झलनाथ पुरानै अडानमा, सम्झौताको नयाँ उपाय खोजी

झलनाथ पुरानै अडानमा, सम्झौताको नयाँ उपाय खोजी


आफ्नै पार्टीको केन्द्रीय कमिटीसँग डराएर भागिरहनुभएका एमाले अध्यक्ष झलनाथ खनाल अन्ततः केन्द्रीय कमिटी बैठकको सामना गर्न तयार हुनुभएको छ । प्रचण्डले प्रधानमन्त्री पदका लागि संसद्मा दिनुभएको उम्मेदवारी फिर्ता लिने सोच बनाएपछि एमाले अध्यक्ष खनाल पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन तयार हुनुभएको हो । यसअघि गत साउन ३ गते केन्द्रीय कमिटीको बैठक बसेको थियो । वास्तवमा खनाल त्यस दिन पनि बैठक बोलाउने पक्षमा हुनुहुन्नथ्यो । प्रचण्डसँग बसेर गुप्त रूपमा बनाइएको योजनाअनुसार खनाल साउन ४ गते लुसुक्क संसद् भवन पुगेर प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्थ्यो, तर बिना पार्टी-निर्णय त्यसरी उम्मेदवारी दिएमा तत्काल पार्टीले निर्णय गरी उम्मेदवारीबारे अनभिज्ञता प्रकट गर्ने सन्देश प्राप्त गरेपछि मात्र खनाल साउन ४ गतेको बैठक बोलाउन बाध्य हुनुभएको थियो । यदि सो दिन खनालले पार्टी निर्णयबिना प्रधानमन्त्री पदमा उम्मेदवारी दिनुभएको भए पार्टी केन्द्रीय कमिटीको तत्काल बैठक बसी उहाँको उम्मेदवारी खारेज गर्ने निश्चित थियो । सधैं राष्ट्रिय सहमतिको सरकार निर्णयको दुहाई दिँदै आउनुभएका खनालले आफ्नै पार्टी नेतृत्वको सरकारलाई विस्थापित गर्न निर्णायक भूमिका निर्वाह गर्नुभएपछि एमालेले प्रधानमन्त्रीको उम्मेदवार बनाएर खनाललाई राष्ट्रिय सहमतिको सरकार बनाउने मौका प्रदान गर्‍यो, तर उहाँले दुईतिहाइ बहुमत जुटाउन पनि सक्नुभएन । त्यसपछि स्वाभाविक रूपले पूर्वनिर्णयमुताबिक खनाललाई उम्मेदवारीबाट फर्काइयो । साउन ४ गते पार्टीले उम्मेदवारी फिर्ता लिइदिएपछि क्रूद्ध हुनुभएका खनालले अहिलेसम्म पार्टीको कुनै पनि तहको बैठक बोलाउनुभएन । देश अत्यन्त संवेदनशील र तनावग्रस्त रहेको यस्तो अवस्थामा उहाँले स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय कमिटी कुनै पनि तहको बैठक नबोलाउँदा पार्टीमा तीव्र असन्तुष्टि उत्पन्न भइरहेको थियो । छब्बीस साउनको बैठकमा झलनाथ खनाल र उहाँका केही समर्थक पुरानै शैलीमा प्रस्तुत हुने स्थिति बनेको छ । खनाल अहिले पनि राष्ट्रिय सहमतिकै नारामा अड्डी कसेर माधव-केपी र सिङ्गै देशलाई हैरान बनाउन प्रतिबद्ध देखिनुहुन्छ । बहुमत सदस्यहरूले दबाब सिर्जना गर्न सकेनन् भने खनाललाई बदल्न मुस्किल पर्ने अवस्था छ । माधव नेपालले धर्म छोड्नुभएन भने केपी-माधवको पक्षमा स्पष्ट बहुमत -कम्तीमा एकाउन्नजना) छ र बहुमतले चाहेमा कुनै पनि निर्णय हुन सक्छ । एमालेको लोकतान्त्रिक धार अहिले काङ्ग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धन सरकारका पक्षमा छ र माधव नेपाल अन्तिमसम्म अड्न सक्नुभयो भने भदौ २ गतेको निर्वाचनमा रामचन्द्र पौडेल विजयी हुनुहुने निश्चित छ । यहाँ माधव नेपालकै भूमिका सुस्पष्ट र विश्वसनीय हुन नसकेका कारण एमालेको निर्णयबारे अनुमान गर्न नसकिने स्थिति बनेको छ । माधव नेपाल पनि प्रचण्डले झैं दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया सुरु गर्नुपर्छ भन्ने पक्षमा रहनुभएको भन्ने भनाइ कतिपयको छ । यदि नेपालसमेत प्रचण्डकै लाइनमा हुनुहुन्छ भने भदौ २ गते नयाँ प्रधानमन्त्री चयन सम्भव हुनेछैन । माधवले अडान नछोडेमा भने भदौ २ गते रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुने निश्चित छ । झलनाथ खनालले सक्नुभयो भने एमालेले पुनः राष्ट्रिय सहमतिको सरकारका पक्षमा निर्णय गर्दै प्रचण्ड र रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने निर्णय गर्ने स्थिति छ । आफूलाई तटस्थ बताउने एउटा समूहले चाहिँ ६ महिनाका लागि रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने र त्यसपछि खनाललाई प्रधानमन्त्री बनाउन पौडेल लिखित सम्झौताका निम्ति तयार भएमा खनाल र पौडेलबीच सम्झौता गराउने तयारी गरिरहेको पनि बुझिन्छ । यस किसिमको विचार राख्ने तटस्थ समूह सफल भएको अवस्थामा पनि एमाले एउटा सुस्पष्ट निष्कर्षमा पुग्ने र देश तत्कालको अन्योलबाट मुक्त हुने विश्वास गर्न सकिन्छ । तर, खनाल प्रचण्ड र चीनको अनुमतिबिना त्यसप्रकारको निर्णय लिन कति स्वतन्त्र हुनुहोला, यो भने प्रतीक्षाको विषय बनेको छ ।

‘राजा’लाई परिवारबाटै पीडा
संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा भएपश्चात् चुपचाप साधारण नागरिकको जीवन बिताइरहनुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र आफ्नै परिवारका सदस्यहरूको कार्यव्यवहारबाट दुःखी र पीडित हुनुभएको जानकारी प्राप्त हुन आएको छ । खासगरी सुपुत्र पारस र ज्वाइँ राजबहादुर सिंहका कारण उहाँ दुःखी हुनुभएको बुझिएको छ । प्राप्त जानकारीअनुसार ‘राजा’ ज्ञानेन्द्रको कार्यशैली र सोचप्रति तव्रि असन्तुष्टि जनाउँदै पुत्र पारसले आफ्ना सहयोगीहरूको साथ लिई स्वतन्त्र गतिविधि गर्न थाल्नुभएको छ । पूर्वयुवराज पारसको विचारमा ‘पुरानो सोच र शैलीबाट अब कुनै काम हुनेछैन’ त्यसैले उहाँले परिवारभित्रको मात्र होइन सार्वजनिक क्रियाकलापबारेको सामान्य जानकारीसमेत पिता ‘राजा’लाई नगराउने गर्नुभएको बताइन्छ । केही दिनअघि वीरगन्जमा एक मन्दिर उद्घाटनमा पारस जानुभएको जानकारी ‘राजा’ र उहाँका निकटका मानिसहरूले सञ्चारमाध्यमबाट थाहा पाएका थिए । निकटवर्तीहरूका अनुसार ‘राजा’ ज्ञानेन्द्र कुनै प्रकारको भड्किलो व्यवहार कसैबाट नहोस् भन्ने चाहनुहुन्छ, तर छोरा पारस भने गद्दी, सम्पत्ति र सानमान जोगाउन नसक्ने पिता ‘राजा’बाट भविष्य सुरक्षित एवम् सुन्दर हुने विश्वास गर्नुहुन्न । त्यसैले उहाँ आफैं आफ्नै प्रकारले सक्रिय हुन थाल्नुभएको छ । उता ‘राजा’ भने छोराका कारण कुनै दिन अप्रिय परिस्थिति पो सिर्जना हुने हो कि भनी चिन्तित हुनुभएको बताइन्छ । अर्कोतिर आफ्ना एक मात्र ज्वाइँ राजबहादुर सिंहको क्रियाकलापले पनि ‘राजा’लाई हैरान बनाएको जानकारी प्राप्त भएको छ । ज्वाइँको निजी व्यवहार एवम् क्रियाकलाप मर्यादित नभएकोमा चिन्तित ‘राजा’ ज्ञानेन्द्रलाई राजबहादुर सिंहको राजनीतिक क्रियाकलापले थप व्यग्र तुल्याएको बुझिएको छ । राजपरिवारको सम्पत्ति जोगाइदिन ससुरा ‘राजा’ले कुनै भूमिका निर्वाह नगरेको भन्दै रिसाएका राजबहादुर विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष प्रचण्डको नजिक पुगेका छन् र उनले प्रचण्डकै सल्लाहबमोजिम नेपाली जनता दल नामक कुनै एउटा नाङ्ले पार्टीको सदस्यता लिएको बताइन्छ । उक्त दलले सिंहलाई केन्द्रीय सदस्य पनि बनाइसकेको छ । प्रचण्डले आफू प्रधानमन्त्री हुन सकेमा सञ्चारमन्त्री बनाउने वचन राजबहादुरलाई दिनुभएको भन्ने चर्चा बजारमा चलिरहेकोे बेला उनको पार्टी प्रवेशले ‘राजा’लाई समेत अप्ठ्यारोमा पारेको समाचार स्रोतको भनाइ छ । ज्वाइँ राजबहादुरको माओवादीसँगको निकटतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले ‘राजा’ ज्ञानेन्द्रकै चालबाजी या ‘रणनीतिक योजना’का रूपमा बुझेका छन् । चिनियाँ पहलअनुरूप ‘राजा’ र माओवादीलाई एक ठाउँमा ल्याइएको र तत्काल राजबहादुरलाई मात्र ‘एक्स्पोज’ गरेको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ । जब कि समाचार सूत्रको दाबी छ- ‘राजा’ कुनै पनि अवस्थामा माओवादी निकट हुने छैनन्, बरु उहाँ सामान्य नागरिककै रूपमा जीवन बिताउन खुसी-खुसी तयार हुनुहुन्छ । माओवादीसँग कुनै प्रकारको साइनो राख्न नचाहने ‘राजा’ले ज्वाइँका कारण आफ्नो बद्नाम भएको ठानिरहनुभएको छ । यसरी आफ्नो सबैभन्दा नजिकका दुई पारिवारिक सदस्य आ-आफ्नै किसिमले विभिन्न क्रियाकलापमा संलग्न हुन थालेपछि त्यसबाट ‘राजा’ अत्यन्त दुःखी र पीडित हुनुभएको बताइन्छ । भनिन्छ, ‘राजा’ नेपालमा प्रजातन्त्रलाई संस्थागत एवम् सुदृढ तुल्याउन प्रजातान्त्रिक शक्तिहरूबीच बलियो एकताका पक्षमा हुनुहुन्छ । उहाँको चाहनाविपरीत ज्वाइँ माओवादीसँग निकट हुनुलाई उहाँले अत्यन्त आपत्तिजनक एवम् दुःखद् घटना सन्दर्भका रूपमा लिनुभएको छ ।

