नेपालको सहभागिता धरापमा एसियाली खेलकुद

नेपालको सहभागिता धरापमा एसियाली खेलकुद


-श्रीविक्रम भण्डारी
मुलुकको तरल राजनीतिको असर खेलकुदमा पनि परेको छ । राजनीतिक कारणले गर्दा नै एसियाली खेलकुद प्रतियोगितामा नेपालको सहभागिता धरापमा परेको हो । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले चीनको ग्वान्झाउमा आयोजना हुने १६औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि सरकारसँग पाँच करोड रुपैयाँको माग गरे पनि त्यो अहिलेसम्म प्राप्त गर्न सकेको छैन । प्रतियोगिता सन्निकट आइपुग्दासमेत सरकारले तयारीका लागि कुनै पहल नगरेपछि खेलकुदमा अन्योल छाएको छ । खेलाडीले सोचेअनुरूप प्रशिक्षण गर्न पाएका छैनन् भने बजेटकै कारणले परिषद् खेलहरूलाई छाँटकाँट गर्नमा उत्रिएको छ । एसियाली खेलकुदमा सहभागिताका लागि कुनै मेसो भेट्टाउन नसकेको परिषद्का लागि अहिले उक्त प्रतियोगिता निल्नु न ओकल्नु बनेको छ । झर्ला र खाउँला भन्ने आशामा जसोतसो छनोट चरणलाई अगाडि बढाएको परिषद्ले आगामी तयारी र रणनीतिका लागि मुखमा दही जमाउन बाध्य भएको छ ।
छिमेकी राष्ट्र चीनको ग्वान्झाउ सहरमा आउँदो कात्तिक २६ देखि मङ्सिर ११ गतेसम्म १६औँ एसियाली खेलकुद प्रतियोगिता हुँदै छ । उक्त प्रतिगयोगितामा नेपालले १३ वटा खेल तेक्वान्दो, कराते, उसु, बक्सिङ, सुटिङ, एथलेटिक्स, आर्चरी, रेस्लिङ, भारोत्तोलन, ब्याडमिन्टन, टेबुलटेनिस, जुडो र क्रिकेटमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । एसियाली खेलकुदमा समावेश गरिएका ४२ खेलमध्ये नेपालले १३ खेलमा सहभागिता जनाउने निर्णय गरेको होे । यो प्रतियोगितामा नेपालले १४ खेलमा सहभागिता जनाउने निर्णय गरे पनि बजेटको कारण देखाउँदै अन्त्यमा बुद्धिचाललाई समावेश नगर्ने राखेपले निर्णय गरेको थियो । ग्वान्झाउ एसियाडमा नेपालका ९१ खेलाडीले प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको र जसम्ाा पुरुष ५० र महिला ४१ रहेको परिषद्ले बताएको छ ।
एसियाली खेलकुदमा नेपालको सहभागिता र सफलताको चर्चा गर्दा खासै सन्तोषजनक छैन । सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले सहभागिता दिँदै आए पनि अहिलेसम्म ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । एसियन गेम नेपालका लागि अनुभव बटुल्नु र सहभागिता मात्रै बन्दै आएको छ । एसियाली खेलकुदका पहिलेका सात संस्करणमा कुनै पदक जित्न नसकेको नेपाललेे सोल एसियाडमा भने खाता खोल्न सफल भएको थियो । उक्त संस्करणमा नेपालले आठवटा कास्य पदक जितेर कीर्तिमानसमेत बनाएको थियो । नेपाललाई सबैभन्दा ठूलो सफलता सन् १९९८ को बैङ्कक एसियाडमा मिलेको थियो । यो एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् । त्यसपछि सम्पन्न बुसान र कतार एसियाडमा नेपालले कास्य पदकमै चित्त बुझाउनुपरेको थियो । एसियाली खेलकुद र पदकको चर्चा गर्दा अहिलेसम्म तेक्वान्दो, कराते र बक्सिङले मात्र नेपाललाई पदक दिलाएका छन् । एसियाडका १३ संस्करणमा नेपालले अहिलेेसम्म १ रजत र २० कास्य पदक जित्न सफल भएको छ ।
एसियाडको १५औं संस्करणसम्म स्वर्ण पदक जित्न नसकेको नेपालको यसपटकको तयारी हेर्दा नाक खुम्चाउने अवस्था छ । विगतका एसियाडमा मार्सल आर्टस्का खेलहरू तेक्वान्दो र करातेले नेपालको इज्जत बचाउँदै आए पनि यसपटकको तयारी हेर्दा असम्भवजस्तो देखिएको छ । एसियाली खेलकुद शुभारम्भ हुन मात्र अढाइ महिना बाँकी रहेको अवस्थामा खेलाडीहरूले स्वदेशमा समेत राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनन् । उनीहरूको उत्कृष्ट व्यवस्था राखेपले मिलाउन सकेको छैन । अहिले खेलाडीहरूलाई विदेशी प्रशिक्षण लागि लग्नुपर्ने समयमा समेत परिषद् खेलाडी छनोेटमै अल्मल्लिएको छ । सरकारले बजेट देला र तयारीका लागि अगाडि बढ्ने चर्चा गर्दागर्दै परिषद्ले समयले नेटो काटेको चालै पाएन । तर्सथ अहिले ग्वान्झाउ एसियाड नेपालका लागि खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाउको अनुहारजस्तै बन्न पुगेको छ ।
ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीले उत्कृष्ट पर््रदर्शन गरेपछि परिषद्ले एसियाली खेलकुदको तयारीका लागि सरकारसँग पाँच करोड मागेको थियो । सरकारले परिषद्लार्इर्र्बजेट उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म फुटेको कौडी दिएको छैन । अस्थिर राजनीतिको मारमा परेको सरकारको आश्वासन अहिले पानीको फोकाजस्तै बनेका छन् । समयको पावन्दीलाई मध्यनजर राख्दै परिषद्ले एसियाडको तयारीको शुभारम्भ गरे पनि त्यो गुणस्तरीय हुन सकेको छैन । एसियाडजस्तो महत्त्वपूर्ण प्रतियोगिताका लागि अहिलेसम्म विदेशी प्रशिक्षकको नियुक्ति गर्न सकेको छैन । स्वदेशी प्रशिक्षककै प्रशिक्षणमा काम चलाउ हिसाबमा तयारी गरिरहेका खेलाडीहरूले आउँदो ग्वान्झाउ एसियाडमा कस्तो पर््रदर्शन गर्लान् भनी अनुमान गर्न कठिन छैन । एसियाली खेलकुद प्रतियोगिता तयारी समितिका संयोजक तथा राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जन अहिले निकै हतारमा देखिएका छन् । सरकारले बजेट नदिएकै कारणले गर्दा अहिलेको अवस्था सिर्जना भएको आरोप उनले लगाएका छन् । सरकारले समयमै बजेट दिएको भए सबै कुरो व्यवस्थित तरिकाले अगाडि बढ्ने बताउँदै यो सबै सरकारको गैरजिम्मेवारीपनको उपज हो भनेका छन् । आफूहरूको योजना यसपटक स्वर्ण पदक जित्ने रहेकोमा सरकारको ढिलासुस्तीले गर्दा सबै भताभुङ्ग भएको बताएका छन् । दक्षिण एसियाली खेलकुदमा राम्रो पर््रदर्शन गर्दै आएका खेलहरू तेक्वान्दो, कराते, बक्सिङ र उसुका लागि परिषद्ले विशेष योजना बनाए पनि अहिले त्यो योजना योजनामै सीमित रहेको गुनासो पनि महर्जनले पोखे । समयमै खेलाडी छनँेट र प्रशिक्षण गर्न पाएको भए यी चार खेलका खेलाडीलाई विदेश प्रशिक्षणमा पठाउने कार्यक्रम रहेको महर्जनले सुनाए ।
तेक्वान्दोलाई कोरिया, करातेलाई जापान, उसुलाई चीन र बक्सिङलाई थाइल्यान्ड पठाउने राखेपको योजना भए पनि बजेटकै कारणले गर्दा सबै योजना तुहिएको उनले बताए । आफूले सरकार यस्तो गैरजिम्मेवार भएर प्रस्तुत हुने कुरा कल्पनासमेत नगरेको बताउँदै संयोजक महर्जनले यो खेलकुदमाथि ठूलो खेलवाड हो भनेका छन् । राष्ट्रको मान-सम्मान र प्रतिष्ठा गाँसिएको एसियाली खेलकुदमा सरकारले खुलेर सहयोग गर्नुपर्नेमा उल्टो व्यवहार देखाएकोमा राखेप नै रनभुल्लमा परेको बताए । महर्जनले सरकारको यस्तो रवैयाका कारणले गर्दा स्वर्ण पदक जित्ने सम्भावना चुकेको बताउँदै ग्वान्झाउमा नेपालले एउटै पदक पनि जित्न सकेन भने त्यसको जिम्मेवार सरकार हुनुपर्ने बताएका छन् । सरकारको गैरजिम्मेवारीले खेलाडीहरूले प्रसवपीडाको सामना गर्नुपरेको खुलासा गर्दै निकट भविष्यमै सरकारले बजेट दियो भने ग्वान्झाउ एसियाडमा नेपालले प्रतिस्पर्धा नभई सहभागिता मात्र जनाउने बताएका छन् । जुन नेपालका लागि ठूलो दर्ुभाग्य हुने महर्जनले दाबी गरेका छन् ।
यसरी सन्निकट आइपुगेको एसियाडमा नेपाली खेलाडीले ठूलो सपना देखे पनि सरकारको गैरजिम्मेवारीले गर्दा उनीहरूमा कुठाराघात भएको छ । तैपनि ‘सास छउन्जेल आश हुन्छ’ भनेझैं खेलाडीले आफ्नो रगतपसिना बगाउन छडेका छैनन् । आशा गरौँ, राष्ट्रको आत्मसम्मान र गौरवका लागि पनि सरकारले चाँडै बजेटको व्यवस्था गर्नेछ ।

ग्रान्ड मास्टर्स बुद्धिचाल
नेपालका लागि कोसेढुङ्गा हुने
