फ्रन्टपेजको तस्बीर (कथा)-राजेश नतांश

फ्रन्टपेजको तस्बीर (कथा)-राजेश नतांश


तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म रातो बनारसी साडीमा सजिएकी छु । टल्कने घुम्टोले मेरो शीर ढाकिएको छ । गला र हातमा प्रशस्तै गहनाहरू सजिएका छन् । यो तस्बीर हो मेरो दोश्रो विवाहको । अर्थात मेरो पुर्नजन्मको । म दोश्रोपल्ट जन्मिएँ ।

तस्वीरको क्याप्सन पढ्छु । यसो लेखिएको छ, – ‘आकल्प दाहाल उनकी बाल्यकालकी साथी आँचल श्रेष्ठसँग सोमबार वैवाहिक सम्बन्धमा गाँसिदै । आँचल १० महिना अघि विधवा बनेकी थिइन् । हिन्दू वैवाहिक परम्पराअनुसार उनीहरूको विवाह सम्पन्न भएको छ ।’

फेरि एकचोटी मेरो सिउँदो रङ्गियो । फेरि एकचोटी म रातो साडीमा बेहुली बन्न पुगेँ । मेरा हातमा काँचका राता चुराहरू बज्न थाले । हत्केलामा फेरि एक पटक मेहन्दी छापिए । म त्यसलाई गौर गरेर हेरिरहन्छु । असाध्यै चहकिलो देखिन्छ । हत्केलाका भाग्यरेखा हेर्छु । चलिरहेको चलचित्रझैँ प्रतीत हुन्छ । कस्तो लेखान्त हो यो रु म आफैलाई प्रश्न गर्छु । जीवन कस्तो लिपी हो, बुझ्नै नसकिने । पढ्नै नसकिने । एकाएक प्रश्नहरू खेल्न थाल्छन् । जीवनको रचनाकारलाई कतै भेट्टाएँ भने सोध्ने थिएँ, ‘आखिर किन लेख्यौ मेरै जीवन यस्तो ?’

म बस्तुसरह प्रयोग भएँ । नारी परिवर्तनको बहनामा बस्तुसरह प्रयोग भएका छन् । उनीहरूको भाग्य कसैमा निहित रहेछ । जीवनमा एउटी स्त्रीलाई पुरूषको खाँचो पर्छ या एउटा पुरूषलाई एउटी स्त्रीको । जसरी नि स्त्रीहरू प्रयोग भएका रहेछन् यो पुरूषवादी समाजमा । मेरो जीवन पनि एउटा प्रयोग हो । म नजानिदो तरीकाले प्रयोग भएछु । म एउटी प्रयोगसिद्ध आईमाई हुँ । म विगत र आगतलाई तुलना गर्छु । घना जंगलमा निशा लागेर बाटो भुलेको फकीर जस्तो लाग्छ आफूलाई । मेरो जीवनका बाटाहरू अनायासै मोडिए । मेरो जीवन यसरी कायापलट भयो-

जीवनको पहिलो अनुच्छेदमा म एकदमै खुसी थिएँ । प्रारब्धमा सुखान्त वाक्यांशहरू लेखिएका रहेछन् । विधान मेरो समग्र जीवनकै परिचालक थिए । उनी नै थिए मेरो जीवनको प्रारम्भ अनि अन्त्य पनि । हामी भर्खरै वैवाहिक सम्बन्धमा गाँसिएका थियौँ । विवाह भएको एक वर्ष पनि भएको थिएन । हामी विवाहपछि प्रेममा गुलाफझैँ फक्रिएका थियौँ । आकाशजस्तो निलो र कञ्चन थियो हाम्रो सम्बन्ध । हामीले देख्ने प्रत्येक दिनलाई हामीले प्रेमरसले भिजाएका थियौँ । विधान हरपल मेरै समीपमा रहन्थे ।