महाधिवेशन सर्दा नगदको चिन्ता
भदौ १० गतेदेखि सुरु हुने भनिएको नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनको तिथि सारिएपछि पैसाको ‘प्रभाव’ बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ । महाधिवेशन प्रतिनिधिहरूको ठूलो सङ्ख्या सभापतिका सम्भावित उम्मेदवार सुशील कोइरालाका पक्षमा रहने स्थिति देखिएपछि सभापतिका अर्का सम्भाव्य प्रत्याशी शेरबहादुर देउवा चिन्तित बन्नुभएको छ । नेपालका राजनीतिकर्मीहरूमध्ये सर्वाधिक सम्पन्न एवम् नगदी कारोबारमा अग्रणी मानिनुहुने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी महाधिवेशनलाई आफ्नो राजनीतिक जीवनमरणको सवाल बनाउनुभएको छ । त्यसैले देउवा यो महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न जस्तोसुकै कथकण्डा अपनाउन र जतिसुकै खर्च गर्न पनि तत्पर रहनुभएको बताइन्छ । महाधिवेशनको मिति भदौ १० को सट्टा असोज एक गते -पाँच दिनसम्म) लाई निर्धारण गरिएपछि बिनानगदको ‘जोगी राजनीति’ गर्दै आउनुभएका सुशील कोइराला सचेत र गम्भीर हुन पुग्नुभएको छ । महाधिवेशन प्रतिनिधिहरूमा युवाहरूको ठूलो सङ्ख्या विजयी भएर आएको भए पनि कोटा प्रणालीका कारण कतिपय कमजोर मानिसहरू प्रलोभन या प्रभावमा पर्ने हुन् कि भन्ने चिन्ता काङ्ग्रेसमा बढेको हो । कसैले जतिसुकै ठूलो धनराशि खर्च गरे पनि यसपटक सभापतिमा सुशील कोइरालालाई पराजित गर्न सकिने स्थिति छैन । तर, देउवासँग हजारभन्दा कम मतान्तरले सुशीलले विजयी हुनुपर्‍यो भने त्यसको दर्ीघकालीन असर पर्ने र पार्टीमा तनावको स्थिति रहिरहने ठानिन्छ । देउवालाई बलियो बनाउनु भनेको पार्टीमा तनाव बढाउनु र पार्टीलाई पुनः विभाजनको अवस्थामा पुर्‍याउनु हो भन्ने कार्यकर्तापङ्क्तिको धारणा छ । देउवाको पक्षमा एक हजारभन्दा बढी मत परेमा पार्टीभित्र देउवाको फूर्ति यथावत् रहने, जसका कारण पार्टीको आन्तरिक जीवनमा तनावको स्थिति रहिरहने चिन्ता कार्यकर्ताहरूको छ । महाधिवेशनको मिति सर्दा कमजोर प्रतिनिधिलाई प्रलोभन या प्रभावमा पार्न देउवालाई सजिलो हुने ठानिएको छ ।
सभापति पदमा सुशील कोइराला निर्वाचित हुनुहुने निश्चितप्रायः मानिए पनि प्रभावशाली नेता खुमबहादुर खड्काको भूमिकाले निर्णायक प्रभाव पार्ने विश्वास गरिन्छ । कोइरालाले खड्कालाई आफ्नो टिममा सामेल गराउन सक्नुभयो भने निर्वाचन परिणामले धेरै ठूलो छलाङ मार्ने ठानिएको छ । महाधिवेशन प्रतिनिधिहरूको ठूलो सङ्ख्या खड्काको समर्थनमा रहेको हुनाले शेरबहादुर देउवा खड्कालाई आफ्नो पक्षमा मिलाउन भरमग्दुर प्रयास गर्दै हुनुहुन्छ । अहिलेसम्मको देउवाको उक्त प्रयास सफल भइसकेको छैन, तर खड्कालाई नै पार्टीसभापतिको उम्मेदवार बनाउन तत्पर हुनुभएको अवस्थामा भने काङ्ग्रेसभित्रको स्थितिमा नसोचिएको परिवर्तन आउन सक्ने देखिन्छ । खुमबहादुर खड्काले अहिलेसम्म पार्टीको सभापति या महामन्त्री कुन पदमा उम्मेदवारी दिने भन्ने कुराको निर्णय लिइसक्नुभएको छैन । देशभरिको स्थिति विश्लेषण गरिसकेपछि मात्र निर्णय लिने तयारीमा खड्का रहनुभएको बताइन्छ । उहाँले सभापतिमा कठोर प्रतिस्पर्धा गर्नुपर्ने स्थिति देखिए पनि महामन्त्री पदमा उम्मेदवारी दिएको अवस्थामा भारी मतले विजयी हुने निश्चित मानिन्छ ।
नेपाली काङ्ग्रेसमा सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवा वरिष्ठताका दृष्टिले अगाडि रहनुभएको भए पनि नेताहरू खुमबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, भीमबहादुर तामाङ, डा. रामशरण महत र अर्जुननरसिंह केसी तथा लक्ष्मणप्रसाद घिमिरे, पूर्णबहादुर खड्का, डा. नारायण खड्का, गोपालमान श्रेष्ठ, गोविन्दराज जोशीलगायत युवापुस्ताका केही प्रभावी व्यक्तिहरूलाई विश्वासमा नलिइकन पार्टी सञ्चालनमा कठिनाइ उत्पन्न हुनसक्ने ठानिन्छ । यस महाधिवेशनमा पनि नयाँ पुस्ताको सर्वाधिक महत्त्वपूर्ण भूमिका रहने ठानिएको छ । पार्टीको केन्द्रीय समितिमा केही पदहरू थप गरेर भए पनि सक्रिय एवम् प्रभावी नेताहरूलाई ‘एड्जस्ट’ गर्नु उपयुक्त हुने काङ्ग्रेसका शुभचिन्तकहरूको धारणा छ । आगामी महाधिवेशनमा सदस्यबाहेकका पदमा सीमित व्यक्तिबीच प्रतिस्पर्धा हुने स्थिति रहे पनि केन्द्रीय कार्यसमितिको सदस्य पदका निम्ति भने देशभरिका तीन सयभन्दा बढीको उम्मेदवारी पर्ने अनुमान छ । अहिलेसम्म शोभाकर पराजुली, चन्द्र भण्डारी, हरि अधिकारी, केशवराज कँडेल, नवीन्द्रराज जोशी, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, रामहरि खतिवडा, दीपक गिरी, गोविन्द भट्टराई, शंकर भण्डारी, किशोरसिंह राठौर, अमरेशकुमार सिंह, अजय चौरसिया, रामकृष्ण यादव, जगदीश्वरनरसिंह केसी, महेन्द्र यादव, अजय द्विवेदी आदिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनसक्ने बताइएको छ । तर, नयाँ र युवा पुस्ताका सयौं व्यक्तिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन सक्ने सम्भावना रहेको छ ।

