्दी बनाउनु हुँदैन । एमाले भनेको राष्ट्रिय सहमति कस्तो हो – पवित्र मनले सहमति गराउन खोजिएको छ भने के-के मुद्दामा सहमति हुँदै छन्, सबै पार्टी र जनतामा पनि आउनुपर्‍यो र माओवादी साँच्चिनै सहमतिमा आउन खोजेको हो भने एमालेलाई होइन ठूलो पार्टीको हैसियतले माओवादीलाई नै नेतृत्व दिनुपर्छ र देशमा शान्ति पुनर्स्थापना होस्- यही हामी सबैको शुभेच्छा छ ।