बुद्धिचालमा नेपाललाई एसियन टाइगरको

बुद्धिचालमा नेपाललाई एसियन टाइगरको


रूपमा हेर्न चाहन्छु -राजेशहरि जोशी, अध्यक्ष नेपाल बुद्धिचाल सङ्घ
-श्रीविक्रम भण्डारी
खेलकुदप्रतिको रुचिले गर्दा नै उहाँले कलिलै उमेरमा खेलकुदलाई आत्मसात् गर्नुभएको थियो । कुन खेल खेल्ने, कुन खेल नखेल्ने भन्ने मेसो नै नभेर्ट्टाई उहाँको ध्यान बुद्धिचाल अर्थात् चेसतर्फ मोडिएको थियो । घरमा आमाबुबाले बुद्धिचाल खेल्दा बुद्धि बढ्छ भनेपछि उहाँले बुद्धिचालमा आफ्नो भविष्य देख्नुभएको थियो । तत्कालीन समयमा घरघर र टोलटोलमा मात्र सीमित रहेको बुद्धिचाल खेल्दाखेल्दै उहाँ ललितपुर जिल्लाबाट सानै उमेरमा प्रतिनिधित्व गर्न सफल हुनुभएको थियो । पछि बुद्धिचालप्रति बढ्दै गएको लगावले उहाँलाई बुद्धिचालको जुनियर च्याम्पियनसमेत बनाएको थियो । यसरी बुद्धिचाललाई सानै उमेरदेखि माया गरेर अहिले सोही खेलको सर्वोच्च पद अध्यक्षमा आसिन रही बुद्धिचालको विकासमा तन, मन र धनले सहयोग गरिरहनुभएका राजेशहरि जोशीसँग घटना र विचार राष्ट्रिय साप्तहिकका लागि श्रीविक्रम भण्डारीले गरेको कुराकानी :
० अहिले खेलकुदमा बुद्धिचालको लहर ह्वात्तै बढेको छ, यसको कारण के होला –
– सर्वप्रथम बुद्धिचाल विश्वकै लोकप्रिय खेल हो । बुद्धिचालले खेलाडीहरूको दिमागलाई तेज र अनुशासित बनाउनुका साथै दुर्व्यसनीबाट टाढा राख्दै आएको छ । बुद्धिचाल खेल्ने खेलाडीहरूमा आएको सकारात्मक परिवर्तनले गर्दा अभिभावकहरू पनि यो खेलतर्फ आकरि्षत भएका छन् । उनीहरूमा चेसमा पनि भविष्य छ भन्ने कुरा जागृत भएको छ । बुद्धिचाललाई नेपालमा लोकप्रिय बनाउन खेलाडी, अभिभावक र सङ्घले उत्तिकै महत्वपूर्ण भूमिका निभाएका छन् । सबैैको सामूहिक प्रयासले गर्दा नै आज बुद्धिचालले ठूलो फड्को मार्न सफल भएको छ ।
० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता थुप्रै भइरहेका छन्, आर्थिक तालमेल कसरी निभाइराख्नुभएको छ –
– प्रायोजकबिना कुनै पनि खेल र खेलाडीको विकास हुन नसक्ने भएकोले हामीले सर्वप्रथम प्रायोजकलाई विशेष महत्व दिएका छौँ । यही कुराको तालमेल मिलाएर हामीले राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिरहेका छौँ । बुद्धिचाल भर्खरै मात्र ट्रयाकमा आएको र लोकप्रियता हासिल गर्न लागेको अवस्था भएकोले सोचेअनुरूपको प्रायोजकहरू पाउन नसकेको छैन । हाम्रो प्रयास जारी छ, भविष्यमा अवश्य विग हाउसलाई प्रायोजक बनाउन सफल हुनेछौँ ।
० तपाईंले व्यक्तिगत लगानी गरेर बुद्धिचाललाई अगाडि बढाइरहेको चर्चा छ, यो कति सत्य हो –
– म बुद्धिचाल सङ्घमा दिन आएको हो लिन आएको होइन । विगत तीन दशकसम्म सङ्घ निष्त्रिmय रहेर बसेको अवस्थामा म आएपछि कहाँ पुग्यो त्यो तपाईं खुद अनुमान लगाउन सक्नुहुन्छ । जहाँसम्म व्यक्तिगत लगानीको कुरा छ, त्यसमा मैले केही प्रायोजकहरूको सहयोग पाएको छु भने केही खर्च आफूले पनि व्यहोर्दै आएको छु ।