जसका पनि सेना †
सममुक्ति पार्टीका लागि भन्दै सैन्य भर्नाको घोषणा गरिएकै दिन मंगलबार उक्त पार्टीका अध्यक्ष ठाकुरचन्द्र गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । गहतराजलाई मंगलबार बेलुका हनुमानढोकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बुझिएको छ । शान्तिप्रक्रियामा सामेल भएको भनिएको माओवादीले लडाकु भर्ना गर्ने घोषणा गरेपछि सममुक्ति नामक पार्टीले पनि मंगलबार लडाकु भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रेस विज्ञप्तिमार्फत सेना भर्नाका लागि दरखास्त आह्वान गरेको जनाउँदै राष्ट्रिय सममुक्ति पार्टीको सैन्य दस्ताका रूपमा सममुक्ति सेना रहेको पनि उल्लेख गरिएको छ । सैन्य संरचना पहिल्यै भइसकेको र थप सेना भर्तीका लागि दरखास्त आह्वान गरिएको बताउँदै प्रतिस्पर्धात्मक प्रणालीद्वारा सेना लिइने पनि विज्ञप्तिमा जनाइएको छ ।
सेनाको उमेरको हदमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको स्वतन्त्र युवा-युवती हुनुपर्ने र योग्यताका हकमा ८ कक्षा पास गरेको र न्यूनतम उचाइ ५ फिट हुनुपर्ने तथा शारीरिक सुगठन र निरोगी हुनुपर्नेसमेत उल्लेख छ । कुनै पनि सैन्य दस्ताबाट विद्रोह गरी आउने द्वन्द्वपीडित सेना, प्रहरी, अवकाश प्राप्त नेपाली, भारतीय र बेलायती सुरक्षा फौजमा अनुभव भएकालाई ग्राह्यता दिने पनि उल्लेख छ । विज्ञप्तिमा भनिएको छ- तलब स्केल सममुक्ति सेनाको नियमानुसार हुने र सेना छनोट गर्दा जातीय सङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वअनुरूप सर्वहारा दलित २५ प्रतिशत, मंगोल जनजाति ४० प्रतिशत, क्षेत्री १५ प्रतिशत, सीमान्तकृत पिछडा समुदाय १५ प्रतिशत र मुसलमान ५ प्रतिशत लिइनेछ । मधेसी र महिलाका हकमा ४० प्रतिशत कोटा निर्धारण गरिनेछ ।
सैन्य प्रवक्ता रवि क्षेत्री र चिफ कमान्डर श्याम तामाङका नामबाट जारी गरिएको आह्वानमा दरखास्त पेस गर्ने अवधि आगामी भदौ २ गतेदेखि असोज २ गतेसम्म तोकिएको छ । यसैगरी भर्ना केन्द्रमा सगरमाथा, जनकपुर, नारायणी, बागमती, गण्डकी, लुम्बिनी, राप्ती र सेती तोकिएको छ ।

माओवादी बैठकमा श्यामशरण †
अरूको पार्टी फुटाउन योजनाबद्ध प्रयासमा तल्लीन रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले अब आफ्नै पार्टीभित्र विवाद र तनावको सामना गर्नुपर्ने भएको छ । प्रधानमन्त्रीमा विजयी बन्ने निश्चित नभई अध्यक्ष आफैं उम्मेदवार बन्न हुँदैनथ्यो भन्ने माओवादी नेता तथा कार्यकर्ताहरूको भनाइ रहेको छ । प्रधानमन्त्री चुनावको समीक्षा हुने क्रममा प्रचण्डको व्यापक आलोचना हुनसक्ने ठानिएको छ । त्यस्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत श्यामशरणसँग सामूहिक रूपमा भेटघाट गरिसकेपछि छुट्टै गोप्य भेटघाट गरेको विषयलाई वरिष्ठ नेता मोहन वैद्यलगायतले निकै गम्भीरताका साथ लिएका छन् । यस सम्बन्धमा प्रचण्ड र बाबुराम दुवैले पार्टीलाई स्पष्टीकरण दिनुपर्ने निश्चित मानिएको छ । प्रचण्डले श्यामशरणलाई आफूले छुट्टै र गुप्त भेट नगरेको बताउँदै आउनुभएको छ । तर, उहाँले शरणलाई द्वारिका होटलमा गुप्त रूपले भेटेको खुलासा भइसकेको छ । यस प्रकरणलाई लिएर डा. बाबुरामका आलोचकहरूले उहाँको तेजोबध गर्ने योजना बनाएका छन् । भट्टराईले आफ्नो बेग्लै भेटघाट भएको स्वीकार गर्दै छलफलमा आएका विषयबारे पार्टीलाई जस्ताको त्यस्तै जानकारी गराउन तयार रहेको जनाउनुभएको बताइन्छ । माओवादी बैठकमा भावी सरकारको नेतृत्वबारे पनि व्यापक छलफल हुने बुझिएको छ । सरकारको नेतृत्व लिन पार्टीभित्रबाट विकल्प दिने या बाहिरबाट भन्ने विषयमा पनि माओवादीमा गम्भीर बहस हुने स्थिति छ । प्रचण्ड आफ्नो विकल्पमा एमाले
अध्यक्ष झलनाथ खनाललाई प्रस्तुत गर्ने सोचमा हुनुहुन्छ । प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न छिमेकी मित्रराष्ट्र भारतको समेत सहयोग प्राप्त गर्ने कोसिसमा रहेको माओवादीले श्यामशरणको नेपाल भ्रमणपश्चात् आफूलाई भारतीय सद्भाव प्राप्त हुने आशा मारेको छ । भारतका कारण आफूलाई सरकार गठन गर्ने सफलता प्राप्त हुन नसकेको निष्कर्षमा पुगेको माओवादीले अब फेरि ‘राष्ट्रियताको आन्दोलन’ गर्ने सङ्केतहरू प्राप्त भएका छन् । राष्ट्रियताको नाममा भारतविरुद्धको आन्दोलनलाई तेज तुल्याउन सक्दा मात्रै माओवादी राजनीतिलाई बल पुग्ने धारणा माओवादी नेताहरूले प्रकट गर्न थालेका छन् । भारतविरुद्धको आन्दोलन अघि बढाउनका लागि पृष्ठभूमि तयार गर्न माओवादीले सभासद् रामकुमार शर्मा प्रकरणलाई उछालेको छ । भारतीय राजदूतावासद्वारा सञ्चालित केन्द्रीय विद्यालयमा आफ्नी छोरीको शिक्षादीक्षा गराइरहेका शर्माले दूतावासका कन्सुलरद्वारा आफूलाई धम्की दिइएको सार्वजनिक गरेका छन् र त्यसैलाई आधार बनाएर माओवादीले भारतविरोधी आन्दोलन अघि बढाउने सोच बनाएको छ । भारत लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनका पक्षमा दृढतापूर्वक उभिने बुझेपछि माओवादीले श्यामशरणको नेपाल आगमनलाई पनि हस्तक्षेपका रूपमा परिभाषित गर्न चाहेको छ । शरणको भ्रमणबाट माओवादी लाभान्वित हुने स्थिति बनेको भए माओवादीहरू यसलाई हस्तक्षेप मान्न किमार्थ तयार नहुने विश्लेषकहरूको धारणा छ । माओवादी बैठक भारतीय भूमिकाविरुद्ध केन्द्रित रहने र ‘राष्ट्रियताको’ आन्दोलनमा जाने निर्णयमा पुग्ने सम्भावना बढेको छ ।

