नयाँ साल र सम्झनाका झटारोहरु-काङमाङ नरेश

नयाँ साल र सम्झनाका झटारोहरु-काङमाङ नरेश


२०६८ सालको नयाँ वर्षले मलाई टेकनाथ रिजाल र भुटानी शरणार्थीहरुको ताजा सम्झना गरायो ।

२०६८ सालको नेपाली नयाँ वर्ष मनाउन १३ एप्रिलको बेलुकि हार्वी ग्रामर स्कूलको प्राङ्गनमा कवि देवेद्र खेरेस, गजलगो विपु वाइवा र डेभिड भान्जाको साथमा म स्वयं पुगें । नर-नाता आफन्तजनहरुसँग नयाँ वर्षको शुभकामना आदान-प्रदान गरिए । बेलुकाको खाना खाएपछि साङ्गीतिक कार्यक्रम शुरु भयो । भान्जा-भान्जीहरुले नेपाली गीतमा राम्रा-राम्रा नृत्यहरु देखाए । याक्थुम चुम्लुङ्गले प्रस्तुत गरेको च्याब्रुङ्ग नाचले नेपाली जात-जातिको प्रतिनिधित्व गरेको थियो भने त्यस्तै खेवाङ्ग रोक्का र मोहित रोक्का २ जना कलिला नानीहरुका नृत्यले साँच्चै हामी नेपाली हुनुको अर्थ बोकेको आभास भयो । हाम्रो संस्कार संस्कृतिको भूगोललाई ठूलो बनाएको महशुस भयो । गर्वले सबैका छाती गगनचुम्बी पहाडभन्दा अग्लो भए होलान् भन्ने मैले सोचेँ । तर जब कुमारी नेपाली चेलीहरु कामुक बनेर मञ्चको मधुर प्रकाशमा नेपाली नयाँ वर्षको नाममा फेशन-सो गरेर आउन थालेपछि मैले बनाएको गगनचुम्बी पहाड, ज्वालामुखी विष्फोट भएझैं भत्किन पुग्यो । मैले त्यहाँ नेपाली नयाँ वर्षको अर्थ खोजें तर त्यो नेपाली आभास आउने नेपाली नयाँ बर्ष मञ्चमा भने रित्तो थियो । एकाएक खेवाङ्ग रोक्का र मोहित रोक्का २ जना कलिला नानीहरुले बचाएको संस्कार संस्कृतिको अपमान भएको महशुस गरेँ अनि मलाई नेपाली मूलका भुटानी नेता टेकनाथ रिजाल, एस. पेन्जर र फिजीका तत्कालीन प्रधानमन्त्री महेन्द्र चौधरीको सम्झनाले सताउन थाल्यो । मैले सोचेँ, के उनीहरुले आफ्नो संस्कार-संस्कृतिलगायत सबथोक भुलेर त्यति ठूलो ओहदासम्म पुग्न सफल भएका हुन त ?

महेन्द्र चौधरीको बाजे रामनाथ चौधरी इण्डियाको वाहु जमलपुरबाट १९०२ मा वृक्षारोपण कामको लागि स्टोर मेनेजर भएर फिजी पुगेका थिए । उनी इण्डिया फर्केपछि उनका श्रीमती जय कलीको मृत्यु भयो । त्यसपछि उनी फिजी फर्केर फिजीयन केटीसँग वैवाहिक सम्बन्धमा बाँधिए । उनका छोराहरु भए । एउटा छोराबाट महेन्द्र चौधरीको जन्म भयो । मRijal is the best, best and best counsellor in the history of Bhutan .हेन्द्र चौधरी त्यहाँ बस्दै जादाँ फिजी लेवर पाटीको अध्यक्ष भए । १९ मे १९९९ मा उनी पहिलो इण्डो फिजी प्रधानमन्त्रीमा निर्वाचित भए । तर उनी इण्डियन मूलका प्रधानमन्त्री भएको कारणले उनको मन्त्रीमण्डललाई रतु सर कमिसेज माराको नेतृत्वले होस्टेज बनाएका थिए ।

