२९ भाद्र २०७८, मंगलवार

जङ्गबहादुरले के गरे, ‘यी’ नेता के गर्दै छन् ?

  प्रकाशित मिति
२ आश्विन २०७३, आईतवार ०६:१४


– यादव शर्मा

नेपालको इतिहासका सर्वाधिक घृणायोग्य पात्रका रूपमा चन्द्रशेखर उपाध्याय दाहाललाई लिन सकिन्छ, कसैकसैले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई नै नेपाली इतिहासमा घृणाका निम्ति सबैभन्दा उपयुक्त व्यक्ति हुन् भन्ने गरेको पनि सुनिन्छ । कतिपयले चाहिँ गिरिजाप्रसाद कोइरालालाई सर्वाधिक घृणायोग्य पात्र भनेका छन् । देशको राजनीतिक भूमिकामा रहेका अन्य केही व्यक्ति पनि प्रशंसाभन्दा घृणाका योग्य मानिएका छन् । तर, उल्लिखित चार व्यक्तिहरूको तुलना देशका अन्य कुनै पनि निम्नकोटिका व्यक्तिहरूसँग गर्ने गरिएको छैन । चन्द्रशेखर उपाध्याय दाहाल र पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई दीर्घकालिक रूपमा क्षति पु¥याएको तथ्यबारे इतिहासले भविष्यमा उनीहरूको उचित मूल्याङ्कन गर्ने विश्वास आमविवेकशील नेपालीको छ ।

‘पहिलो दाहाल’ले सुगौली सन्धिका क्रममा निजी लाभ प्राप्त गरी धोखा दिएर देशको सीमा सङ्कुचित तुल्याउने काम गरेका हुन् भने दोस्रा दाहाल (प्रचण्ड) ले देशको आन्तरिक एकता, सद्भाव र अनुशासन तोडी देश विघटनको जग हालेर राष्ट्रलाई धोखा दिएको नेपाली जनताको ठूलो हिस्साले ठानेको छ । खिलराज रेग्मीजस्ता सामान्य कर्मचारीले समेत पड्काएको प्रधानमन्त्री पद प्राप्तिका लागि हजारौँ निर्दोष नेपालीको हत्या गरेको, राज्यमा अर्बौंबराबरको क्षति पु¥याएको र जात, भाषा, धर्म र क्षेत्रका नाममा नेपालीलाई विभाजित गरी देशको अस्तित्व नै सङ्कटमा पु¥याएका कारण पुष्पकमल दाहाल प्रचण्डलाई घृणायोग्य ठान्नेहरूको सङ्ख्या अधिक हुन पुगेको हो । चन्द्रशेखर उपाध्याय दाहालले आर्थिक तथा भौतिक लाभ लिएर गरेको सुगौली सन्धि हेर्दा उनी सर्वाधिक घृणाका निम्ति योग्य रहेको सहज महसुस हुन्छ । यी दुईको तुलनामा अन्यको धोखाधडी देशलाई क्षति पु¥याउने प्रकारको भए पनि निश्चित कालखण्डमा सच्याउन मिल्ने या सकिने प्रकारका नै मानिन्छन् । चन्द्रशेखर र पुष्पकमल दाहालहरूले दिएको धोखाधडीको उपचार सम्भवतः पृथ्वीको नक्सा यही (हाल देखिएको) प्रकारको रहेसम्म हुन सक्ने ठानिँदैन ।

इतिहासमा सर्वाधिक घृणायोग्य पात्रहरूबारे बहस–छलफलको गुञ्जाइस रहे पनि सबैभन्दा आलोचित व्यक्तिबारे हामी सीधै निष्कर्षमा पुग्न सक्छौँ– श्री ३ महाराज जङ्गबहादुर राणा । जङ्गबहादुरले जुनस्तरको आलोचना व्यहोर्दै आएका छन् त्यसस्तरको आलोचना भोग्ने अर्का कुनै राजनीतिकर्मी, नेता या सार्वजनिक जिम्मेवारी लिने व्यक्ति देखिएका छैनन् । कम्तीमा वि.सं. २००७ साल (सन् १९५०) देखि यताका सात दशकभित्र स्थायी रूपमा र सर्वाधिक आलोचित हुने व्यक्तिका रूपमा जङ्गबहादुर राणालाई नै लिइन्छ । तानाशाह, निरङ्कुश, हत्यारा, षड्यन्त्रकारी, स्वार्थी, परिवारवादी, अविवेकी, विदेशी दलाल, अहङ्कारी, राष्ट्रिय स्वाभिमानलाई ब्रिटिसको पाउमा सुम्पने अवसरवादीलगायत अनेकौँ शब्दको प्रयोग जङ्गबहादुर राणामाथि हुने गरेको छ । अग्रगामी छलाङको नाममा देशलाई ‘यहाँसम्म’ ल्याइपु¥याउनेहरूलाई चाहिँ हामी प्रशंसाका निम्ति योग्य देख्दै छौँ । इतिहासका सर्वाधिक आलोचित व्यक्ति जङ्गबहादुरले देशका लागि के गरेका थिए र वर्तमानका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताका पक्षधर आधुनिक एवम् प्रगतिशील नेताहरूबाट के भइरहेको छ भन्ने विषयको सङ्क्षिप्त प्रस्तुति यस लेखमा गर्न खोजिएको छ ।