कास्की काङ्ग्रेसमा चुनावी रन्को
पोखरा । नेपाली काङ्ग्रेसको आसन्न बाह्रौं महाधिवेशनका लागि क्षेत्रीय अधिवेशनहरू सम्पन्न गरी जिल्लाको नेतृत्व लिन नेताहरू लागिपरेका छन् । केन्द्रीय कार्यक्रमअनुसार देशभर भोलि २७ गते बिहीबार हुने जिल्ला अधिवेशनका लागि कास्की काङ्ग्रेसमा यतिबेला तीनजना नेताले जिल्ला सभापतिमा दाबी गरेका छन् । यसरी आफूलाई सभापतिको दाबेदार तुल्याउनेहरूमा वर्तमान सभापति यज्ञबहादुर थापा, महासमिति सदस्य रामचन्द्र त्रिपाठी र जिल्ला सचिव पोषनाथ शर्मा रहेका छन् ।
अधिवेशनको पूर्वसन्ध्यमा पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्व केन्द्रीय सदस्य एवम् पूर्वसांसद कृष्णबहादुर गुरुङ, पूर्वराज्यमन्त्री महादेव गुरुङ, पुराना नेता खेमराज पौडेल, वर्तमान सहसभापति शोभियत अधिकारीलगायतका नेताहरू सक्रिय भएर लागेका छन् । उनीहरूले बौद्धिक व्यक्तित्व महासमितिका सदस्य रामचन्द्र त्रिपाठीलाई समर्थन गर्ने बताइसक्नुभएको छ । त्यसैगरी काङ्ग्रेस नेता गञ्जमान गुरुङ, महासमिति सदस्य मुक्ति केसी, शारदा पौडेल, संविधानसभाका प्रत्याशी बिन्दादेवी रानामगर, कोषाध्यक्ष ऋषि सापकोटा, महाधिवेशन प्रतिनिधि एवम् नेविसङ्घका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद बराल, निर्वाचित जिल्ला सदस्य मनोज गुरुङलगायतका युवा नेताहरूले त्रिपाठीको उम्मेदवारीलाई साथ दिने भएका छन् । सभापतिका प्रत्याशी त्रिपाठी काङ्ग्रेस संसदीय दलका नेता एवम् वरिष्ठ उपसभापति रामचन्द्र पौडेल निकट मानिन्छन् । त्रिपाठीले आफ्नो उम्मेदवारी शान्ति र संविधानलेखनमा दबाब दिन, द्वन्द्वकालमा भत्किएको काङ्ग्रेसको सङ्गठनलाई मजबुत गरर््र्ने र काङ्ग्रेसीगढलाई पुनर्स्थापित गराएरै छाड्नेतर्फ आफू केन्द्रित रहने उद्घोष गर्नुभएको छ । उहाँले चाकडी र चाप्लुसीको भरमा नभई क्षमताका आधारमा कार्यकर्ताबाट मूल्याङ्कन हुने बताउनुहुँदै अब पनि लोकतन्त्र बलियो भएन भने नेपालीको भविष्य अन्धकार रहने हुँदा सच्चा लोकतन्त्रवादीलाई विजय गराउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।
सभापतिका अर्का प्रत्याशी यज्ञबहादुर थापा भने आफ्नो कार्यकालमा नै पार्टी एकीकरण भएको र सबैलाई निरि्ववादित ढङ्गबाट लानुपर्ने अवस्थाकाबीच पार्टी सङ्गठनलाई मजबुत बनाउन केही अधुरा कामहरू बाँकी रहेका कारण पनि आफ्नो उम्मेदवारी आएको बताउनुहुन्छ । सभापतिका अर्का प्रत्याशी पोषनाथ शर्मा कमजोर सङ्गठन मजबुत बनाएर लैजाने र २१औं शदाब्दीको काङ्ग्रेसलाई ऊर्जाशील बनाउने, काङ्ग्रेसमा दोस्रो पुस्ताको प्रतिनिधित्व र निष्ठा र इमान्दारीको अब पालो आयो भन्ने सन्देश दिनका लागि पनि आफ्नो उम्मेदवारी आएको बताउनुहुन्छ । शर्मालाई पार्टीका आमन्त्रित सदस्य, पूर्वसभापति एवम् पूर्वसांसद शुक्रराज शर्माले साथ दिनुहुने भएको छ । कास्की काङ्ग्रेसको सङ्गठन आफ्नो पक्षमा राख्न सक्ने क्षमताका मानिएका शुक्रराज शर्मा आफैंले देखेकोभन्दा पनि चाकडी बजाउनेहरूले लगाएको कुरामा बढी विश्वास गर्ने गरेका कारण पनि उहाँ केही कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । तर, शर्मालाई यसपटक जुनसुकै हालतमा पनि केन्द्रीय सदस्यमा उम्मेदवार बनाइनुपर्ने आवाज कास्की काङ्ग्रेसबाट आएको छ । शुक्रराज शर्मा हाल पार्टी गतिविधिमा भन्दा पनि धार्मिक काममा व्यस्त रहनुभएको छ । उहाँको सक्रियता बढ्नासाथ पोषनाथ शर्माले विजय हासिल गर्ने जिल्ला सदस्य युवराज कुँवरले दाबी गर्नुभएको छ । उता पत्रकारिता जगत्बाट लोकतन्त्रको पक्षमा उभिँदै आएका पत्रकार गंगाधर पराजुलीले कास्की काङ्ग्रेसको सचिव पदमा उम्मेदवारी दिने भएका छन् भने कोषाध्यक्षमा तरुण नेता दिवसमान प्रधानाङ्ग उठ्दै छन् । त्यसैगरी सचिव पदमा काङ्ग्रेसमा रहेर लामो समय क्षेत्रीय सभापति गरिसक्नुभएका कृष्ण केसीले पनि उम्मेदवारी दिनुहुने भएको छ ।

धादिङमा रामनाथ र वासु भिड्ने
भोलि २७ गते बिहीबार देशव्यापी रूपमा सम्पन्न हुन गइरहेको नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्व लिन चाहने काङ्ग्रेस नेताहरूबीच तीव्र होड देखिएको छ । यस्तै प्रतिस्पर्धा धादिङ काङ्ग्रेसमा पनि देखिएको बताइएको छ । धादिङ जिल्ला सभापतिका लागि वर्तमान सभापति रामनाथ अधिकारीले पुनः दाबेदारी प्रस्तुत गरिरहनुभएकै परिवेशबीच जिल्लाका प्रभावशाली कतिपय नेताहरू जिल्ला कार्यसमितिका पूर्वसचिव वासु तिमल्सिनालाई सभापतिको प्रत्याशीका रूपमा खडा गर्न सहमत भएका छन् । ०३५/३६ को विद्यार्थी आन्दोलनदेखि राजनीतिमा प्रवेश गरेका तिमल्सिना एक बौद्धिक युवानेताका रूपमा परिचित हुनुहुन्छ भने जिल्ला सङ्गठनमा दर्बिलो पकड राख्ने नेताका रूपमा चिनिनुहुने पूर्वसांसद रामनाथ अधिकारी पनि जिल्लामा लोकप्रिय हुनुहुन्छ ।

प्रचण्ड छोडी मातृकाको ओतमा
नेतृत्वमण्डली दक्षिणपन्थी संशोधनवादी बाटोमा फसेको भन्दै एकीकृत नेकपा -माओवादी)का जिल्लास्तरीय नेतालगायतका कार्यकर्ताहरू मातृका यादवले नेतृत्व गरेको नेकपा -माओवादी)मा प्रवेश गरेका छन् । यसरी प्रचण्डनेतृत्वको माओवादी छोडेर मातृका-माओवादीमा प्रवेश गर्नेहरूले ‘एकीकृत नेकपा -माओवादी) नेतृत्वमण्डली प्रतिक्रियावादीहरूसँग साँठगाँठ गरी भोगविलास र मोजमस्तीतिर लागेको’ र ‘सर्वहारा वर्गको मुक्ति उक्त पार्टीबाट सम्भव नरहेको’ किटान गर्दै विद्रोह गरेको बताएका छन् ।
नवप्रवेशीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘नेकपा -माओवादी)ले महान् जनयुद्धका मागहरूलाई छोडेकाले अब उप्रान्त उक्त पार्टीमा बसिरहँदा सर्वहारा वर्गको क्रान्ति पूरा भई नयाँ जनवादी राज्य व्यवस्था स्थापना नहुने ठहर गर्दै हामीहरू एकीकृत -माओवादी)बाट विद्रोह गरी नेकपा -माओवादी) पार्टीमा प्रवेश गरेका छौँ । एकीकृत माओवादीबाट विद्रोह गरी नेकपा -माओवादी)मा प्रवेश गर्नेहरूमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट पार्टी डीसीएम अष्टबहादुर गुरुङ, सोही निर्वाचन क्षेत्रका एसीएम यज्ञराज खरेल, दानबहादुर बुढाथोकी र विष्णुबहादुर अधिकारी रहेका छन् भने दोलखाका धीरज खड्का र भुपाल बोगटी मातृकाको छहारी खोज्दै माओवादीमा प्रवेश गरेका छन् ।

शरणार्थीको बोल्टन यात्रा
३७ भुटानी शरणार्थी गत सोमबार काठमाडौंबाट बेलायतका लागि प्रस्थान गरेका छन् । यस अवसरमा इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन -आईओएम)को स्थानान्तरण केन्द्र भ्रमण गर्दै बेलायती चार्ज डे’अफेयर्स सोफिया विलिट्स् किङले अन्य देशबाट आएका मानिसलाई स्वागत गर्ने बेलायतको लामो इतिहास रहेको उल्लेख गर्दै यसले प्रदान गर्नेे विविधताले बेलायतलाई बलियो बनाएको अभिव्यक्ति दिनुभयो । उहाँले भन्नुभयो, ‘वर्षौंको अनिश्चिततापछि नयाँ जीवन सुरु गर्न बेलायत जान लागेका शरणार्थीलाई भेट्नु उत्साहप्रद हो, उहाँहरू नयाँ आतेथ्य समुदायसँग राम्ररी घुलमिल हुनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु र बेलायतमा उहाँहरूको सम्पूर्ण सफलताको कामना गर्दछु ।”यो परियोजनामा सहभागी हुँदा जो-कोहीलाई अत्यन्तै सन्तोषको अनुभूति हुन्छ,’ आईओएमका नेपाल मिसन प्रमुख शरत दासले भन्नुभयो, ‘यी शरणार्थीलाई जीवनमा नयाँ सुरुवात गर्न सहयोग गरेकोमा आईओएम गौरवान्वित छ ।’

