अनेसासयूकेको चौथो साहित्यिक सन्ध्या सम्पन्न

अनेसासयूकेको चौथो साहित्यिक सन्ध्या सम्पन्न


लण्डन । शनिबार, जुन ४ तारिखका दिन अनेसास, यू केको साहित्यिक सन्ध्याको चौथो शृंखला ७ अपर टाउन रोड, ग्रिन्फोर्डमा सन्ध्या नायकहरु कबिद्वय ईश्वर मानन्धर तथा डा रुपक श्रेष्ठका साथमा सम्पन्न भयो । केन्द्रिय उपाध्यक्ष जया राईको अध्यक्षता, बासु शर्मा, गीता शर्मा, राज श्रेष्ठ, सुबोध तिमिल्सिना, डा सुनिल बुढाथोकी तथा सुमल गुरुङ्को आतिथ्यमा दिनको ३ बजे शुरु भएको कार्यक्रमका शूत्रधार लाराको प्रस्तुति सहित साँझ ९ बजे सकिएको थियो । सन्ध्या नायक डा श्रेष्ठका प्रकाशोन्मुख कबिता संग्रह ‘बिग बेन र समय’ माथि जया राईले आफ्नो बिचार राखेपछि डा कुसुमाकर न्यौपानेले पठाएका समालोचना प्रस्तुत गरिएको थियो । तत्पश्चात् डा श्रेष्ठले आफ्नो प्रकाशोन्मुख कबिता संग्रह ‘बिग बेन र समय’ बाट दुईवटा कबिताहरु ‘बिग बेन र समय’ तथा ‘मृत्यु सौन्दर्य’ बाचन गर्नुभयो भने उक्त कृति माथि गोपीकृष्ण प्रसाईं, नारायण गाउँले, राजिव रेग्मी उर्फ ‘माया क्यालेन्डर’,ले समालोचना गरे, त्यस्तै गरी अर्का सन्ध्या नायककबि ईश्वर मानन्धरले आफ्नो प्रकाशोन्मुख कबिता संग्रहबाट ‘सिन्दुर बिनाको सिउँदो’ र ‘अन्तरद्वन्द’ बाचन गरे । उक्त कृतिहरु र बाचित कबिताहरु माथि गोपी प्रसाईं तथा माया क्यालेन्डरले समालोचना गरे भने डा रुपक श्रेष्ठ, जया राई, बासु शर्मा, तथा सुमल कुमार गुरुङले आ-आफ्ना धारणाहरु राखे । बिभिन्न कबि तथा कवयित्रीहरुले आ-आफ्ना रचनाहरु पाठ गरेको उक्त गोष्ठीमा रीना श्रेष्ठ, रबिन जोशी, कोहिनूर जोशी, गणेश श्रेष्ठ, साकार मल्ल, रिदिमा थापा, राजेश जोशी, अन्जु माली र राजा र सुशिला श्रेष्ठको उपस्थिति रहेको थियो ।-रुपक तस्वीरसहित