jang_bahadur_rana

जङ्गबहादुर राणाले गरेका कामहरू (बुँदागत रूपमा)

१) श्री ३ जङ्गबहादुर राणाले दरबारभित्र निरन्तर चलिरहने षड्यन्त्र तथा सत्ता–सङ्घर्षलाई शिथिल तुल्याउँदै राजनीतिक स्थिरताको स्थिति पैदा गराए ।
२) बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका रूपमा चिनिने पहिले गुमेको तराईका भूभाग सन् १८६० मा कूटनीतिक कौशलद्वारा फिर्ता लिए ।
३) नेपाली सेनाको आधुनिकीकरण गरे ।
४) देशमा पहिलोपटक पे्रस (छापाखाना) प्रयोगमा ल्याए । जुन गिद्दे पे्रसका रूपमा इतिहासमा अङ्कित छ ।
५) देशमा पहिलोपटक (वि.सं. १९१७) जनगणना गराउने कार्यको सुरुवात गरे, पहिलो जनगणनाअनुसार देशको जनसङ्ख्या बाउन्न लाख थियो ।
६) सन् १८६२ देखि पहिलोपल्ट देशमा ‘नापी’को काम सुरु गराए ।
७) विक्रम सम्वत् १९२० देखि जन्म र मृत्युको दर्ता गराई तथ्याङ्क राख्ने कार्यको थालनी पनि जङ्गबहादुरले नै गराएका हुन् ।
८) काठमाडौं उपत्यकाभित्र रहेका रेसिडेन्ट (विभिन्न देशका आवासीय दूत) हरूलाई स्वेच्छापूर्वक घुम्न र नेपालीहरूलाई रेसिडेन्टभित्र प्रवेश गर्न सरकारी अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था जङ्गबहादुरले वि.सं. १९२१ मै गरेका हुन् ।
९) जमिनको मालपोत उठाउन मुखिया र चौधरीहरूको व्यवस्था गर्नुका साथै मालपोत नतिरी उपभोग गरिएका जमिन जमिनदारहरूबाट खोसी सुकुम्बासीलाई दिने काम पनि पहिलोपल्ट उनैले गरेका हुन् ।
१०) वि.सं. १९२२ मा जङ्गबहादुरले तिब्बततर्फ जाने बाटोका साथै नेपाल अधिराज्यको सर्भे गरी नक्सा बनाउने काम गरे ।
११) जनतालाई समयबारे जानकारी गराउन टुँडिखेलमा तोप पड्काएर आवाज सुनाउने कार्यारम्भ गरे ।
१२) जङ्गबहादुर आफैँ अनपढ थिए, तर उनले काठमाडौंको पुस्तकालयलाई समृद्ध बनाउन अङ्गे्रजी र भारतीय पुस्तकहरू खरिद गरी ल्याउन बजेट व्यवस्था गरिदिए ।
१३) पहिलोपल्ट ‘लेडिज कोर्ट’को स्थापना गरी महिलाका निम्ति बेग्लै मञ्च खडा गरिदिएको, तर यसले निरन्तरता भने पाउन सकेन ।
१४) युरोपियन शैलीका अत्याधुनिक र भव्य महलहरू निर्माण गरी देशको सान बढाउने काम गरेका ।
१५) हाल दलित भनिने कोचेमेचे र साल्मीहरूको हातबाट पानी पिई छुवाछुत हटाउने प्रयत्न गरेका ।
१६) व्यवस्थित रूपमा शिक्षा दिनका निम्ति दरबार परिसरमै भए पनि विद्यालय स्थापना गरे । नेपालको पहिलो स्कुलका रूपमा चिनिने दरबार हाइस्कुलको स्थापना जङ्गबहादुरले नै गरेका हुन् ।
१७) जनताले भोकभोकै मर्नु नपरोस् भनी देशका विभिन्न स्थानमा ‘धर्मभकारी’ खडा गरी अन्न सङ्ग्रह गरी राख्ने व्यवस्था मिलाउनुका साथै जङ्गबहादुरले सङ्कटकालमा खर्च गर्नको निम्ति ‘तोषखाना’ खडा गरी सुरुमै ११ करोड रुपैयाँ ढुकुटीमा राखिदिए र त्यसमा रकम थप गर्दै जाने व्यवस्था मिलाए ।