रौतहटको शिक्षा कार्यालयको बैंक खाता रोक्का
गौर । रौतहटको शिक्षाक्षेत्रलाई नै कलङ्कित तुल्याउने गरी जिल्ला शिक्षा कार्यालय रौतहटमा भएको अनियमितताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहट तथा शिक्षा विभाग काठमाडौंले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेको छ । तर, यसरी अनुसन्धान सुरु भइसक्दा पनि शिक्षा अधिकारी अब्दुल रउफ खाँ भने र्सलाहीमा लुकेर शिक्षा माफियासँग आमोदप्रमोदमै मस्त रहेको समाचार स्रोतले बताएको छ । भूमिगत शैलीमा र्सलाही बसेर उनले पुनः पीसीएफ कोटा वितरण गर्न लागे पनि त्यो सफल हुुन नसकेको बताइएको छ ।
जिल्ला शिक्षा अधिकारी खाँलाई अनैतिक काम गर्न उकास्ने जिल्ला शिक्षा कार्यालय गौरका नायव सुब्बा उपेन्द्र सिंहसमेत यतिबेला जिल्ला छाडेर भूमिगत भएका छन् । जिल्ला शिक्षा कार्यालयमा भएको अनियमितताको समाचार घटना र विचारले शृङ्खलाबद्ध रूपमा प्रकाशन गरेपछि रौतहटका शिक्षा माफियाबीच खैलाबैला मच्चिएका कारण ढिला भए पनि जिल्ला प्रशासन कार्यालय गौरले उक्त कार्यालयको बंैकखाता रोक्का गरेको छ ।
विद्यालयलाई भौतिक पूर्वाधारको रकम निकासा गर्दा अनियमितता गरेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ । त्यसैगरी विभागबाट आएको एक टोलीले पनि पीसीएफ कोटा तथा विद्यालयका लागि वितरण भएको ब्लक सम्बन्धमा आवश्यक कागजातहरू कब्जामा लिएर अनुसन्धान गरिरहेको छ भने संयुक्त शिक्षक सङ्घर्ष समितिले दोषी जिशिअ खाँप्रति कडा कारबाही तथा वितरण भएको कोटा र ब्लक वितरणको निर्णय खारेज हुनुपर्ने माग राख्दै गत साउन १८ गतेबाट अनिश्चितकालीन कार्यक्रम गरिरहेका छन् ।
शिक्षकहरू धर्नामा बसेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रशासकीय अधिकृत वसन्त न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरी कार्य प्रारम्भ गरेको छ । टोलीमा शिक्षा कार्यालयका शाखा अधिकृत नन्दकिशोर गुप्ता, प्लान नेपालका इन्जिनियर राजकिशोर मल्लिक, गन्धेश्वर सिंह र सुदामा यादव रहेका छन् । समितिले एक साताभित्र प्रतिवेदन पेस गर्ने भएको छ । समितिको प्रतिवेदनपछि दोषी देखिएमा शिक्षा अधिकारी खाँलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो ।
गत असार १५ गते शिक्षा अधिकारी खाँले भौतिक निर्माण कार्यअन्तर्गतको समितिमार्फत नेपाल सरकारको नीति-नियमविपरीत कमिशनको प्रलोभनमा सञ्चालनमै नआएका विद्यालयलाई समेत मर्मत-सम्भार भन्दै रकम जथाभावी रूपमा निकासा दिएपछि शिक्षकले अनियमितताको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा असार २७ गते उजुरी दर्ता गराएका थिए । उजुरीको छानबिन नभएको भन्दै शिक्षकहरू गत मंगलबारदेखि प्रशासन कार्यालयमा धर्नामा बसेको संयुक्त शिक्षक सङ्घर्ष समितिका सदस्य सुदामा यादवले बताएका छन् । शिक्षा अधिकारी खाँले सार्वजनिक सूचना प्रकाशित नगरीकनै २२ वटा विद्यालयलाई चारकोठे पक्की भवन निर्माणका लागि आठ लाख २५ हजार रुपैयाँको दरले, ३९ वटा विद्यालयलाई दुईकोठे भवन निर्माणका लागि चार लाख ३५ हजारका दरले यस्तै ७५ वटा विद्यालयलाई मर्मतका लागि एक लाखको दरले र बाहिरी वातावरणका लागि भन्दै एक लाख ५० हजारको दरले कमिशन लिएर रकम निकासा दिएको शिक्षक मणिशङ्कर निधिले बताए ।
शैक्षिक माफियाहरूको जालोमा फस्दै गएको रौतहटको शैक्षिक क्षेत्रलाई सुधार्न दर्ीघकालीन उपायबिना असम्भवजस्तै भएको छ । विद्यालयमा चरम राजनीति हावी भएका कारण सरकारी विद्यालयको शैक्षिक अवस्था नाजुक अवस्थामा पुगेको छ भने कतिपय विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरूका लागि दुुहुनो गाईजस्तै भएका छन् ।

अधिकारीमाथि अनौठो आरोप
पार्टीको नामलाई अगाडि सारेर पटक-पटक व्यक्तिगत लाभ लिने प्रयास गरेको सप्रमाण फेला परेपछि तीन महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बनमा परेका कृष्ण अधिकारी -रवि)लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले थप गम्भीर आरोप लगाएको छ । पार्टीको नीति र नैतिकताविपरीत लामो समयदेखि कार्य गर्रर्र््दर्ै आएको आक्षेप लाग्दै आएका कृष्ण सच्चिनुको साटो साथीहरूको चरित्र हत्या गर्ने, पार्टीको रणनीतिक महत्त्व राख्ने गोपनियताहरू चुहाइदिने, पार्टी र पार्टीनेताहरूप्रति जनमानसमा भ्रम पैदा गर्ने कार्यमा निरन्तर संलग्न रहेको दाबी सो पार्टीका महासचिव मणि थापाले गरेका छन् । उनी सच्चिएर आउने छन् भन्ने विश्वास पार्टीले गरेको तर उनी पार्टीप्रति नै प्रतिशोधको भावनाले उत्रिएकाले उनको भण्डाफोर गर्नुपरेको महासचिव थापाको कथन छ ।
उनका अनुसार रवि निरन्तर रूपमा गृहमन्त्री भीम रावल, रक्षामन्त्री विद्या भण्डारी, पूर्वप्रधानसेनापति कटवाल र शाही शासनकालका मन्त्री कमल चौलागाईंको सर्म्पर्कमा रहँदै आएका थिए । तर, सो को जानकारी पार्टीलाई नदिई उल्टै त्यो कुरा लुकाउने प्रयत्न गर्दथे । पार्टीको रणनीतिक महत्त्व राख्ने संवेदनशील सूचनाहरू विभिन्न पत्रपत्रिकामार्फत छरपष्ट पारेको र पार्टीलाई अत्यन्तै नजिकबाट सहयोग पुर्‍याएका मुमाराम खनालको व्यक्तिगत चरित्र हत्यामा उत्रिएर सामान्य राजनीतिक मूल्यमान्यता र मानवीय सम्बन्धप्रतिसमेत गम्भीर विश्वासघात गरेको आक्षेप पनि अधिकारीमाथि लगाइएको छ । महासचिव थापाले उल्लिखित कमजोरीहरू रहँदारहँदै पनि कृष्ण अधिकारीको जीवनमा परिवर्तन आओस् भन्ने कामनासमेत गरेका छन् । एक प्रेसविज्ञप्तिमार्फत उनले भनेका छन्, ‘आफ्ना गल्ती-कमजोरीलाई सच्याउँदै पुनः पार्टी जीवन सुरु गरून् । तर, उनले पार्टी र क्रान्तिलाई बद्नाम गर्न छोडेर पार्टीविरोधी गिरोहसँग सम्बन्धविच्छेद गरेनन् भने हाम्रो होइन उनकै राजनीतिक जीवन बर्बाद हुनेछ । उनले पार्टीविरोधी गतिविधि निरन्तर जारी राखे भने त्यसको निरन्तर भण्डाफोर गर्नुपर्ने आवश्यकता र बाध्यता दुवै हुनेछ ।’

एमाले त्यागेर सद्भावना प्रवेश
मधेस, मधेसी र सङ्घीयताप्रति पार्टीले उदासीनता देखाएको आरोप लगाउँदै नेकपा एमालेका समर्थकहरू सद्भावना पार्टीमा प्रवेश गरेका छन् । लामो समयदेखि एमालेमा आबद्ध रहे पनि उल्लिखित विषयमा उदासीनता र भेदभावपूर्ण व्यवहार देखाएकोले मधेसको पुरानो पार्टी सद्भावनामा प्रवेश गर्नुपरेको नवप्रवेशीले बताएको सद्भावनाका प्रवक्ता रामनरेश रायले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सद्भावनाका राष्ट्रिय अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतो, बिनाविभागीयमन्त्री लक्ष्मणलाल कर्ण, उपाध्यक्ष नरसिंह चौधरी, सहमहासचिव मनिषकुमार सुमनलगायतका पदाधिकारीले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो । यसरी सद्भावना प्रवेश गर्नेहरूमा कैलालीका प्यारेलाल राना, शंकरसिंह राना, लालताप्रसाद राना, रूपन्देहीका रामनारायण चौधरी, नेत्र पाण्डे र अख्तर अहमद खाँ रहेका बताइएको छ ।

यसरी पनि हराए डाक्टर
एउटा डाक्टरको अपहरणको घटना सेलाउन नपाउँदै जनकपुरमा ख्यात्रि्राप्त डाक्टर विजयकुमार सिंहको अपहरण भएको हल्लाले गत साता जनकपुरमा हलचल ल्यायो । तर, २४ घन्टा नबित्दै प्रहरीले धनुषाकै सखुवा महेन्द्रनगरबाट एक युवतीका साथ डाक्टर सिंहलाई नियन्त्रणमा लिएपछि अपहरणको आशङ्काबाट त्रसित स्थानीयवासीले राहतको श्वास मात्र नफेरी डाक्टरको अनौठो व्यवहारका कारण ज्रि्रै टोकेर आश्चर्य माने ।
प्रहरी सूत्रका अनुसार डा. सिंह ज.१च ३६९ नम्बरको आफ्नो निजी कार लिएर गत शनिबार ३ बजेतिर जरुरी बैठकको वहाना बनाएर घरबाट निस्किए । बाटोमा कतै उनले केसी थरकी एक युवतीलाई लिफ्ट दिए जो एमबीबीएस गरी जानकी मेडिकलमा इन्टर्नसिप गरिरहेकी छिन् । डाक्टरले साँझतिर नोकरलाई फोन गरी घरमा खाना नबनाउने आदेश दिए र मोबाइलको स्विच अफ गरिदिए । फोनको स्विच आइतबार बिहानसम्म पनि बन्द नै रहेपछि घर-परिवार र आफन्तहरूले डाक्टरको अपहरण भएको आशङ्का गरे, यसरी शङ्का गरिनु अस्वाभाविक पनि थिएन । यसपछि उनीहरू सम्बन्धित निकायलाई गुहार्न पुगे । प्रहरी महानिरीक्षक, गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म खबर पुगेपछि सुरक्षायन्त्र चलायमान भयो र धनुषा प्रहरीको टाउको दुखाइ सुरु भयो, फलतः प्रहरी सक्रियता बढ्यो । खोजतलासका क्रममा सखुवा महेन्द्रनगरनजिकै प्रहरीले डा. सिंह र उनकै विद्यार्थी युवती सवार गाडी फेला पार्‍यो । तर, रोक्न खोज्दा नरोकेपछि पिछा गरेर नियन्त्रणमा लिन प्रहरी बाध्य भयो । त्यसपछि दुुवैलाई भ्यानमा राखी जिल्ला प्रहरीमा पुर्‍याइएको प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको कथन छ । डाक्टर सिंहले एसपीको कार्यकक्षमा रहँदा सञ्चारकर्मीहरूसँग केही बोल्न चाहेनन् । प्रहरी उपरीक्षक खनालले सोधपुछ गरेपछि उनी शिर निहुराएर घरतिर लागेका थिए भने मेडिकल छात्रालाई उनकै कलेजका सहपाठीले होस्टलतिर लगेका थिए । डा. सिंह एक मधेसवादी दलका केन्द्रीय सदस्य, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष र जनकपुर एफएमका सञ्चालकसमेत रहेका छन् भने मेडिकल कलेजका कर्मचारीहरू यतिखेर डाक्टर-युवती प्रसङ्ग विगत ६ महिनादेखि नै चल्दै आएको बताउन थालेका छन् ।