० नेपाली खेलाडीले पनि थुप्रै चेस प्रतियोगितामा सहभागिता दिइसकेका छन्, खेलाडीहरूको स्तरमा कत्तिको वृद्धि भएको पाउनुभएको छ –
– दुइ वर्षअगाडि जर्मनीमा भएको ओलम्पियाडमा नेपालले ऐतिहासिक रूपमा फिडे मास्टर उत्पादन गर्न सफल भएको थियो । नेपालका मनीष हमालले उत्कृष्ट प्र्रदर्शन गर्दै फिडे मास्टरको उपाधि हासिल गरेका थिए । त्यसैगरी गत वर्ष लेवनानमा भएको टिम च्याम्पियनसिपमा नेपालका खेलाडीले उत्कृष्ट प्र्रदर्शन गरी पाँचौं स्थान हासिल गर्न सफल भएका थिए । यो अवधिमा नेपालले चार-चारजना फिडे आर्बिडर र दुइजना अन्तर्राष्ट्रिय आर्बिडर उत्पादन गर्न सफल भएको छ । आउँदो सेप्टेम्बरमा रसियामा हुने ओलम्पियाडमा थप दुइजना फिडे आर्बिडर र दुइजना अन्तर्राष्ट्रिय आर्बिडर उत्पादन गर्दै छ ।
० फिडे आर्बिटर र अन्तर्राष्ट्रिय आर्बिटरको भूमिका बुद्धिचालमा कस्तो हुन्छ –
– बुद्धिचालमा निर्णायकलाई आर्बिटर भनिन्छ । फिडे आर्बिटरले लोकल र अन्तर्राष्ट्रिय स्तरमा निर्णायकको भूमिका निर्वाह गर्छ भने अन्तर्राष्ट्रिय आर्बिटरले अन्तर्राष्ट्रिय खेलमा प्रमुख निर्णायकको भूमिका निर्वाह गर्छ । ती आर्बिटरहरूले अन्तर्राष्ट्रिय स्तरमा निर्णायकको भूमिका निर्वाह गरेर आफ्नो जीविका राम्रोसँग निर्वाह गर्न सक्छन् ।
० नेपाली खेलाडीले बुद्धिचाल खेलेर बाँच्ने अवस्था छ कि छैन –
– विगतको कुरा त मलाई थाहा छैन, अहिले भने राम्रोसँग बाँच्ने अवस्था छ । थुप्रै स्कुलमा अहिले खेलाडीले प्रशिक्षणको भूमिका निर्वाह गरिरहेका छन् । राम्रो पारिश्रमिक पाएर खेलाडी खुसी छन् । यो सबै सङ्घको पहलमा भएको हो । सङ्घले अन्य स्कुलमा पनि प्रशिक्षणका लागि पहल गरिरहेको छ ।
० सङ्घको अध्यक्षको नाताले बुद्धिचाल अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी अगाडि बढाइराख्नुभएको छ –
– सङ्घको आर्थिक अवस्था नाजुक हुँदा पनि मैले व्यक्तिगत खर्चमा अन्तर्राष्ट्रिय निमन्त्रणालाई स्वीकार गर्दै सम्बन्धलाई सुमधुर बनाउँदै आएको छु । जसलाई भविष्यमा पनि निरन्तरता दिनेछु । मैले सङ्घको अध्यक्ष पद सम्हालेको दुइ वर्षमा १५ मुलुकमा तीन सय नेपाली खेलाडीलाई प्रतिस्पर्धा गराउन सफल भएकोे थिएँ । मेरो यही सक्रियतालाई देखेर एसियन चेस फेडेरेसनले निकट भविष्यमै सक्रिय सदस्यको उपाधि प्रदान गर्दै छ ।
० र, फिडेले नेपाललाई कस्तो दृष्टिकोणले हेरेको महसुस गर्नुभएको छ –
– फिडेले नेपाललाई एकदमै सकारात्मक दृष्टिकोणले हेरेको छ । जसले गर्दा फिडेमा आबद्ध नेपाललाई फिडेको कार्यसमितिमा ल्याउनुपर्छ भन्ने प्रस्ताव राखेका छन् । यसैलाई आधार बनाएर नेपालले पहिलोपटक फिडेको कार्यसमितिमा नोमिनेसनका लागि उम्मेदवारी दिएको छ ।
