के यो नियति हाम्रो बाध्यता हो अंकल ?

के यो नियति हाम्रो बाध्यता हो अंकल ?


14813318_10211250385197333_326957665_oमृत मेरी क्षेत्रीको परिवारलाई सहयोग हस्तान्तरण

कसलाई के थाहा, यो सानै उमेरमा यस्तो नियती भोग्नु पर्ला भन्ने ? कल्कलाउँदो उमेर र करियर बनाउने समयमा आफ्नो र भाइको चिन्ता बोध प्रियाश्री बुढाथोकी क्षेत्रीको (बीसी) अनुहारमा प्रस्ट झल्कँदो थियो । उनले गहभरी आंशुं पार्दै भनिन् “न हजुरहरु मेरो चिनजानको आफन्त, न मामुको नै; यति टाढा सात समुन्द्र पर भएर पनि नेपाली चेलीलाई यस्तो बिपद पर्दा जुन सहयोग र आश्वासन दिनु भयो मेरो मरी सकेको ईच्छा पुनः एकपटक पलाएर संसारमा मानवता भन्ने अझै पनि जीबितै रहेछ भन्ने लाग्यो । म यो सहयोग र तपाईहरुले देखाउनु भएको सदभाव जिन्दगीभर भुल्ने छैन ।”

सानै उमेरमा बाबुको न्यानो माया नपाएका र जीबिकोपार्जनको लागि आमा परदेशिएर आफ्नो र भाइको ऊज्जल भबिष्यकाे लागि अहोरात्र खटी निजी खर्चमा एमबीबीएस दोश्रो बर्षमा अध्ययनरत प्रियाश्री (बीसी) ले आफ्नो आगामी कहालिलाग्दो जीवनयात्रा बारे थपिन् “मामुले दुखसुख गरेर प्राइभेटमै भए पनि भर्ना गरी पहिलो किस्ता तिरिदिनु भई म हाल दोश्रो बर्षमा कोहलपुरमा एमबीबीएस पढ्दैछु । ५ बर्षको लागि फी मात्र ४४ लाख र आवास-खाना-परीक्षा शुल्क गरेर करीब ६०-६५ लाख लाग्नेछ, भाइ अहिले +२ सकेर उच्च शिक्षाको लागि भर्ना हुने पर्नेमा यस्तो अचानक जीवनको एकमात्र साहारा मामुले हामीलाई अचानक छाडेर जानु भो । अब हामी के हुन्छौं अंकल! भन्दा क्षेत्री सामज बेलायतले स्वतःस्फूर्तरुपमा संकलन गरेको १५४७ पाउण्ड रकम हस्तान्तरणका लागि हिजो सांझ लण्डन स्टानमोर पुगेका समाजका अध्यक्ष क्या (री) धन बहादुर कुंवर, सल्लाहकार रामशरण सिम्खडा, सचिव कुमार केसी र आपत्कालीन कोष संयोजक प्रतिमा केसीलगायत उपस्थित सबैको आँखा रसायको थियो भने गला अबरुद्ध भएको थियो । पूरै बोल्न असमर्थ समाजका अध्यक्ष धन कुंबरले “यस्तो अवस्थामा हाम्रो यो रक़म सानै सहयोग होला तर साथ र भरोसा ब्यक्त गर्न आएका हौं । हामी साथ छौ” भन्दा माहौल स्तब्ध भएको थियो । “कानूनीरुपमा पुर्याउन सक्ने सहयोग र आगामी दिनमा के कसरी यी दुई नानीहरुलाई सहयोग गर्न सकिन्छ अन्य संघ संस्था तथा ब्यक्तिहरुसँग समेत परामर्श गर्छौ । तिम्रो पढाइ बीचैमा छाड्ने दिन सकभर हामी हुन दिनेछैनाै” भन्दै समाजका सल्लाहकार रामशरण सिम्खडाले भबिष्यबारे आश्वस्त पार्न खोज्दा बाताबरण अझै करुणामय बनेको अनुभूति हुन्थ्यो । सचिव कुमार केसीले समाजको तर्फबाट संकलित रकम समाजका अध्यक्षकाे हातबाट छोरी प्रियाश्रीलाई हस्तान्तरण गर्न अनुरोध गर्दै समाजको साथ यस्तो बिषम परिस्थितिमा सदैब रहने प्रतिबद्धता जाहेर गरेपछि अध्यक्ष कुँवरबाट रकमकाे हस्तान्तरण गरिएकाे थियाे ।

उक्त अवसरमा समाजका क्षेत्रीय संयोजक बल रायमाझी, नन्द क्षेत्री तथा बीर प्रसाद घर्ती मगर, संजय पन्त तथा सबी पौडेल लगायतको उपस्थिति रहेको थियो ।
गत अक्टोबर १२ तारिखका दिन लण्डनमा निधन भएकी विष्णुकुमारी बुढाथोकीको रुकुमकोट, रुकुममा जन्मिएर यूकेको वाटफोर्ड अस्पतालमा कार्यरत ३९ बर्षको अल्पायुमै निधन भएको थियो। राप्ती समाज यूके, क्षेत्री समाज यूके, नेपाली कम्युनिटी वाटफ़ोर्ड यूकेलगायत उनी कार्यरत अस्पतालको सहकर्मीहरुबाट केही आर्थिक सहयोग भएता पनि आमाको अल्पायुमा मृत्युले यी दुई भविष्यका कर्णधारको आगामी दिन कष्टकर र अंध्यारो प्रतीत हुन्छ ।

14917105_10210423165708733_3717820179952827297_oस्वर्गीय बुढाथोकीलाई गत सेप्टेम्बर ३० मा हृदयघातपश्चात डक्टरको सल्लाहमा जिल्लाबासी वीरप्रसाद घर्तीमगर तथा नन्द क्षेत्रीको सहयोगमा प्रियाश्री र प्रितमप्रताप गत अक्टोबर ११ मा बेलायत आइपुगेका थिए । स्वर्गीय बुढाथोकीकी छोरी प्रियाश्री र छोरा प्रितम प्रतापले आफ्नी आमालाई अचेत अबस्थामा देख्नसम्म पाए तर दोहोरो कुरा गर्ने सपना अधुरै रह्यो ।

कसलाई के थाहा, संधै खुशी र हंसिली देखिने स्व श्रीमती बिष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को यस्तो असामयिक निधन होला भन्ने ! समाजमा कृयाशील संघ संस्थाहरु बिषेश गरी एन आर एन यूके यति नेपाली एसोसियसन लगायत अन्य संघसंथाहरुले यस आपतको बेलामा बिषेश चासो र सदभावसहित सहयोगको हात अघि बढाउनु पर्ने देखिन्छ ।