दोस्रो संस्करण बजारमा
बबिता बस्नेतद्वारा लिखित कथासङ्ग्रह ‘सम्बन्धहीन सम्बन्धहरू’को दोस्रो संस्करण बजारमा आएको छ । प्रकाशित भएको केही समयमै बजारमा सकिए पनि आफ्नो व्यावसायिक व्यस्तताका कारण दोस्रो संस्करण ढिलो भएको उहाँले बताउनुभएको छ । १५ वटा कथा सम्मिलित ‘सम्बन्धहीन सम्बन्धहरू’को दोस्रो संस्करणका बारेमा कथाकार बस्नेतले लेख्नुभएको छ- मैले सुनेकी थिएँ साहित्यिक पुस्तकहरू बिक्री हँुदैनन्, आत्मसन्तुष्टिका लागि लेख्ने हो, तर मेरो कथासङ्ग्रहको बिक्रीले मैले सुनेको उक्त कुरालाई गलत साबित गरिदियो । गलत सुनाइ र बुझाइबाट जीवनमा पहिलोपल्ट म उत्साहित भएकी छु । अझ यो पुस्तकका बारेमा मैले प्राप्त गरेका कतिपय प्रतिक्रिया बिक्री, पैसा या यस्तै अन्य केही कुरासँग तुलना नै गर्न नसक्ने र नमिल्ने प्रकारका छन् ।
म्याग लाइब्रेरीले प्रकाशन गरेको उक्त कथासङ्ग्रहको वितरण पैरवी बुक हाउसले लिएको छ । कथासङ्ग्रहमा पत्रकारकी पत्नी, राजकुमारी सम्पदा, सम्बन्धहीन सम्बन्धहरू, क्षतिपूर्ति, घर, क्यामेराम्यान, हाम्रो आन्दोलन जारी छ लगायतका कथाहरू समेटिएका छन् । विभिन्न मुलुकहरूको भ्रमण अनुभवका बारेमा लेखिँदै गरेको नियात्रा उहाँको प्रकाशोन्मुख कृति हो ।

सशस्त्रद्वारा करोडौँ मूल्यका काठ बरामद
सशस्त्र प्रहरी टोलीले झापाको बुधबारे गाविसका विभिन्न स्थानबाट एक करोड रुपैयाँबराबरको सालको काठ बरामद गरी जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफ टोली र स्थानीय वन कार्यालयका कर्मचारीले उक्त काठ गत सोमबार साँझ बरामद गरेका हुन् ।
यसैगरी मोरङको पथरीबाट एपीएफ टोलीले अवैध काठसहित काठ चोरीनिकासीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । ना.२त ९५८१ नम्बरको ट्याक्टरमा लैजाँदै गरेको करिब २० क्युबिक फिट सालको चिरान काठसहित स्थानीय पथरी ५ बस्ने खगेन्द्र फुँयाललाई सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी तथा सामुदायिक वन कार्यालयका कर्मचारीले पक्राउ गरेका सशस्त्र प्रहरीले जनाएको छ ।

एघार सयलाई निःशुल्क सेवा
अमाइबेल्हा, सुनसरी । कोसी अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारको अगुवाइमा भइरहेको स्वास्थ्य अभियानअन्तर्गत गत शनिबार सुनसरीको अमाइबेल्हामा एक हजार एक सय सर्वसाधारणलाई निःशुल्क उपचार र औषधि वितरण गरिएको छ । तीन महिनायता डा. रौनियारले गरेको यो छैटौँ शिविर हो । डा. रौनियारको पहलमा यसअघि पाँच हजारभन्दा बढीलाई स्वास्थ्य सेवा दिइएको थियो । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा भएको शिविरमा अमाइबेल्हाबाहेक रामगन्ज बेलगछीया, चिमडी, रामगन्ज सिनवारीलगायतका गाउँबाट सर्वसाधारण उपचार गर्न आएका थिए ।
कोसी अञ्चल अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियार चिकित्सकहरू पैसामुखी हुने गरेको आरोप लागिरहेको बेला आफूले विभिन्न स्रोत जुटाएर अभियान चलाएको बताउनुभयो । शिविरमा चिकित्सक अमोद थापा, राकेश कर्णलगायतले उपचार गरेका थिए । उनीहरूलाई सन्तोष रौनियारलगायतले सहयोग गरे । कार्यक्रममा शिविर सञ्चालन व्यवस्थापन बोर्डका गोविन्द लुइँटेलले अबको कार्यक्रम कारागारका कैदीबन्दी, वृद्धाश्रमका बुढापाका, अनाथआश्रमका बालबच्चा, मुस्लिम र आदिवासी बस्तीमा शिविर गरिने जानकारी दिए ।

सशस्त्र प्रहरीको काम प्रशंसनीय
सशस्त्र प्रहरी बल प्रधान कार्यालयद्वारा आयोजित तीनदिवसीय तालिम सम्मेलनको समापनका अवसरमा गृहमन्त्री भीमबहादुर रावल र गृहसचिव डा. गोविन्द कुसुमले सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाको जमेर प्रशंसा गरे । देशभरका सशस्त्र प्रहरी बलका बाहिनी, गण, सीमा सुरक्षा कार्यालय, गुल्मलगायतका एपीएफ इकाइहरूका प्रमुखहरूको सहभागिता रहेको सो अवसरमा गृहमन्त्री भीमबहादुर रावलले सशस्त्र प्रहरी बलले अपराध नियन्त्रण तथा सीमा सुरक्षालगायतको गहन जिम्मेवारी पूरा गरिरहेकोले बललाई आवश्यक सेवासुविधासहित साधनस्रोत सम्पन्न बनाउन सरकार क्रियाशील रहेको जानकारी गराए भने गृहसचिव कुसुमले मुलुकमा शान्तिसुरक्षा अमनचयन तथा सहज वातावरण बनाइराख्ने कार्यमा बलले आयोजना गरेको तालिम सम्मेलनले उल्लेख्य सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै कठिन अवस्थामा समेत सुरक्षानिकायले पुर्‍याएको योगदानको सबै क्षेत्रबाट प्रशंसा भइरहेको दाबी गरे । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सशस्त्र प्रहरी कर्मचारीले आफ्नो पेसालाई जागिर नभई सेवा गर्ने अवसरको रूपमा उपयोग गरेर कार्यक्षेत्रमा सधैं समर्पित रहन सुझाव दिए । गत १७ गतेबाट सुरु भएको उक्त तालिममा करिब १५० जनाको सहभागिता रहेको थियो ।

पूर्वहवाइकर्मीहरू सङ्गठित
नेपालका भूपू हवाईपेसाकर्मीहरूले एक बृहत् भेला गरी आफ्नो एउटा छुट्टै सङ्गठन निर्माण गरेका छन् । ‘एभियसन भेट्रान्स एसोसिएसन, नेपाल’ नाम दिइएको उक्त सङ्गठनको उद्देश्य हवाई यातायातका विविध क्षेत्रमा काम गरी अवकाश प्राप्त हवाई पेसाकर्मीहरूबीच सुमधुर सर्म्पर्क, सम्बन्ध, सद्भाव र सहयोगको वातावरण विकास गरी निजहरूले आफ्नो कार्यकालमा हासिल गरेको बौद्धिक, प्राविधिक तथा व्यवस्थापकीय अनुभव, दक्षता र सिर्जनशीलतालाई उपयोग गरी नेपालको हवाई यातायात क्षेत्रको विकासमा सक्दो योगदान पुर्‍याउने वातावरण सिर्जना गर्न र निजहरूलाई सङ्गठित रूपले रचनात्मक एवम् जनहितकारी समाजसेवा कार्यमा अग्रसर हुन अभिप्रेरित गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन एसिया प्यासिफिक क्षेत्रीय कार्यालयका पूर्वनिर्देशक ललितविक्रम शाह, सोही कार्यालयका पूर्वकम्युनिकेसन, नेभिगेसन तथा सरि्भलेन्स -सीएनएस) अधिकृत कमलप्रसाद रिमाल, भूपू हवाईपेसाकर्मी तथा हाल सञ्चार उद्यमी रामकृष्ण मानन्धरको विशेष उपस्थितिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा सम्पन्न उक्त भेलाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसहसचिव हरिभक्त श्रेष्ठको अध्यक्षतामा एक सात सदस्यीय तदर्थ कार्यसमिति पनि गठन गरेको छ । अन्य पदाधिकारीहरूमा महेश्वर श्रेष्ठ -महासचिव), कमला देउजा -कोषाध्यक्ष) र सदस्यहरूमा राजेशराज दली, मोहन अधिकारी, प्रदीपनाथ शर्मा र मुकुन्द ज्वालानन्द राजोपाध्याय रहेका छन् ।