० फिडेको केन्द्रीय सदस्यजस्तो महत्वपूर्ण र जिम्मेवारीपूर्ण पदमा उम्मेवारी दिनुभएको छ, परिणाम कस्तो आउने विश्वास गर्नुभएको छ –
– मलाई विश्वास छ, नेपालले बुद्धिचालमा छोटो समयमा गरेको प्रगति र सक्रियतालाई दृष्टिगत गर्दा परिणाम सकारात्मक आउने छ । म यो निर्वाचनमा अत्यधिक बहुमतले विजय हुनेछु, यसमा कुनै शङ्का छैन । मेरो विजय व्यक्तिगत नभई मुलुकको विजय हुनेछ । यो विजयले मुलुकको प्रतिष्ठालाई अन्तराष्ट्रमा स्थापित गर्नुको साथै बुद्धिचाल खेलको विकासमा कोसेढुङ्गा सावित हुनेछ ।
० के कुरालाई आधार बनाएर तपाईंले उम्मेदवारी दिनुभएको हो, प्यानल हो कि व्यक्तित्व –
– फिडेका साथीहरूको अनुरोध नै मेरो उम्मेवारीको पहिलो सिँढी हो । जसलाई आधार बनाएर मैले फिडेमा उम्मेदवारी दिएको हँु । मेरो उम्मेदवारी समग्र एसियाली बुद्धिचालको विकासका लागि समर्पित हुनेछ । यो सबै प्यानल र व्यक्तित्वभन्दा पनि सक्रियताको फल भएको मैले महसुस गरेको छु ।
० अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगित गर्ने भन्नुभएको थियो । तर, अहिलेसम्म नहुनुको कारण के होला –
– जहिले जति पनि नेपालमा बुद्धिचालको प्रतियोगिता सम्पन्न भएका छन् ती सबै रेटिङ नै हुन् । हालसम्म काठमाडौंमा दुइ, झापामा एक र कञ्चनपुरमा एक गरी चारवटा रेटिङ प्रतियोगिता सम्पन्न भइसकेका छन् । नेपालमा बुद्धिचाल खेललाई अझ लोकप्रिय र स्थापित गराउन आउँदो सेप्टेम्बर ९ देखि १४ सम्म जीएमको नम्स प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ । यो नेपालको पहिलो तथा ऐतिहासिक प्रतियोगिता हुनेछ ।
० नेपालमा एकजना मात्र फिडे मास्टर छन्, अन्य अन्तर्राष्ट्रिय मास्टर -क्ष् :) ग्य्रान्डमास्टर -न् :) बनाउन कस्तो तयारी गरिरहनुभएको छ –
– यसमा जबसम्म हामी जीएम नम्स प्रतियोगिता सञ्चालन गर्दैनौँ तबसम्म अन्तर्राष्ट्रिय मास्टर र ग्य्रान्डमास्टर उत्पादन गर्न सक्तैनौं । सोही कुरालाई मध्यनजर राखेर भविष्यमा जीएम नम्स प्रतियोगिताको तयारीमा लागेका हौँ ।
० समग्रमा एसियामा बुद्धिचालमा भइरहेको विकासलाई कसरी हर्ेर्नुभएको छ –
– अन्तर्राष्ट्रिय बुद्धिचालमा लामो समयदेखि एसियाको दबदबा रहेको छ । हालका विश्वच्याम्पियन पनि भारतका विश्वनाथ आनन्द हुन् । फलस्वरूप भारतमा जस्तै नेपालमा पनि विश्वच्याम्पियन बन्ने खेलाडी मैले देखेको छु । छोटो समयमा नै नेपाली खेलाडीले आईएम र जीएमलाई हराएको इतिहास हाम्रोसामु छ । यस्तो महत्वपूर्ण उपलब्धि हासिल गर्न निरन्तरता र लगनशीलताको खाँचो हुने भएकोले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले विशेष पहल गरी प्रशिक्षक व्यवस्था गरिदिएको खण्डमा नेपाल एसियाको अर्को विश्व च्याम्पियन नबन्ला भन्न सकिँदैन ।