उनी सानै छदाँ उनका बाबा-आमा एउटा अकल्पनीय सवारी दूर्घटनामा परि निधन भएका थिए । उनी सानै उमेरमा पिताको साहारा र मातृस्नेहबाट बञ्चित हुन पुगे । आफ्नै काका-काकीले उनलाई एउटा अभिभावकको प्रेम दिए । काका-काकीको लालन-पालन बाटै उनी हुर्किए । उनी तृप्त देखिन्थे । मैले उनलाई समग्र प्रेम दिएकी थिएँ । म पनि उनीबाट तृप्त भएकी थिएँ । किनकी एउटी नारीको लागि सबैभन्दा ठूलो कुरा उसलाई प्रेम गर्ने पुरूष नै हुदोँ रहेछ । हामी हरसमय प्रेमलापमा लिप्त रहन्थ्यौँ । समय कसरी काटिन्छ हामीलाई थाहा हुदैनथ्यो । उनी मेरो सौन्दर्यको खुलेर प्रशंसा गरिरहन्थे । मलाई कताकता काउकुती लाग्ने गर्दथ्यो । उनी प्रत्येक समय मेरो मुहारमा आफ्ना आँखाहरू नचाइरहन्थे । त्यस्तरी हेरेको देखेर मलाई लज्जाबोध हुन्थ्यो । एउटा फरक अनुभूति हुन्थ्यो । यो भन्दा ठूलो ऐश्वर्य मेरो लागि के नै होला र रु एकविहान मैले आफूलाई ऐनाको अगाडि राखेर सजाइरहेकी थिएँ । उनले सोफामा बस्दै भनेका थिए-
-‘आँचल, तिम्लाई गाजलले अचाक्ली सुहाउँछ १ तिम्रा आँखाहरू हेरिरहन मन लाग्छ ।’
‘म निक्कै भग्यमानी रहेछु विधान ।’
-‘कसरी ?’
‘म प्रत्येक विहानी यी आँखाहरूमा हजुरको प्रेमको गाजल पोत्छु । हजुर विनाको मेरो सौन्दर्य पूर्ण हुन सक्दैन विधान ।’
उनले मेरो मुहार यन्त्रवत् हेरिरहे । मलाई आफ्नो आलिङ्गनमा कस्दै उनले भने, ‘आँचल, तिमी मेरी जीवन हौ ।’ उनको आँखामा अनायासै देखिएको आँशु पुछ्दै मैले भनेँ, ‘तपाईं मेरो जीउने आधार हुनुहुन्छ । जीवन जीउने आधार विना सार्थक छैन विधान ।’

अहिले म कोठामा एक्लै छु । कोठा व्यवस्थित रूपले सुसञ्जित छ । झ्यालबाट आएको प्रकाश र हावा सिधैँ मेरो शरीरमा ठोकिन्छ । शरीरका सम्पूर्ण अवयवहरूलाई त्यसले तरङ्गित पार्छ । अनायासै मेरो नजर पर्खालमा टाँसिएको फोटोमा केन्द्रित हुन्छ । विगतको एउटा पाना पल्टिन्छ, किताबका पानाहरू पल्टिए जसरी-हामीले विश्वविद्यालयको पढाइ सक्नै लागेका थियौ । घरमा मेरो विवाहको कुराहरू उठ्तै थिए । मैले कलेजको चउरमा बस्दै आकल्पलाई सबै कुरा सुनाइरहेकी थिएँ । ऊ निक्कै भावुक देखिन्थ्यो । त्यसपछि उसले मलाई अँगालो मारेर यो तस्वीर खिच्दै भनेको थियो, ‘आँचल, तिम्रो विवाहपछि हाम्रो भेट नहुन सक्छ । हाम्रो सम्झना स्वरूप यो तस्वीर साक्षी बस्नेछ । यसलाई म हृदयको भित्तामा टाँस्नेछु ।’

