जनता जागेका बेला-मिलन शर्मा

जनता जागेका बेला-मिलन शर्मा


विश्व हिन्दू महासम्मेलनमा पूर्व राजा ज्ञानेन्द्र शाहले देश विग्रिएको कारण बताइरहँदा त्यसका मतियार भनेर चिनिने राजनीतिक दलका नेताहरु भने उनको सत्तोसराप गर्नमा नै व्यस्त थिए । गणतन्त्र पूर्व नेपाललाई एकात्मक शैलीमा अगाडि बढाउने उद्घोष गरेका उनले गणतन्त्रको बाटो आउला भन्ने सोचेको भए सायद त्यसो गर्दैनथे । तथापि देशलाई निकास मिल्छ भने मैले गद्दी छाड्नु कुनै ठूलो कुरा हुन्न भन्ने धारणाका साथ नारायणहिटि छाडेका राजा ज्ञानेन्द्रले आफूले छाडेको दशक नबित्दै देश निकै अप्ठेरोमा परेको महसुस गर्न थाले । नभन्दै पहिलोचोटि सार्वजनिक मञ्चमा अभिव्यक्ति दिएका राजाले देश नबिगार्न चेतावनी दिँदा बिशाल जनसागरले त्यसको समर्थन दियो ।

गणतन्त्र आफैमा नराम्रो पद्दति थिएन तर नेपालमा यसले विस्तारी परतन्त्रको बाटो समाएपछि जनताले फेरि राजसंस्थाको माग गर्न थालेका छन् । बेलायतमा पनि गणतन्त्र आएर फेरि राजतन्त्रको वीजारोपण जुन तरिकाबाट भयो त्यसल आजसम्म पनि निरन्तरता पाइरहेको मात्र छैन विश्वमा नै एक उदाहरण बन्न पुगेको छ । जनता यसप्रति थप उत्तरदायी मात्र भएका छैनन् राजशासनलाई आफ्नो एक अभिन्न अङ्ग जस्तै मान्दै आएका छन् ।

त्यस्तै नेपालमा पनि दलहरुले राजतन्त्रको अन्त्य गर्दा जनमत लिने काम नगरी एकल निर्णयबाट स्थापित गरेको हुँदा जनतामा गणतन्त्रको स्थायी सकारात्मक छाप पर्न सकेको छैन । बरु गणतन्त्र पूर्व दलीय विश्वास जुन थियो त्यो गणतन्त्र वहालीपश्चात झनै फितलो र हलुका बन्दै गएको छ । नेतृत्वमा बोलीको विशवास छैन । राजनीतिक दूरदर्शिता पाइँदैन भने राष्ट्रको स्वार्थ लेश मात्र पनि भेटिदैन । बरु सत्ता कसरी टिकाउने र म वादको विकास गर्ने अभियानमा उनीहरु लागी परेको आभाष देखिन्छ । व्यक्तिगत निर्णयमा राष्ट्रको नीति तथा कूटनीति जान थालेपछि विदेशीको हस्तक्षेप पनि उत्तिकै बढेको अवस्थामा महँगी, भ्रष्टाचार, दुराचार तथा अपराधीकरण संस्थागत हुँदै जानु गणतन्त्रको आयु छोटिंदै जानु हो ।

एकात्मक राजसँस्थामा मात्र एक राजा थिए जसले सिङ्गो देश चलाएर विदेशलाई समेत राष्ट्रको सामु अमूक बन्न वाध्य पारेका थिए तर राजतन्त्रको अन्त्यसँगै देशमा हजारौं राजा आए जसले देशलाई चुस्ने र जनतालाई आश्वासनका बोली पोका मात्र बोकाउने गर्न थाले । यसले जनता झनै निराश बन्दै जान थालेका छन् ।

राजाले बोलेका कुरा जनपक्षीय बन्दै जानु र दलहरु आपसमा सत्ताको लुछाचुँडीमा छिनाझम्टी गर्नुले जनताको आशा राजापट्टी फर्किएको छ भने विदेशीको हस्तक्षेपले देश नै नरहने हो कि भन्ने चिन्ता जागेको छ । त्यस्तै हिन्दू राष्ट्र नेपाललाई जनमतका आधारमा सापेक्ष वा निरपेक्ष बनाउने भन्ने निर्णयका साथ जनमत बटुल्न जनतासम्म पुगेका विधायकहरुले हिन्दू राष्ट्रको पक्षमा ९० प्रतिशत अभिमत व्यक्त गरेका थिए । तर दलहरुले परआदेशमा लादेको धर्मनिरपेक्षताले देशलाई जातीयता तथा धार्मिक गुट उपगुटमा विभाजन गरेको छ । यसको निराकरणको उपाय पनि दलहरुको बुद्धिमा यतिबेलासम्म देखा परेको छैन ।

त्यस्तै संघीयताका विषयमा त दलहरु झनै अस्पष्ट देखिन्छन् । देशलाई जातीय टुक्रा बनाएर राजनीतिक अभिष्ट त पुरा होला तर राजा पृथ्वी नारायण शाहले सोचेजस्तो चार वर्ण छत्तीस जातको साझा पूmलबारीको रुपमा रहने नेपाल रहने छैन । यसले फेरि बाइसे चौबीसे दलीय राजाहरु जन्माउने छ जसले देश झनै भयावह मूठभेटको स्थितिमा जाने छ । यसैले देलाई राजतन्त्रको खाँचो छ नकि, दलीय वितन्डा वादको ।

milanराजनीतिक दलहरुको कामले जनता वाक्क भएका छन् । यसैले पनि अब राजतन्त्रको माहोल तयार भइरहेको छ । जनमतमा गई राजतन्त्र कि गणतन्त्र भन्ने विषयको अभिमत लिनु र राजतन्त्रका विषयमा फैसला गर्नुपर्ने बेला आएको छ । जनता जागेका बेला दलहरुको कुनै तुक रहने छैन । शासकीय सुलभता र विकासको लागि जनताले जुन मूल्य चुकाउन पनि पछि पर्ने छैनन् । यसतर्फ दलहरुले बेलैमा सोच्नुपर्ने हुन आएको छ ।
Photo Source: khumbule.com