० हालै नेपाल ओलम्पिक कमिटीले बुद्धिचाल सङ्घलाई आबद्धता दिएको छ । यसले सङ्घलाई कस्तो किसिमको फाइदा पुगेको महसुस गर्नुभएको छ –
– यो सकारात्मक कुरो हो । यो बुद्धिचाल खेलको विकासका लागि भविष्यमा कोसेढुङ्गा हुने मैले ठानेको छु । अन्तर्राष्ट्रियस्तरमा बुद्धिचाललाई व्यापक रूपमा विकास गर्न यो आबद्धताले निकै ठूलो भूमिका खेल्ने मेरो विश्वास छ ।
० बुद्धिचालको सक्रियता बढिरहेको अवस्थामा खेलकुद परिषद्को भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ –
– सर्वप्रथम सङ्घले आफ्नो वारि्षक कार्यक्रम बनाउदा सोहीअनुरूप बजेट बनाएको छ । सोही बजेटलाई आत्मसात् गरेर राखेपले आफ्नो भूमिका निर्वाह गरेको खण्डमा बुद्धिचाल खेलले निकै प्रगति गर्ने हामीले विश्वास लिएका छौँ । अहिले हाम्रो कार्यालय पनि नभएकोले राखेपले सर्वप्रथम कार्यालयका लागि रंगशाला परिसरमा एउटा कोठाको व्यवस्था गरिदिए पनि हामी निकै आभारी हुने थियौँ ।
० सङ्घबाट थुप्रैपटक विदेश भ्रमण गरिसक्नुभएको छ, नेपाल र त्यहाँको बुद्धिचालको अवस्था कस्तो पाउनुभयो –
– मैले एसिया र युरोपका राष्ट्रहरूको भ्रमण गर्दा चेसलाई विद्यालयमा अनिवार्य रूपमा पढाएको पाएँ । चेस डाइड र स्टामिना भएकै आधारमा खेल्न नसकिने महसुस गरेँ । चेस खेल्नका लागि व्यापक अध्ययन हुनुपर्ने जरुरी देखेँ । चेस खेल्नुअघि पूर्णरूपमा मानसिक रूपमा तयार हुनुपर्ने जानकारी पाएँ । जसका लागि अध्ययनले ठूलो भूमिका निर्वाह गरेको देखँे । तर, नेपालमा अहिले अध्ययनपश्चात् मात्रै चेस खेल्नुपर्छ भन्ने कुराको विकास भइसकेको छैन । यहाँ अध्ययनभन्दा पनि देखेको-जानेको भरमा खेलिँदै आएको छ । नेपालमा वैज्ञानिक तरिकाले चेकको विकास गर्ने हो भने सर्वप्रथम विद्यालयमा यसको पढाइ प्रारम्भ हुनुपर्छ । चेसलाई कोर्समा राख्दा राष्ट्रले एउटा खेलाडी मात्र पाउने नभई विद्यालय र अभिभावकलाई समेत प्रत्यक्ष फाइदा पुग्छ । उक्त विद्यार्थी पढाइमा तेज हुन्छ, अनुशासित हुन्छ र शान्त स्वभावको हुन्छ ।
० अन्य खेलमा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरू सहभागिता गराउँदा छनोट गरेको देखिन्छ । बुद्धिचालमा भने त्यस्तो देखिँदैन किन होला –
– नेपाल बुद्धिचाल सङ्घले नियमित रूपमा राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । त्यसै प्रतियोगिताको मापडण्डलाई आधार बनाएर सङ्घले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको छ । बुद्धिचाल सङ्घको नियमित प्रतियोगिता भनेको ओलम्पियाड, एसियन गेम र एसियन इन्डोर गेम हुन् । ती तीनवटै प्रतियोगितामा राष्ट्रिय मापडण्डलाई आधार बनाएर खेलाडीहरू छनोट गर्ने हामीले नीति बनाएका छौँ ।