१८) जङ्गबहादुरले पहिलोपटक नेपालमै तोप कारखाना स्थापित गराए ।
१९) देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउन जङ्गबहादुरले सन् १८६० को अक्टोबरदेखि एक–एक माइलमा सीमास्तम्भ राख्ने कार्यारम्भ गरे, जसलाई जङ्गेपिलरका रूपमा पनि चिनिन्छ ।
२०) वन संरक्षणका लागि ‘काठमाल’ अड्डा खोली रूख काट्नेहरूलाई सजाय दिने व्यवस्था उनैले गराएका हुन् ।
२१) बोक्सीको आरोप लगाउनेहरूलाई दण्ड सजाय दिने व्यवस्था जङ्गबहादुरले गरे ।
२२) विफरविरुद्ध खोप लगाउने अभियान पनि उनैले प्रारम्भ गरेका हुन् ।
२३) हाल नेपाल बैंक लिमिटेडको मुख्यालय रहेको स्थानमा ‘संसद् भवन’ निर्माण गराई राष्ट्रहित र राजनीतिका विषयमा बहस, छलफल एवम् परामर्श गर्ने चलन चलाए ।
२४) नेपालमा नपाइने जडीबुटीका बिरुवाहरू अफगानिस्तानको काबुलदेखि दार्जिलिङसम्मबाट झिकाई नागार्जुन र गोकर्णलगायतका वनजङ्गलमा ती बिरुवाहरू लगाउने काम पनि जङ्गबहादुरले गरे ।
२५) वि.सं. १९२४ मा तराईमा भीषण अनिकाल परी जनताले खान नपाएपछि तत्काल तीन लाख रुपैयाँको अन्न भारतबाट आयात गरी सुपथ मूल्यमा बिक्री–वितरणको व्यवस्था गरे र उनले त्यस वर्षको मालपोत पनि माफी गरिदिएका थिए ।
२६) पूर्व मेचीदेखि पश्चिम डोटीसम्म फराकिलो बाटो (बग्गी हिँड्न मिल्ने गरी) बनाउन र बाटोको दुवैतर्फ रूख लगाउनका लागि वि.सं. १९०६ मा जङ्गबहादुरले तीन लाख रुपैयाँ निकासा गरिदिएका थिए । त्यसबेला मोटरकारको आविष्कार भइसकेको थिएन, तथापि राजमार्ग निर्माणको थालनी उनैले गरेका हुन् ।
२७) युरोपलगायतका देशहरूको भ्रमण गरी नेपाललाई ‘इन्टरनेसनल एक्स्पोजर’ दिने काम पनि जङ्गबहादुर राणाले नै गरेका हुन् ।
२८) मुलुकी ऐन बनाएर कानुनअनुरूप राज्य सञ्चालन गर्न सुरु गरेको जस (यश) पनि जङ्गबहादुरलाई नै जान्छ ।
२९) राष्ट्रको स्वार्थ र सार्वभौमिकताको रक्षा तथा सम्मानको निम्ति जङ्गबहादुरले ब्रिटिस भारतसँगको मित्रता सुदृढ तुल्याउने र तिब्बतसित लडाइँ लड्ने कार्यसमेत गरे । सन् १८५४ मा तिब्बती भोटेहरूले नेपालीलाई कुटपिट गरी लुट्ने र हत्यासमेत गर्ने गरेकोले जङ्गबहादुरले नेपालीको रक्षाका निम्ति तिब्बतसँग लडाइँ लड्नुपरेको थियो ।

हाम्रा प्रजातन्त्रपक्षधर जनअधिकारवादी महान् क्रान्तिकारी, देशभक्त, राष्ट्रवादी, आत्मस्वाभिमानी, गतिशील र आधुनिक नेताहरूले के–के गरिरहेका छन्, त्यसलाई पनि यहाँ बुँदागत रूपमा प्रस्तुत गर्ने प्रयास भएको छ ।

