काङ्ग्रेसमा नयाँ ऊर्जा

काङ्ग्रेसमा नयाँ ऊर्जा


देशभरका अधिकांश जिल्लामा गाउँ र क्षेत्रीयस्तरको अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनको तयारीसमेत पूरा गरेर बाह्रौँ महाधिवेशनको स्वागतार्थ उभिएको नेपाली काङ्ग्रेस पार्टीले फेरि एकपटक महाधिवेशनको तिथि परिवर्तन गरेको छ । आगामी भदौ १० मा आयोजना गरिने गरी निर्धारण गरिएको महाधिवेशनलाई तीन साता पर सारेर असोज १-५ गतेका निम्ति निश्चित गर्दै अब यो मिति अन्तिम भएको दाबी पनि काङ्ग्रेसले गरेको छ । यसरी पाँच वर्ष गुजारेर हुन लागेको बहुप्रतीक्षित पार्टी-महाधिवेशन थोरै समयका लागि नै सही, अचानक पछि धकेलिनुको सबैले बुझ्न सक्ने मुख्य कारण अनावश्यक किसिमबाट तन्किरहेको प्रधानमन्त्री चयन प्रक्रिया नै हो । त्यसो त महाधिवेशन आयोजना व्यवस्थापन तयारी पूरा भइनसकेको सन्दर्भलाई तिथि परिवर्तन गर्नुपर्ने कारणका रूपमा काङ्ग्रेसले अघिसारेको छ, तथापि मूलतः पार्टीको प्रधानमन्त्री-उम्मेदवारीका कारण नै यसो गर्नुपरेको यथार्थ ढाकछोप गर्ने प्रयत्न काङ्ग्रेस नेतृत्वले गरिरहेको छैन । यसरी पार्टीअधिवेशन नै सारेर प्रधानमन्त्री निर्वाचन प्रक्रियामा एकोहोरिन पुगेबाट नेपाली काङ्ग्रेस यसपटक सरकारको नेतृत्व लिने सवालमा गम्भीर रहेको सन्देश प्रवाहित भएको छ ।
हो, मुलुक नै कामचलाउ सरकारको भरमा घिस्रिरहेको अवस्थाले देशको प्रतिष्ठामा आँच पुगेको मात्र नभई मुलुक सञ्चालनका अत्यावश्यक प्रक्रियामासमेत नकारात्मक र गम्भीर असर परिरहेको छ । सरकारविहीनताको यस अवस्थाबाट राष्ट्रलाई मुक्ति दिलाउन नेपाली काङ्ग्रेसजस्तो जिम्मेवार राजनीतिक पार्टीले चासो-चिन्ता दर्शाउँदै अग्रसरता लिन खोज्नु स्वाभाविक छ । आफूलाई जिम्मेवार ठान्ने अन्य कतिपय दलहरूबाट यस सवालमा लापरबाहीपूर्ण रवैया अपनाइएको यथार्थकाबीच काङ्ग्रेसको संवेदनशीलता प्रशंसनीय नै छ पनि भन्न सकिन्छ । तर, सरकारको नेतृत्व लिने धुनमा नेपाली काङ्ग्रेस महाधिवेशनको महत्त्व र मूल्यलाई नै तिलाञ्जली दिने अवस्थातर्फ उन्मुख हुँदै त छैन भन्ने सवाल पनि यतिबेला उठाउनैपर्ने भएको छ । कतै सरकार गठनकै विषयलाई बहाना बनाएर अर्कै अभीष्टसिद्धिका निम्ति काङ्ग्रेसभित्रका व्यक्तिविशेष वा कुनै समूहले पुनः महाधिवेशनको तिथि महिनौँका लागि सार्ने चाल नचलून् भन्नेमा पनि चनाखो बन्नुपर्ने अवस्था छ । किनकि, अब हुने काङ्ग्रेस महाधिवेशन ऐतिहासिक तथा दूरगामी महत्त्वको रहेको आमबुझाइमा निकै हदसम्म सत्यताले बास गरेको छ ।
आमकाङ्ग्रेस कार्यकर्ता पार्टीमहाधिवेशनका सवालमा एकप्रकारले निराश नै बन्नपुगेका थिए । गुटगत स्वार्थ र सहज रूपमा पचाउन नसकिने विविध वहानाहरू अघिसारेर नेतृत्वले पटक-पटक महाधिवेशन स्थगन गरेको यथार्थ पार्टीप्रति चिन्तित काङ्ग्रेसजनका लागि बिझाउने विषय बनिरहेको थियो । यस्तो परिवेशमा जसरी गाउँतहदेखि नै स्वच्छ प्रजातान्त्रिक विधि अवलम्बन गरेर काङ्ग्रेस कार्यकर्ताहरू पार्टी सङ्गठनलाई पुनर्जीवन दिने र समयसुहाउँदो गतिशील एवम् सक्षम नेतृत्व चयनका निम्ति उत्साहित देखिएका छन्, काङ्ग्रेसका निम्ति यो अत्यन्त खुसीको सन्दर्भ हो । मुलुक नै चौतर्फी रूपमा निराशाको कुण्डमा डुबिरहेको र लोकतान्त्रिक मूल्य-मान्यतामाथि अवाञ्छित प्रहार भएको अनुभूति गरिएको परिवेशमा काङ्ग्रेस कार्यकर्ताले पार्टी सङ्गठनप्रति दर्शाएको आस्था र चिन्ता लोकतन्त्रको विकास र स्थायित्वका सवालमा सुख-सन्देशकारी छ । त्यसमाथि चुनिएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूमा युवा काङ्ग्रेसीको बाहुल्य देखिनु पार्टीको भावी ऊर्जा र गतिशीलताको परिचायक हो । बूढाहरूको पार्टी, प्राणविहीन असान्दरि्भक दल जस्ता आक्षेपहरू खेप्दै आएको नेपाली काङ्ग्रेसका निम्ति पार्टीमा देखिएको युवा-आकर्षण अवर्णनीय सुखद् सन्दर्भ हो । यस ऐतिहासिक अवसरको भरपूर लाभ उठाउँदै पार्टीलाई नवजीवन दिएर सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको मुलुकको बेडा पार लगाउने दायित्वमा समेत नेपाली काङ्ग्रेस खरो उत्रिनुपर्छ, समयको चाहना यही हो ।