टेकनाथ रिजालको बाजे पान्थरबाट लाहोर गएर लाहुरे भए । त्यसपछि उनी भुटानमा गएर बसोबास गर्न थाले । टेकनाथ रिजाल भुटानमै जन्मिए । उनी राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भए । तत्कालीन भुटानी राजा जिग्मी दोर्जी वाङचुकको पालामा उनी राजकीय सल्लाहकार परिषद सदस्य भए । त्यति मात्र नभएर भ्रष्टाचार आयोगका सदस्य पनि भएका थिए । राजाको विश्वासिलो पात्र थिए । राजकीय परिषदको बैठक चलिरहेको बेलामा राजाले भनेको थिए रे । “Rijal is the best, best and best counsellor in the history of Bhutan .” यतिसम्म आदर-सत्कार पाएका रिजाल अन्त्यमा उनी नेपालीभाषी भएका कारणले बिनाकारण एक दशकभन्दा धेरै जेलमा सड्नु परेको थियो । जेलमा उनका साथीहरु मुसा, गन्हाउने ट्वाइलेट र एकान्त थिए । हातमा हात कडी र खुट्टामा नेल ठोकी भुटान सरकारले उनलाई राखेका थिए । हजारौं हजार नेपालीभाषी समुदायलाई बल प्रयोग गरी लखेटे । उनीहरुले आफ्ना सिरी-सम्पत्तिसम्म सुरक्षित साथ ल्याउन पाएनन । उनीहरुले आफ्ना जन्मेको ठाउँ, आफ्ना घरहरु रुँदै छाड्न बाध्य भए । कतिका उमेर नपुगेका छोरीहरु आफ्नै अगाडि बलात्कृत भएको रमिते बनेर हेर्न बाध्य भए । भाग्ने क्रममा कतिका काखका नानीहरू बाटोमै छाडेर नेपाल पसे । उनीहरू अहिलेसम्म पनि नेपालको झापा जिल्लामा शरणार्थी बनेर बसिरहेका छन् भने कतिलाई पुनर्वासको लागि अमेरिका लगिएका छन् र लाने क्रम अझै जारी छ ।

त्यस्तो शक्तिशाली तीन-तीन वटा निकायमा पदभार समालिरहेका, त्यसमाथि राजाको अति नजिकको व्यक्ति पनि खेदिए । अब, हामी नेपालीहरुको बेलायतमा कस्तो पहिचान छ ? उसको देशको लागि लडेका गोर्खाली अहिलेसम्म सम्मानजनक रुपमा हेरेजस्तो मात्र गरेका छन् । त्यति मात्र कहाँ हो र, भी.सी. जस्ता मान्छेलाई उपचारको लागि आउनसम्म नदिएर गोर्खाली बेइज्जत गरेको तपाई हामी सबैलाई थाहा नै छ । भर्खरै केही महिनाअगाडि मात्र वेलायती एम.पी.ले गोर्खाली बारेमा नकारात्मक वक्तव्य व्यक्त गरेको अभिव्यक्ति सेलाउन पाएको छैन ।

यता, तपाई हामी भने नेपाली नयाँ वर्षको नाममा फेशन-सो गरी आधुनिकबाट अझै उतर आधुनिक बनिरहेका छौं । फेसन-शो गर्न पाउने अधिकार सबैलाई छ तर त्यो निश्चित समय र ठाउँमा गरिनु पर्दछ । हामी नेपाली नयाँ वर्षको नाममा फेसन-शो गर्छौं भने नेपाली नयाँ वर्ष भनी किन भन्ने ? रंगमञ्चको दुनियाँ मानवजातिलाई चाहिन्छ तर त्यसको पनि ठाउँ हुन्छ । कस्तो ठाउँमा कस्तो कार्यक्रम गर्नुपर्छ भन्ने उतर आधुनिक मान्छेले छुट्याउन जरुरी छ । नयाँ वर्ष जस्तो दिनमा कामुक फेसन-शोको साटोमा जातजातिका पहिरनहरु लगाएर सो गरेको भए हाम्रा भावी सन्ततिहरुलाई अवश्य राम्रो प्रभाव पार्ने थियो र नेपाली हुनुको दरिलो आत्म बलको पनि विकास हुँदै जाने थियो ।

हामीले रातो पासपोर्ट पाएका छौं या रातो पासपोर्ट लिने हक अधिकार छ । अथवा आई. एल. आर. हाम्रो साथमा छ भन्दैमा हामीहरु साँच्चै सक्कली वेलायती नागरिक हुन सक्छौं त ? कस्तुरीले आफ्नै नाभीको गन्ध सुँघेर बनै-बन खोजी हिँड्छ तर कस्तुरीलाई आफ्नै जीउबाट त्यो गन्ध आइरहेको छ भन्ने कुरा थाहा नभए झै हामीले पनि हाम्रो पहिचान थाहा नपाएका त छैनौ ?

यतिबेलादेखि नै हामीले हाम्रा भावी सन्ततीहरुलाई हामी नेपाली हौं भन्ने आत्माबलको विकास गराउनु आवश्यक छ जस्तो लाग्छ । हाम्रो संस्कार-संस्कृति उनीहरुलाई हस्तान्तरण गर्न सकेनौं भने हाम्रो रातो पासपोर्ट र आई. एल. आर. चिप्ले किराको सिंह जस्तो मात्र हुने छ । अब हामी बेलायतबासी नेपालीहरुले भनौं त भुटानी नेता टेकनाथ रिजाल र भुटानी शरणार्थी र फिजीका तत्कालीन प्रधानमन्त्री महेन्द्र चौधरी जस्तै हुन पुग्यौं भने हाम्रो भावी सन्ततिहरुका भविष्य के होलान् ?