दुर्व्यसनीहरू प्रहरी नियन्त्रणमा
लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाइ शाखा कार्यालय पोखराले लागूऔषध नरफिन इन्जेक्सन र डाइजेपाम इन्जेक्सनसहित आठजनालाई पक्राउ गरेको छ । पोखरा उपमहानगरपालिका-१७ बस्ने वसन्त गुरुङ, संगम लामालाई नरफिन इन्जेक्सन १२ थान, डाइजेपाम इन्जेक्सन १४ थान, स्टारगन इन्जेक्सन १० थान र फेमरागन इन्जेक्सन १० थानसहित ड्यामसाइटको पार्कबाट प्रहरीले पक्राउ गरेको थियो । यसैगरी पोखरा उपमहानगरपालिका-८ न्युरोड बस्ने तेडपी शर्ेपा, सचिम खतिवडा र सुरज गुरुङ नयाँबजारबाट नरफिन इन्जेक्सन ३२ थान र डाइजेपाम इन्जेक्सन २६ थानसहित पक्राउ परेका छन् ।

वेल्समा सेल खाएर बेलायती पाहुना छमछमी
कार्डिफ/ नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रूपमा प्रचार-प्रसार गर्ने उद्देश्य राखी बेलायतस्थित नेपाली राजदूतावासको तत्वावधानमा बेलायतका विभिन्न स्थानमा प्रवर्द्धन कार्यक्रम आयोजना भइरहेको छ । यही सिलसिलामा गत जुलाई ३१ का दिन वेल्सस्थित कार्डिफमा नेपाल पर्यटन वर्ष-२०११ को प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । कार्डिफस्थित ‘द गेट’ हलमा भएको सो कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे र बेलायती सांसद एलान माइकलले संयुक्त रूपमा गर्नुभएको थियो । नेपाल तथा वेल्सको राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु गरिएको थियो ।
वेल्स गोर्खा कम्युनिटी, कुम्वरानका अध्यक्ष लक्ष्मी तुम्बाहाम्फेले उपस्थित पाहुनाहरूलाई स्वागत भाषण गर्नुभएको सो कार्यक्रममा राजदूत डा. चालिसेले नेपाल पर्यटन वर्ष २०११ को बारेमा प्रकाश पार्ने क्रममा बेलायती मित्रहरूलाई नेपाल भ्रमणको निम्तो दिनुभयो भने बेलायतको लागि हज्जारौं नेपालीले दुईवटा विश्वयुद्धमा भाग लिएको र तेह्रजनाले भिक्टोरिया क्रसजस्तो उच्च पदकसमेत प्राप्त गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै सांसद एलान माइकलले नेपालमा १०१ वटा भाषा प्रचलित रहेकोमा आश्चर्य व्यक्त गर्दै वेल्समा दुईवटा मात्र भाषा प्रचलनमा रहेको बताउँदै नेपालको विविधता सुनेर अचम्म लागेको र नेपाल प्राकृतिक स्रोत, साधन र संस्कृतिमा कति धनी छ भन्ने कुरा यसबाटै स्पष्ट हुन्छ भन्नुभयो । सो अवसरमा उहाँले नेपाली राजदूतको अनुरोधमा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको वातावरण बनाउन प्रयास गर्ने बताउनुभयो । नेपाल र नेपाली बेलायतको अभिन्न मित्र रहेको उल्लेख गर्दै उहाँले यस कार्यक्रमले नेपालको अझ राम्रो प्रचारप्रसार गर्न सहयोग पुगेको पनि बताउनुभयो ।
कार्यक्रममा कार्डिफ नगरका डेपुटी लर्ड मेयर जेनी रिसले नेपाली यति सङ्ख्यामा वेल्समा रहेकोमा खुसी व्यक्त गर्दै नेपाली र स्थानीय निकायबीचमा सहकार्यको आह्वान गर्नुभयो । कार्यक्रममा नेपाली दूतावासका मिनिस्टर काउन्सिलर झविन्द्रप्रसाद अर्यालले पावर प्वाइन्टबाट नेपालको प्राकृतिक सम्पदा, संस्कृति, भ्रमणीय मनोरम स्थान, नेपाल भ्रमण गर्दा त्यहाँका सुविधा, होटल, यातायातलगायतका बारेमा सचित्र आकर्षक ढङ्गले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमकै बीचमा तीनपटक नेपाल भ्रमण गरिसकेका साउथ ह्याम्टनका प्याट्रिक ल्फेमिङ, नेपाल भ्रमण गरिसकेका हंगेरी भई हाल कार्डिफमा बसोवासरत इमी राज, कार्डिफ युनिभर्सिटीका क्रिस्टफर पेडिङटनले नेपाल भ्रमणका सिलसिलामा आफूले देखेका, भोगेका, रमाइला र मनोरम क्षण, नेपालीका सहकर्मी एवम् आफन्ती व्यवहारका बारेमा रोचक र प्रभावकारी ढङ्गले आफ्ना अनुभव साटासाट गरेका थिए । उनीहरूले नेपाल एकपटक होइन पटक-पटक गइरहनुपर्ने गन्तव्यस्थल भएको बताएका थिए ।
कार्यक्रमको अन्तमा नेपाली संस्कृति झल्काउने तिजगीतका नृत्य, बालकलाहरूका नृत्य तथा गोर्खा सैनिकहरूको नृत्यसमेत प्रस्तुत गरिएका थिए । सो सांस्कृतिक कार्यक्रमलाई उपस्थित पाहुनाहरूले निकै अभिरुचिपूर्वक नजर गरेका थिए । सो कार्यक्रमको सुरुमा खाजाको रूपमा नेपाली परम्परागत सेलरोटी राखिएको थियो भने कार्यक्रमपश्चात् दिउँसोको खानाको रूपमा शुद्ध नेपाली दाल-भातसहित नेपाली परिकारहरू राखिएको थियो । बेलायती पाहुनाहरूले थपीथपी नेपाली खानाको स्वाद लिएको देखेर आयोजकहरू दङ्ग परेका देखिन्थे । वेल्स नेपाली समुदाय कार्डिफका अध्यक्ष चित्रबहादुर राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रम रोशन भट्टराईले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अर्को रोचक पक्ष मञ्चअगाडि पर््रदर्शनमा राखिएको खुकुरी, मादल, सारङ्गी, थैली, तामाको डाली, पानी खाने अम्खोरा, थान्का, मूर्ति, बाँसुरी, टोपी थियो । जसलाई सहभागीहरूले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