म स्तब्ध बनेकी थिएँ । त्यहीँ तस्वीर अहिले भित्तामा सजिएको छ । तस्वीर मोबाइलबाट लिइएको हुनाले स्पष्ट देखिदैन । यद्यपी उसको आँखामा खिचिएको मप्रतिको प्रेम प्रष्टै देख्न सक्छु । हाम्रा परिवारका मान्छे शिक्षित भए पनि उनीहरूको हृदय गरीब थियो । अहिले देखिदै गरेको परिवर्तनगामी सोच पनि त्यतिखेर थिएन । म कथित तल्लोजातकी नेवार्नी केटी ऊ ब्राह्मण समुदायको केटो । समाजमा हाम्रो सम्बन्ध पाच्य थिएन । घरमा आऊ-जाऊ गर्न त्यस्तो केही थिएन तर सम्बन्धमा गाँसिन हामीलाई जातीय पर्खालले छेकेको थियो । हामी भागेर पनि विवाह गर्न सक्थ्यौँ । तर मैले नै मानिनँ । म उसको भविष्य सुखपूर्वक बितेको हेर्न चाहन्थेँ । उसले स्नातकोत्तर गर्न काठमाण्डौं जाने सोच बनाएको थियो । ऊ अझै पढ्न चाहन्थ्यो ।

म पनि आकल्पसँगै काठमाण्डौं गएर पढ्न चाहन्थे । ऊ सँग बसेर अध्ययन गर्ने लत बसेको थियो मेरो । तर चिताएको सबै कुरा कहाँ पुग्दो रहेछ र रु घरमा विवाहको कुरा उठ्तै थियो । मान्छेहरू दिनहुँ विभिन्न सम्बन्धहरू ल्याएर आइरहन्थे । पद, पैसा र हैसियतको बहस चलिरहथ्यो । यता, बाबालाई म विवाह गर्दिन, केही वर्ष पढ्छु भनेकी थिएँ । उहाँले भन्नुभएको थियो, ‘यस्तो केटा फेरि पाइदैन । विवाह गरेर नि पढ्न सकिन्छ !’ मैले भनेकी थिएँ, ‘अर्काको घरमा गएपछि मेरो कुरा कस्ले सुन्छ र ?’
उहाँले मेरो प्रश्नको बेवास्ता गर्दै भन्नुभएको थियो, ‘राम्रो घरानाबाट कुरा आ’छ । चाडैँ निर्णय गरेस् । अरू म केही जान्दिनँ ।’

मेरो विवाह हुने निर्णयले आकल्प स्तब्ध देखिन्थ्यो । ऊ कहाँ-कहाँ हराइरहन्थ्यो । अनायासै केहीमा टोलाइरहन्थ्यो । हामी हिँडिरहेका थियौ । म निःशब्द थिएँ । हामीसँग कुराको कुनै प्रसंगै थएन । हामी पूर्णतः मौन थियौ । भोटेपूल आएपछि उसले मुहारमा बनावटी हाँसो ल्याउँदै भनेको थियो- -‘विहे गर्न लागेकी छ्यौ । कस्तो भैरहेको छ त ?’
‘रमाइलो लागिरहेको छ ।’
-‘कस्तो रमाइलो ?’
‘कस्तो भन्नु ! अब श्रीमान हुने भए त्यसपछि बिस्तारै छोराछोरी पनि हुने भए ।’
-‘ए, तिमीलाई यस्तो पो रहर थियो ?’
‘यस्तो रहर त सबै नारीहरूलाई भैहाल्छ नि ?’
-‘त्यसो भए !! जनाको फुटबल टिम बन्ने भयो अब ?’
‘बनाए नहुने क्यै छैन’
ऊ खितिति हाँसेजस्तो गर्यो । अनि एकैछिनमा चुप रह्यो । उसको हाँसो पलभरमै गायब भयो । हामी फेरि त्यहीँ मौनताको शिकार भयौ । फेरि कुनै पनि कुराको प्रयोजन निस्किएन ।