० त्यसो भए निकट भविष्यमै चीनमा आयोजना हुने एसियन गेमका लागि यही नीतिअनुसार खेलाडीहरू पठाउनुहुन्छ त –
– राष्ट्रिय प्रतियोगिताको शीर्ष स्थानलाई आधार मानीकन सोहीअनुरूप त्यहाँ पठाउने नीतिगत निर्णय गरेका छौँ । जसमा महिला र पुरुष गरी पहिलो र दोस्रो स्थान हासिल गर्ने चारजना खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
० अन्त्यमा बुद्धिचालमा नेपालको भविष्य कस्तो देख्नुभएको छ –
– मेरो पहिलो उद्देश्य भनेको बुद्धिचाललाई व्यावसायिक रूपमा विकास गर्नु हो । यस क्षेत्रमा आबद्ध आर्बिटर साथीहरूले जसरी जीविका आर्जन गर्न सफल भएका छन् यस्तै वातावरण अन्य साथीका लागि बनाउन म प्रतिबद्ध रहनेछु । आफ्नो जिम्मेवारी निभाउन म कहिल्यै पछि हट्ने छैन । यो मेरो प्रतिबद्धता पनि हो । म नेपाल बुद्धिचाल सङ्घलाई आफ्नो गतिविधि र सक्रियतामार्फत एसियाको टाइगरको रूपमा देख्न चाहन्छु । कुनै पनि नेपाली खेलाडी विदेश जाँदा उनीहरूको हेर्ने दृष्टिकोणमा नै परिवर्तन भएको देख्न चाहन्छु ।

म्याराडोनाको बर्खास्तप्रति राष्ट्रपतिसमेत दु:खी
हालै दक्षिण अफि्रकामा सम्पन्न भएको विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा लोकप्रिय फुटबल टोली कोही थियो भने त्यो अर्जेन्टिना थियो । त्यस्तै कोही व्यक्ति सबैभन्दा लोकप्रिय थियो भने त्यो म्याराडोना थिए । सन् १९८६ को विश्वकपको हीरो म्याराडोनाकै कारणले गर्दा यसपटक अर्जेन्टिना दर्शकहरूमाझ सबैभन्दा प्रिय टोली बन्न सफल भएको थियो । म्याराडोनाको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले विश्वकपको छनोट चरणमा खासै प्र्रदर्शन गर्न नसके पनि विश्वकपको फाइनल चरणमा भने उत्कृष्ट प्र्रदर्शन गरेको थियो । लिग चरणका तिनै खेलमा अपराजित रहेको अर्जेन्टिनाले प्रिक्वाटरमा पनि सोही प्र्रदर्शनलाई दोहोर्‍याएको थियो । विश्वकपको प्रमुख दाबेदार रहेको अर्जेन्टिना क्वाटरफाइनलमा जर्मनीसँग चार-शून्यको अन्तरले पराजित भएपछि म्याराडोनाको प्रशिक्षणमा ठूलो प्रश्नचिह्न लागेको थियो । म्याराडोना प्रशिक्षक रहन्छन् या रहँदैनन् त्यो बहस र चर्चाको विषय बनेको थियो । यसपछि म्याराडोनालाई प्रशिक्षकको रूपमा अझै राख्ने अर्जेन्टिनी फुटबल सङ्घको घोषणाले म्याराडोनाको दु:खी मनमा मल्हम लगाउन सफल भएको थियो । तर, विडम्बना गत साता यो घोषणा उल्टिएको छ, म्याराडोनालाई राष्ट्रिय टोलीको प्रशिक्षकबाट बर्खास्त गरिएको छ ।