१. इसाई सङ्घसंस्था तथा केही मुलुकहरूको साथ–सहयोग जुटाएर राजसंस्था विस्थापित गरी गणतन्त्र घोषणा गर्नु ।
२. बयासी प्रतिशत सनातनी हिन्दूसहित करिब ९४ प्रतिशत ओमकार परिवार भएको मुलुकलाई संविधानमा धर्मनिरपेक्ष लेख्न सक्नु ।
३. संविधानसभाद्वारा संविधान जारी गर्ने रित पूरा गर्नु ।
४. स्थापनाकालदेखि नै एकात्मक अभ्यासमा रमाउँदै आएको मुलुकलाई सङ्घीय संरचनामा लैजाने वैधानिक व्यवस्था गर्नु ।
५. एक दशकभित्रै सातजनाको प्रधानमन्त्री बन्ने रहर पूरा गराएर नयाँ रेकर्ड राख्न सक्नु ।
६. जातीय तथा क्षेत्रीय एकता र सद्भावलाई बिथोली देशको सार्वभौमिकतासमेत खण्डित गर्ने वैधानिक आधार तयार गर्नु ।
७. राज्यका सबै महत्वपूर्ण निकायहरूमा योग्य, क्षमतावान् र इमानदारहरूलाई उपेक्षा गर्दै भागबन्डाका आधारमा मानिसको चयन गर्नु ।
८. पहिले मित्रराष्ट्र भारतसँग आर्थिक निर्भरता मात्र रहेकोमा पछिल्लो दशकमा राजनीतिक निर्भरतालाई संस्थागत गर्दै लैजानु ।
९. मित्रराष्ट्रहरूको सहयोगमा स्थापना भएका कलकारखानाहरू बिक्री–वितरण गर्नु, नयाँ उद्योग खुल्ने वातावरण बनाउन नसक्नु र देश औद्योगिकरण हुनसक्ने सम्भावनाको करिबकरिब अन्त्य गर्नु ।
१०. राष्ट्रिय गौरवको सिंहदरबारभित्र जथाभावी घर निर्माण गरेर दृश्य प्रदूषण बढाउँदै दरिद्र र असभ्य मानसिक चेतनास्तर प्रस्तुत गर्नु ।
११. पहिले नै कसैले गरेका विकास निर्माणका कार्यलाई संरक्षण नगर्नु ।
१२. राष्ट्रिय विपत्तिमा गैरजिम्मेवार र लापरबाही भूमिकामा देखापरिरहनु ।
१३. सत्तामुखी संस्कार बसाउनु र सत्तालाई निजी स्वार्थपूर्तिको साधन बनाउनु ।

श्री ३ जङ्गबहादुर राणाले उनन्तिस वर्ष लामो शासनकालमा कम्तीमा २९ वटा राम्रा काम गरेको व्यहोरा इतिहासमा पढ्न पाइन्छ । तर, जङ्गबहादुरलाई आलोचना गर्न पाउँदा विक्रमटेम्पोले धुँवा फालेझैँ शब्द प्रदूषण फैलाउन सक्नेहरूले आफ्नो समयमा जे–जसरी आफूलाई अघि बढाइरहेका छन्, त्यसको निष्पक्ष र बिनापूर्वाग्रह पुनरावलोकन गरी स्पष्ट धारणा बनाउन सकिँदैन भने देशको आयु अब लामो नरहेको निष्कर्षमा पुग्न हामीलाई अवश्यमेव कर लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुक्तिनाथ भुसाल विश्व नवनिर्माणका प्रयासहरू हुँदै गर्दा संसारलाई विनाश गर्ने एटम र अणु बमहरू पनि तयार भइसकेका छन् । यस्ता

– किशोर बुढाथोकी/सिन्धुपाल्चोक पाँच वर्ष अघिदेखि नेपाल सरकारले सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन हरेक शैक्षिक सत्रको सुरुआतमा भर्ना अभियान गर्ने

बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्ने काममा ठोस योगदान पुग्ने उद्देश्यले गठन गरिएको ‘बौद्धनाथ क्षेत्र विकास समिति’

एउटा मान्छे बीच सडकमा लडेको छ, अरुलाई केही मतलव छैन । सवारीहरु तर्किएर गुडिरहेका छन् । बटुवाहरु त्यो लडेको मान्छेलाई