आकाश धुम्म भइरहेको थियो । हामी बस छोडेर हिँड्दै घर जाँदै थियौँ । अकस्मात् पानीका छिटाहरू हाम्रा शरीरमा बर्सिन थाले । केहीछिनमै मेघ गर्जिएर पानी दर्किन थाल्यो । हामी ल्याफ्फ पानीले भिज्यौँ । पानीका प्रत्येक थोपाहरूले हाम्रा सम्पूर्ण सम्बन्धहरू पखालिए । हाम्रा तमाम यादहरू एउटा भेल भएर शरीरबाट बग्न थाले । हामी मूर्तिवत् टोलाइरह्यौँ दूर क्षितिजमा । एक्कासी ऊ जोडले करायो-

‘कोरिदै थियो एउटा तस्बीर
हृदयका भित्ताहरूमा
जब,
चोरीदिन्छ नियतिले
प्रेमका फाइलहरूबाट
मेरो प्रिय जूनलाई
आज,
हराएका छन् जीवन-कथाका
तमाम प्लटहरू’

कानमा मोटरसाइकलको आवाज ठोकिन्छ । सायद आकल्प आएको होला । मोटरसाइकलको आवाज मेरो कानमा गुञ्जिन कम हुँदैन । त्यो कर्कस आवाजले मलाई प्रताडना दिइरहन्छ । म फेरि विगतमा पौडिन्छु –
विधान राजधानीकै एक प्रतिष्ठित बैकको म्यानेजर थिए । एकाविहानी उनी मसँग सहाचार्यको आनन्द नलिई अफिसतर्फ हानिएका थिए । बैंकमा शेयरधनीहरूका बीचमा आपत्कालीन बैठक रहेछ । म सखारै मन्दिरतिर गएकी थिएँ ।
-‘हेल्लो, आँचल के गर्दै छ्यौ ?’
‘क्यै गर्या छैन । यतिकै बसेकी ।’
-‘आज तिमीलाई देख्न पाइएन । मिटिङ सकेर घर फर्कदैछु ।’
‘अनि बाइक चलाउँदै फोन गर्नुपर्छ त ?’
-‘ह्या, के हुन्छ रु ओई सुन न !’
‘भन्नोस् न ।’
-‘एक किस देऊ न फोनबाटै ।’
म काका-काकीसँग बसेर टिभी हेर्दै थिएँ । मैले लजाउँदै इन्कार गरेँ,
‘ह्या, के भन्नुभाको ?’
उनी जिद्दी गर्दै थिएँ, ‘छिटो गर न’

एक्कासी कानमा घड्याप्पको आवाज सुनियो । म आत्तिएँ । सम्भावित दूर्घटनाको आशंकाले चिच्याएछु । काका-काकी पनि के भयो भन्दै आत्तिनु भयो । काकाले फोन सुन्दै दौडिएर घटनास्थलतर्फ हान्निनुभयो । काकी र म एकदमै भयभीत भयौँ । मेरो आशंका साँचो भएको थियो । विधान रोकिराखेको ट्रकको पाङ्ग्रामूनि पसेछन् । एउटा स्कुटरलाई साइड दिँदा बतासिएर सो घटना घटेको रहेछ । उनको हेल्मेट उछिट्टिएर टाउकोमा गहिरो चोट लागेछ । उनलाई अस्पताल लग्दै गर्दा बीच बाटैमा उनको प्राणपखेरू उडेछ ।