जर्मनीसँगको लज्जाजनक पराजयपश्चात् म्याराडोनाको भविष्य, सम्भावित सम्झौता र नवीकरणका बारेमा व्यापक छलछल भएको थियो । सो क्रममा अर्जेन्टिनी राष्ट्रिय फुटबल सङ्घका अध्यक्ष जुलियो ग्रोनडोना र कार्लोसले म्याराडोनालाई सन् २०१४ सम्म प्रशिक्षकमा राख्ने बताए पनि त्यसका लागि म्याराडोनाले आफ्ना सातजना सहयोगीलाई छोड्नुपर्ने प्रस्ताव राखेका थिए । सो कुरालाई म्याराडोनाले ठाडै अस्वीकार गर्दै आफू आफ्ना सहयोगीबिना काम गर्न नसक्ने बताएका थिए । यसपछि सङ्घले बाध्य भएर म्याराडोनालाई वर्खास्त गर्नुपरेको थियो । सङ्घको प्रस्तावप्रति टिप्पणी गर्दै म्याराडोनाले यो दोहारो चरित्र भएको बताएका थिए । उनले खुट्टा काटेर टाउको मात्र राख्ने सङ्घको रणनीति आफूले बुझ्न नसकेको आरोप लगाएका छन् । म्याराडोनाले सङ्घको यो निर्णय भविष्यमा राष्ट्रिय टोलीका लागि घातक हुने बताएका छन् ।
म्याराडोनाले जर्मनीसँगको पराजयपछि आफू र सहयोगी साथीहरूले टोली छोड्ने निर्णय गरिसकेको बताएका छन् । आफूहरू विश्वकपको पराजयलाई आत्मसात् गर्दै टोली छोड्न तयार रहेको अवस्थामा अध्यक्ष ग्रान्डोनाले ड्रेसिङ रुममै आएर मेरो र सहयोगी साथीहरूको खुलेर प्रशंसा गर्दै सबैलाई निरन्तरता दिने बताएको पत्रकार सम्मेलनमा खुलासा गरेका छन् । तर, अहिले यो कुरा झुटो सावित भएको छ । अध्यक्षले म्याराडोनाबाहेक अन्यलाई हटाउने प्रस्ताव राखेपछि म्याराडोना निकै दु:खी भएका छन् । म्याराडोनाले अध्यक्ष ग्रोन्डोनाले झुटो बोलेको र धोका दिएको आरोप लगाएका छन् । अनले भविष्यमा अर्जेन्टिनी जसले सम्हाले पनि अर्जेन्टिनी फुटबललाई माया नगर्ने व्यक्तिहरूबाट सावधान रहन आग्रह गरेका छन् । उनले केही व्यक्ति आफ्नो व्यवसाय र पैसाका लागि मात्र सङ्घमा काम गरिरहेको आरोप पनि लगाएका छन् ।
म्याराडोनाको उक्त कुराको प्रतिवाद गर्दै कार्लो विलार्र्डोले मुख खोलेका छन् । विलार्र्डोले पानी धेरै माथि आइसकेकोले आफूले विवादलाई साम्य पार्न मुख खोलेको बताएका छन् । विलार्र्डोले आफू यो विवाद चर्काउने पक्षमा नभएको भन्दै खेलाडीहरूको बृहत् हितका लागि यस्तो कदम उठाएको खुलासा गरेका छन् । उनले म्याराडोना आफ्नो परम् मित्र भएको बताउँदै जति विवाद हुनुपर्ने थियो भयो अब यसलाई चर्काउनु नहुने बताए । उनले म्याराडोनाले आफूहरूको रणनीति नबुझेकाले यस्तो प्रतिक्रिया दिएको सुनाउँदै अर्को प्रशिक्षक छनोट गरेपछि बुझ्ने बताएका छन् । उनले आफूले दस नम्बरको चर्चित जर्सी लगाउने म्याराडोनालाई कहिल्यै नबिर्सिएको, उनीसँग झुटो पनि नबोलेको र उनीको बहिर्गमनपछि पटकपटक माफी पनि मागेको बताएका छन् । बिलार्र्डोले आफू जहिले पनि म्याराडोनासँग काम गर्न इच्छुक रहेको र निरन्तरता दिन तयार रहेको पनि बताएका छन् । म्याराडोनाको बर्खास्तपछि अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेजले दु:ख प्रकट गरेकी छिन् । विश्वकपमा जस्तोसुकै नतिजा आए पनि उनले म्याराडोनालाई समर्थन गर्दै प्रशिक्षकमा रहिरहन अनुरोध गरेकी थिइन् । म्याराडोनाको बर्खास्तपछि राष्ट्रपति क्रिस्टिनाले उनलाई फोन गर्दै फुटबल सङ्घको निर्णय दु:खद् भएको बताएकी थिइन् ।