द हिमालयन चेस क्लबको आयोजनामा आउँदो भदौ २४ गतेदेखि २९ गतेसम्म हिमालयन ग्रान्ड मास्टर्स अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा स्वदेश र विदेशका गरी कुल चालीसजना खेलाडीको सहभागिता रहनेछ । नेपालको तर्फबाट फिडे मास्टर मनीष हमाल, बद्रीलाल नेपाली, विमललाल श्रेष्ठ, प्रचण्डमान मालाकार, केशव श्रेष्ठ र उक्तराज थापासहित शीर्ष २० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक समितिले बताएको छ ।
स्विस लिग प्रणालीमा नौ चरणमा सञ्चालन हुने यो प्रतियोगिता नेपाली खेलाडीको रेटिङ सुधार गर्ने र खेलाडीलाई आइएम नम्र्स प्राप्त गर्न सहयोग होस् भन्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । सो अवसरमा प्रतियोगिताको बारेमा जानकारी दिँदै नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीले यो प्रतियोगिताको आयोजनाले नेपालले पनि बृहत् अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने प्रमाणित गरेको बताएका थिए । अध्यक्ष जोशीले खेलाडीको रेटिङमा सुधार गर्ने र आइएम नम्र्स प्राप्त गर्न प्रतियोगिता र्सार्थक हुने दाबी गरेका थिए । साथै अध्यक्ष जोशीले निकट भविष्यमै हुन लागेको विश्व बुद्धिचाल महासङ्घ -फिडे) को निर्वाचनमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी दिएको बताउँदै यो प्रतियोगिताले आफूलाई निर्वाचित गराउनमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास प्रकट गरेका थिए । ठूलो प्रतियोगिताको आयोजनाबिना खेलाडीको वृद्धि विकासमा सकारात्मक प्रभाव नपर्ने भन्दै छिटो समयमा बुद्धिचाल खेलको विकासका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको द हिमालयन चेस क्लबप्रति आभार प्रकट गरेका थिए ।
यस प्रतियोगिताको व्यवस्थापन समितिका संयोजक हेराकाजी महर्जनले भारत र बंगलादेशका पाँचजना ग्रान्ड मास्टर्स र पाँचजना अन्तर्राष्ट्रिय मास्टरले प्रतियोगितामा सहभागिता जनाउने बताएका छन् । सोही अवसरमा महर्जनले भारतका ग्रान्ड मास्टर दिबेन्दु बरुवा र श्रीराम झा तथा बंगलादेशका ग्रान्ड मास्टर इनामुल हुसेनको सहभागिता पक्का भएको जानकारी गराएका थिए । त्यस्तै प्रतियोगितामा थाइल्यान्ड, श्रीलङ्का र सिङ्गापुरका २२ सयभन्दा माथिका रेटिङ भएका खेलाडीको पनि सहभागिता रहने बताए । अनुमानित १५ लाख बजेट रहेको यो प्रतियोगितामा कुल नौ लाख ६५ हजार नगद पुरस्कार राखिएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीले ७५ हजार र दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ५२ हजार ५ सय र ३७ हजार पाँच सय प्राप्त गर्नेछन् । उत्कृष्ट दस स्थान हासिल गर्ने र पहिलो तीन स्थानमा रहने नेपाली खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगितामा सहभागी ग्रान्ड मास्टर र अन्तर्राष्ट्रिय मास्टरलाई पनि नगद पुरस्कारको व्यवस्था मिलाइएको संयोजक महर्जनले बताएका छन् ।
त्यस्तै बुद्धिचाल खेलको विकासमा अहम् भूमिका निभाइरहेको द हिमालयन चेस क्लबका अध्यक्ष रामकुमार थापाले आफ्नो क्लबले छोटो समयमा थुपै्र राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको बताउँदै यो प्रतियोगितामा नेपाली खेलाडीको बृहत्तर विकासका लागि कोसेढुङ्गा सावित हुने बताएका थिए । नेपालमा पहिलोपटक आयोजना हुन लागेको ग्रान्ड मास्टर्स अन्तर्राष्ट्रिय प्रतियोगिताले मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउन निकै मद्दत गर्ने भन्दै खेलाडीहरूले नयाँ अनुभव बटुल्न पाउने बताएका थिए । अध्यक्ष थापाले कम लगानीमा पनि ठूलाठूला प्रतियोगिताको आयोजना गर्न सकिन्छ भन्ने उदाहरण यो प्रतियोगिता बन्ने दाबी गरेका थिए ।