मेरो हृदय एक्कासि गह्रौ भयो । एउटा अङ्ग नै छुटेझैँ महसुस भयो । म सलाइ निख्रिएको खोलझैँ रिक्त भएँ । अनायासै आँशुका भलहरू बग्न थाले । मैले आफूलाई थाम्नै सकिनँ । दौडिदै गएर एक्कासि उनको मृत्त शरीरलाई अगाल्न पुगेँ । उनको मुहारभरी चुम्बन बर्साउन थाले । मेरो करूणस्थिति कसैले नि देख्न सकेनन् । त्यसपछि एक जत्था आईमाईहरू आएर मेरो सिउँदो पुछिदिन थाले । नाडीमा लगाएका सम्पूर्ण राता चुराहरू फुटाउन लागे । हाम्रो प्रेमको प्रतीक गाजल अनुहारभरी लत्पतियो । मैले आफूलाई उनीहरूको चङ्गूलबाट बचाउन खोजे तर उनीहरूले हिंस्रक शिकारीझैँ मलाई तबाह गरेर नै छाडे । उनीहरूले विधानले दिएका सम्पूर्ण चीजहरू एकाएक गर्दै खोसे । मेरो सम्पूर्णता लुटियो । मेरो समृद्धि खोसियो तर उनीहरूले मेरो हृदयभित्र भासिएका सम्झनाहरू लुट्न सकेनन् । त्यसैले मलाई पोलिरह्यो । कस्तो पीपासुयुक्त छ हाम्रो समाज । एउटा विधवा, पोइ मरेकी राँडीलाई जे गरेपनि हुने रु पोइ मरेपछि के उसको अस्तित्व पनि मर्छ र रु किन ती प्रेमका प्रतीक सिन्दूर, पोते र चुरा पहिरिन नपाउने रु कस्तो गन्धे परम्पर हो यो १ म किंकर्तव्यविमूढ बनेँ । महिला अधिकारका बोक्रे नारा ओकल्ने आईमाईहरू मेरो अस्तित्व मेट्दै मलाई सेतो कात्रो पहिर्‍याएर गए । म पूर्णतः सेतो कपडाले बेरिए अब ममाथि विभिन्न लाञ्छनाका दागहरू लगाउन सजिला भएका थिए ।

विधानको मृत्यूपछि म काठमाण्डौंको कङक्रिट सहरमा एकदमै एक्ली भएँ । उनीसँग बिताएका प्रत्येक पलहरूले मलाई लुछ्न लागे । उनले प्रयोग गर्ने टावल जसले मैले उनको शरीर पुछिदिने गर्थे । उनले अक्सर पढ्ने उपन्यासहरू जसलाई पढेपछि मलाई बुझाउने गर्थे । उनलाई मनपर्ने रातो कप जसमा म कफीसँगै पे्रम मिसाएर पिलाउने गर्थें । उनले किनिदिएको गाजल जसलाई मैले दिनहुँ लगाउनु पथ्र्यो । मलाई मनपर्ने गुलाबी लिपिस्टिक जसले उनका गालामा मेरा अधरका दाग लगाउथेँ । यी सबै यादहरूले मलाई निमोठिरहन्थ्यो । घरबाट विरक्तिएर म काठमाण्डौंका गल्लीहरू चहार्न थाले । त्यहाँ पनि मान्छेको भीड र कोलाहलले म अझ तड्पिन्थे । मेरो यस्तो चाला देखेर काका-काकी हैरान हुनुहुन्थ्यो ।

फुसर्दमा कहिलेकाँही आकल्प आउने गथ्र्यो । हल्का राहतको महसुस हुन्थ्यो । ऊ आएपछि त्यसै-त्यसै सबै पीरहरू कम हुन थालेको आभास हुन्थ्यो । ऊ काठमाण्डौं बसेर अध्ययन गदै थियो । मेरो विवाह भएकै दिन ऊ पनि काठमाण्डौं छिरेको थियो । विधानको असामयिक निधनले ऊ पनि निक्कै स्तब्ध थियो । मलाई ढाडस दिदै ऊ भन्थ्यो, ‘अब तिम्ले परिवर्तनलाई आत्मसात गर्नुपर्छ । जीवन यसरी चल्दैन बुझ्यौ । अब तिमीले दृढ संकल्प लिनुपर्छ ।’ म निराश बनिदिन्थेँ, ‘जीवन बोझ भइरहेको छ आकल्प । यो बोझलाई धेरै खप्न सक्दिन म’ ऊ फेरि सम्झाउदै भन्थ्यो, ‘जीवनदेखि यस्तो निराश नबन आँचल । तिम्ले विधानको प्रेमको खातिर पनि बाँच्नुपर्छ ।’
म चुपचाप रहन्थे । मैले अब के गर्नुपर्छ भन्ने सो मलाई थाहा थिएन । मैले खुट्टा टेक्ने ठाउँ नै पाइरहेकी थिइनँ । चारैतिर वेदनाका महासागरहरू थिए । म अविछिन्न पातसरह खसिरहेकी थिएँ । मेरो कनै गन्तव्य सुनिश्चित थिएन ।