कहिले बन्ला निजगढमा विमानस्थल –
निजगढ, बारा । अध्ययन एवम् अनुसन्धानमा संलग्न एलएमडब्लू नामक एक कोरिएन कम्पनीले बाराको निजगढ नेपालका लागि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थल हुने प्रतिवेदन हालै सार्वजनिक गर्दै तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।
निगगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धमा सर्वत्र चासो भइरहेको बेला यहाँका बासिन्दामा थप चासो तथा कुतूहल उत्पन्न भएको छ । कोरियन कम्पनीले सरकारलाई यस्तै खालको सुझाव दिएर थप हौसला प्रदान गरेपछि स्थानीयस्तरमा विभिन्नखालका दर्ीघकालीन योजना तथा असरबारे पनि बहस र छलफल सुरु गरिएको छ । ल्यान्डमार्क वर्ल्डवाइड कम्पनी -एलएमडब्लू) नामक कोरियन कम्पनीले तीन महिनाको अध्ययनपछि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना तत्काल कार्यान्वयन गरी योजना सुरु गर्न माग गरेको छ । साथै काठमाडौंमा रहेको त्रिभुवन विमानस्थललाई आन्तरिक विमानस्थल र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सो कम्पनीले सरकारलाई सुझाव दिएको छ ।
यो विमानस्थलको निर्माण गरिएको खण्डमा सबै खालको विमान अवतरण तथा उडान गर्न सकिने सम्बन्धित विज्ञहरूले बताएका छन् । सबै व्यावसायिक उडान गर्न सकिने उक्त विमानस्थलको परिकल्पना पनि गरिएको छ । विमानस्थलका लागि जग्गा व्यवस्थापन भने गरिएको छैन । जग्गा व्यवस्थापन गर्ने जिम्मा सरकारको भए तापनि विमानस्थल कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ । तर, समाचार स्रोतले दिएको जानकारीअनुसार ८० किलोवर्गमिटर क्षेत्रफलमा फैलने उक्त विमानस्थलका लागि आवश्यक पर्ने क्षेत्रफलमध्ये वनजङ्गल ३० प्रतिशत रहेको छ । पाइलट अध्ययन तथा सर्वेक्षणको क्रममा विमानस्थलको तीस प्रतिशत वनजङ्गल रहने भएकाले वनजङ्गल फँडानी भएमा निजगढ क्षेत्रमा दीर्घकालीन असरसमेत पुग्ने अनुमान गरिएको छ । उक्त क्षेत्रफलभित्र पर्ने १३ सय २६ घरपरिवारको पुनर्स्थापना गर्नुपर्ने भएको छ । सरकारले यो १० महिनाको अवधिमा लालपुर्जा भएका तीन सय तथा अतिक्रमण गरी बसोवास गर्दै आएका बाँकी घरपरिवालाई पुनर्स्थापना गराई कार्य सुरु गर्नुपर्नेछ । स्थानीय बासिन्दाहरू विमानस्थलका लागि उपयुक्त स्थलको रूपमा तामागढी इलाका वन कार्यालयदेखि उत्तरपटि्टको खाली भूभाग र जङ्गल उपयुक्त भएको बताउँछन् । भौगोलिक तथा सामरिक हिसाबले पनि विमानस्थलका लागि उपयुक्त मानिएको निजगढको उक्त क्षेत्रमा मानव बसोवास कम रहेको छ ।
निजगढदेखि काठमाडौंसम्म चार लेनको फास्ट ट्रयाक निर्माण गर्ने तयारी भएपछि निजगढको जग्गा तथा अन्य कारोबारको भाउ एक्कासि चुलिएको छ । मध्यतराईमा एक अन्तर्राष्ट्रिय विमानस्थलको अत्यन्त अभाव भइरहेको महसुस गरिएका बेला सबै स्थानका लागि पायक पर्ने निजगढमा विमानस्थल स्थापना भएमा आन्तरिक तथा बाह्य पर्यटनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । यहाँ उद्योग कलकारखाना तथा उद्योग स्थापना हुने क्रम पनि बढेको स्थानीय पत्रकार जितलाल श्रेष्ठको भनाइ छ । एक घन्टाको दूरीमा काठमाडौं आवत-जावत गर्न सकिने फास्ट ट्रयाक सञ्चालन भएपछि मध्यतराईको भविष्यमा सुनौलो आयाम थपिने विश्वास यहाँका बासिन्दाले गरेका छन् । निजगढमा विमानस्थल सञ्चालन हुनु ६ महिनाअघि फास्ट ट्रयाक बनाइसक्नुपर्ने सर्त पनि उक्त कम्पनीले गरेको छ । चार वर्षको अवधिमा चार लेनको फास्ट ट्रयाक बनाउनुपर्ने प्रारम्भिक सहमति भए पनि एसियाली विकास बैंकले हाल आएर दुई लेनको बाटो बनाउन सुझाव दिएको छ ।
हाल त्रिभुवन विमानस्थलबाट वारि्षक रूपमा करिब पाँच लाख यात्रु ओहोरदोहोर गर्दै आएकोमा उक्त कम्पनीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि वारि्षक ३० लाख यात्रु आवत-जावत गर्ने दाबी पनि गरेको छ । निजगढमा विमानस्थल निर्माण भएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा पनि एक्कासि वृद्धि हुने स्थानीय बासिन्दाको भनाइ रहेको छ । फास्ट ट्रयाक तथा विमानस्थलका कारण निजगढको जग्गा प्लटिङ गरेर धमाधम चर्को मूल्यमा बिक्री भइरहेको छ भने स्थानीय बागदेव, सिंगौलजस्ता क्षेत्र आसपासको भीरपाखा तथा ऐलानी जग्गाको पनि किनबेचमा एक्कासि तीव्रता आएको छ ।
– नरहरिराज आचार्य

शान्तिसुरक्षाका लागि प्रहरी-जनता गठजोड
ललितपुर । धापाखेल क्षेत्र सुधार समिति तथा महानगरीय प्रहरी प्रभाग सातदोबाटोको संयुक्त आयोजनामा गत शनिबार ललितपुरको धापाखेलमा सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापाले समाजमा हुने अपराधको नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी र आमनागरिकको समन्वयमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा धापाखेल क्षेत्र सुधार समितिका अध्यक्ष रघुनाथ बस्नेत, महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरीक्षक प्रमोदकुमार खरेललगायतका वक्ताहरूको सुरक्षाको स्थिति सुदृढ बनाउन प्रहरी र आमनागरिकका सहभागिता हुनुपर्ने विचार व्यक्त गरेका थिए । विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी प्रभाग सातदोबाटोका प्रहरी निरीक्षक जनार्दन जी.सी.ले स्वागत मन्तव्य दिएका थिए ।
यसैबीच अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्नेक्रममा १४ किलो चरेससहित दुईजना बेल्जियम नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राहदनी नम्बर इजी २९८२७० बाहक कारिने सीआर पास्चेल र राहदानी नम्बर इजी ७०५७०३ बाहक लुसम्रोबिका जेह पास्चेल रहेका छन् । थाई एअरको उडानबाट शनिबार दिउँसो बैंकक जान लागेका उनीहरूले फल्स बटम बनाई लुकाइराखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको थियो । – सम्पन्नता शाह

बालबालिकाका पीडकमाथि अनुसन्धान
बाल यौन दुर्व्यवहारको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले पक्राउ गरी छोडेका बहिरा सङ्घ मकवानपुरका कार्यक्रम संयोजक एलबी क्षेत्रीद्वारा पीडित बनाइएका बालबालिकाका विषयमा राष्ट्रिय महिला आयोगले अनुसन्धान थालेको छ ।
महिला आयोगकी सदस्य धनकुमारी सुनारले घटनाका सरोकारवाला र स्थानीय अधिकारकर्मीहरूसँग भेट गरी विवरण लिइरहेको बुझिएको छ । सदस्य सुनारले फौजदारी अभियोगमा कारबाही चलाउनुपर्ने व्यक्तिलाई कारबाही नगरी छाडिएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महिला आयोगले घटनालाई गम्भीर ढङ्गले अगाडि बढाउने बताउनुभयो ।
तीन महिनाअघि बाल यौन दुर्व्यवहार गरेको भन्दै दुई बालिकाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेपछि मकवानपुर प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको थियो । किटानी जाहेरी नदिएको भन्दै उनी थुनामुक्त गरिएपछि हिमराइट्स मकवानपुरले महिला आयोगमा घटनाको थप अनुसन्धानका लागि पत्राचार गरेको थियो । – सिर्जना चापागाईं

लडाकु-भर्तीविरुद्ध इन्सेक
एकीकृत नेकपा माओवादी संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा रही नौ महिना सरकारको नेतृत्वसमेत गरिसकेको इन्सेकले स्मरण गराएको छ । माओवादीले जनसेनामा दरबन्दी रिक्त रहेको भन्दै लडाकुको नयाँ भर्ती खोल्ने निर्णय गरेकोप्रति आपत्ति जनाउन यसरी इन्सेकले उसको जिम्मेवारी बोध गराएको हो । इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा सरकारको नेतृत्वका लागि भइरहेको निर्वाचनमा प्रतिस्पर्धी रहेको एनेकपा माओवादीद्वारा लडाकु भर्ना खोल्नेबारे गरेको निर्णय कार्यान्वयन नगर्न र नागरिक पार्टीको मूल्य र मान्यतालाई आत्मसात् गरी शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जिम्मेवार ढङ्गले आफ्नो भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको छ ।

मलेसियामा चेलिबेटी समाज
विदेशी भूभिमा श्रम गरिरहेका महिलालाई आइपर्ने समस्याको समाधान खोज्ने उद्देश्यका साथ जोहोरवारुमा स्वस्तीका वुढाथोकीको अध्यक्षतामा चेलिबेटी समाजको गठन भएको छ । समाजको उपाध्यक्षमा पुनम श्रेष्ठ, सचिवमा पारू ठकुरी, सहसचिवमा योगिता तामाङ, कोषाध्यक्षमा सम्झना त्रिपाठी रहेका छन् । त्यसैगरी सदस्यहरूमा सविता कार्की, सविना तामाङ, देवी नेपाली, लक्ष्मी गिरी, सुमित्रा राई, लक्ष्मी शाह रहेका छन् । समाजको सल्लाहकार सपना राई, लीला खड्का तथा संरक्षकमा कोपिला गौतम, गुमान गुरुङ, सुमन केसी, भीष्म बाँस्कोटा रहेका छन् ।

नागार्जुनको अध्यक्षमा यज्ञनिधि
नागार्जुन साहित्यिक प्रतिष्ठानको एघारौं अधिवेशनले साहित्यकार दाहाल यज्ञनिधिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवी नेपाल, महासचिवमा यशोदा अधिकारी, सचिवमा स्वागत नेपाल र कोषाध्यक्षमा देवकुमारी लुइँटेल चयन भएका छन् । यसैगरी सदस्यहरूमा प्रकाश सिलवाल, चेतनाथ धमला, सोमनाथ देवकोटा, किरण रिमाल, गोमा कटवाल -ढुङ्गाना) र माधव घिमिरे ‘अटल’ रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले वारि्षकोत्सवको अवसर पारेर विभिन्न स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान पनि वितरण गरेको छ । समालोचक वासुदेव अधिकारी र पोखराका स्रष्टा नुमराज बराललाई ‘नागार्जुन विशेष सम्मान’ प्रदान गरिएको छ भने ‘नागार्जुन वारि्षक रचना पुरस्कार’ नाटककार हरिमाया भेटवाल र ‘शुभप्रभात काव्य सम्मान’ कवि निभा शाहलाई प्रदान गरियो । सो कार्यक्रममा नेकपा -एमाले) का पोलिटब्युरो सदस्य तथा स्रष्टा प्रदीप नेपाल, जनसाहित्यिक मञ्च, नेपालका केन्द्रीय अध्यक्ष डा. जीवेन्द्रदेव गिरी, समालोचक रामप्रसाद ज्ञवालीलगातले मन्तव्य दिनुभएको थियो ।