बेल्जियम बसेर नेपालीहरुलाई नै ठग्ने मानवतस्कर

बेल्जियम बसेर नेपालीहरुलाई नै ठग्ने मानवतस्कर


लण्डन । ठग कम्पनी युनिटी इन्टरनेशनलको युरोप-प्रतिनिधि भन्दै सयौं नेपालीबाट लाखौं रकम ठगेर चर्चामा आएका कृष्ण खतिवडा नामक व्यक्ति एक कुख्यात मानवतस्कर भएको उनबाट ठगिएका नेपाली युवाहरुले दाबी गरेका छन् । आफूलाई नेपाली मूलको बेल्जियम नागरिकका रुपमा चिनाउँदै मानव तस्करी धन्दामा तरक्की गरेका कृष्ण खतिवडा एमालेसमर्थित नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमका सदस्य रहेको समेत बताइएको छ ।
प्राप्त समाचारअनुसार धेरै नेपाली युवाहरुलाई युरोपमा रोजगारीको सपना देखाएर रकम अँठ्याउने र विदेश पुर्‍याई अलपत्र पार्ने धन्दामा कृष्ण निकै अघिदेखि सक्रिय छन् भने उनलाई नेकपा एमालेका ठूलामध्येका केही नेताहरुले समेत सघाउने गरेका छन् । विशेषगरी इजरायलमा काम गर्दै आएका बढी कमाउने आकाङ्क्षा पाल्ने नेपाली युवतीहरुलाई खतिवडाले आफ्नो जालमा पार्ने गरेको बताइएको छ । इजरायल, पोल्याण्ड, युक्रेन र हंगेरीको बाटो हुँदै युरोपियन मुलुक छिर्न खोज्ने थुप्रै नेपाली युवाहरु उनको फन्दामा परेर ठगिन पुगेका छन् भने इजरायलमा कमाएको पनि गुमाएर कृष्णजस्ता दलाललाई पोस्दै विलाप गर्ने नेपाली चेलीहरुको संख्या बढ्दो रहेको पीडित विना केसीको कथन छ । यसरी धेरै नेपाली युवालाई ठगिसकेका भए पनि कृष्णको रोव-रवाफ भने दिनानुदिन चुलिएकोमा आर्श्चर्य मान्ने युवाहरुको जमात बेल्जियममा मात्र नभई नेपालमा पनि बढ्दो रहेको बताइन्छ ।
नेपाल आउँदा फरक नाम र पासपोर्ट प्रयोग गर्ने कृष्ण एमालेका नेताहरु युरोप भ्रमणमा निस्कँदा स्वागत र खातिरदारी गर्नेमा अग्रपङ्क्तिमा रहने गरेका छन् भने भीम रावल, माधव नेपाललगायतका नेताहरुसँग उनको विशेष सम्बन्ध रहेको बताइन्छ । कृष्णको घरधन्दाका कारण एमालेको विदेशस्थित भातृ संगठनको रुपमा चिनिएको नेपाली लोकतान्त्रिक मञ्च नै बदनाम हुन पुगेको भनी सो संगठनमा आवद्ध इमानदार एमाले कार्यकर्ताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । तर, एमालेका बरिष्ठ नेताहरुलाई नै लठ्याउन सफल खतिवडा भने प्रहरीलाई समेत झुक्याउन सफल भइरहेका छन् ।
नेपालका उच्चपदस्त प्रहरी अधिकारीहरुसँग आफ्नो उठबस रहेको दाबी गर्ने निज कृष्ण मानवतस्करीकै सिलसिलामा हालै नेपाल पनि आएका थिए । विभिन्न मुद्दामा उजुरी परेका उनी पक्राउ परेर केही दिन हनुमानढोकामा थुनिए पनि प्रहरी प्रशासनलाई नै चक्मा दिएर उम्कन सफल भएको बुझिएको छ । यसरी प्रहरीलाई छक्याएर हिरासतमुक्त भए पनि त्रिभुवन एयरपोर्टको बाटोबाट विदेश उम्कन मुस्किल पर्ने देखेपछि गत आइतबार नयाँदिल्ली पुगेका छन् । दिल्ली एयरपोर्टबाट बेल्जियम पुग्ने योजनासहित यतिबेला कृष्ण भारतमै रहेका छन् । ११ तारिख अर्थात् बुधवार बेल्जियम पुगिसक्ने योजना रहेपनि प्राविधिक कारणवश अब १८ तारिख अर्थात आगामी जेठ ४ गते मात्र आफू बेल्जियम पुग्ने भनी उनले आफ्नो गिरोहका विश्वासपात्रहरुलाई सन्देश पठाएको समाचार सूत्रको दाबी छ । यतिबेला भारतमा उनले ००९१९९७१९६२८०० नंबरको मोबाइल प्रयोग गरी धन्दा सुचारु गरिरहेका छन् ।
यसैबीच आफ्ना काला करतुतको पोल खोलीदिएको भन्दै कृष्ण खतिवडाले बेल्जियमबाट प्रकाशित हुने विश्वन्यूज डट कमका सम्वाददाता सन्तोष न्यौपानेलाई ज्यान मार्ने धम्की दिएको बुझिएको छ । आफूनिकटका कुनै एक बुद्धि नामका व्यक्तिलाई न्यौपानेको नेपाल र बेल्जियम दुबै स्थानको पूरा ठेगाना पत्ता लगाइराख्न उनले अह्राइसकेका जानकारी समाचार श्रोतले जनाएको छ ।-सनभ, बेल्जियम
माथिको समाचार हामीलाई इमेलमार्फत प्राप्त भएको हो, यदि सम्वन्धितहरुलाई यस समाचारप्रति आपत्ति भएको खण्डमा आफ्नो चासोलाई कमेन्टमार्फत या इमेलमार्फत हामीलाई पठाउन सक्नेछन्, त्यसलाई हामी जस्ताको त्यस्तै राखिदिने प्रयत्न गर्नेछौं । सर्वसाधारणहरु विभिन्न नामधारी ठगहरुको कार्यले गर्दा विदेशी भूमिमा पीडित भएका घटनाहरु सर्वत्र व्याप्त छ, त्यसलाई नै मध्यनजर राखेर यस समाचार त्यसैले एकतर्फी रुपमै प्रकाशित गरिएको व्यहोरा यहाँ जानकारी दिन्छौं- सम्पादक