एकदिन आकल्प आएको थियो । म उसको लागि खाजाको तयारीमा थिएँ । ऊ काकासँग गफ गर्दै थियो- ‘सुन्नुभयो, म तपाईकी बुहारीलाई मन पराउँछु । उनीसँग विवाह गर्न चाहन्छु । यसरी ऊ यहाँ बस्न थाली भने एकदिन उसले आफूलाई सिध्याउँछे । यसको भागीदार तपाईहरू नै बन्नुहुनेछ ।’ काका र काकी शिक्षित हुनुहुन्थ्यो । वहाँहरूले मेरो दयनीय स्थिति देखेर सहमति जनाउनुभयो । त्रिपक्षीय छलफल भयो । उहाँहरूको कुरा मिल्यो । अनि उहाँहरूले मेरो विचार माग्नुभएको थियो । मैले स्वीकारोक्ति दिएकी थिएँ । त्यसैबखत काकाबाट कन्यादान गर्ने सहमति पनि भयो ।

विवाहको कार्यक्रम ठूलो तामझामका साथ भयो । जसरी एउटा कन्या केटी पहिलोपटक अन्मिएर डोली चढ्छे । पञ्चेबाजा एक सुरले बजिरहेको थियो । विवाह मण्डप आकर्षक रूपले रूपाङ्कन गरिएको थियो । विवाहमा विभिन्न संघसंस्थाका प्रतिनिधि मानिसहरूको उपस्थिति थियो । केही महिला अधिकारकर्मीहरू पनि उपस्थित थिए । पत्रकारहरूलाई पनि बोलाइएका रहेछन् । समाजमा नयाँ सन्देश प्रसारित हुदै थियो । पाहुनाहरू सम्पूर्ण भोजनमा व्यस्त देखिन्थे । फोटो खिच्ने र खिचाउने क्रम चलिरहेको थियो । एउटा पत्रकार हामीमाझ देखा पर्यो । उसले काकालाई केही प्रश्न सोध्यो । काकाले भन्नुभयो, ‘मैले बुहारी होइन एउटी छोरीको विवाह गरिदिदैछु । यिनले सुख पाइन भने हामीले मोक्ष प्राप्त गर्नेछौं ।’ पत्रकारले मेरो बाबालाई प्रतिक्रिया लिन चाह्यो । बाबाले भन्नुभो, ‘हामी छोरीको निराशापूर्ण अनुहार देखेर दुखित हुन्थ्यौँ । आशा छ, उनी फेरि खुशी हुनेछिन् ।’
पत्रकार आकल्प भएतर्फ आइसकेको थियो । उसले प्रतिक्रिया लिन चाह्यो । उसले भन्यो, ‘म आफ्नी बाल्यकालकी साथीलाई श्रीमतिका रूपमा पाउँदा हर्षित भएको छु । म उनलाई खुशी राख्नेछु ।’ मतिर फर्किएको पत्रकारलाई मैले भनेँ, ‘जीवनको एउटा पाटो बितिसकेको छ । उहाँले मलाई श्रीमतीरूका रूपमा स्वीकारेकोमा अत्यन्तै खुशी छु ।’
-राजेश नतांश