प्रथम विश्वयुद्धका अन्तिम योद्धाको विदाइ

प्रथम विश्वयुद्धका अन्तिम योद्धाको विदाइ


लण्डन । महारानी विक्टोरिया स्वर्गवास भएको ६ हप्तापछि जन्मेका, प्रथम विश्वयुद्धमा लडेका, एकसय दश वर्ष उमेर पुगेका एकजना योद्धाको स्वर्गवास भएको समाचार हालै प्रकाशमा आएको छ । ब्रिटिश नागरिक भई जन्मेका क्लाउड कोउलेस पर्थ, अस्ट्रेलियाको एउटा नर्सिङ होममा स्वर्गारोहण भएको छ । उनी सन् १९२० ताका अस्ट्रेलियामा बसाइ-सराइ गरिबसेका थिए । चकलको उपनामले चिनिने क्लाउडले सन् १९१८ सालमा जर्मनीका पानीजहाजको बेडाले ब्रिटिश समक्ष आत्मसमर्पण गरेको र त्यसपछि अर्को सालमा जर्मनी जहाजहरुलाई भ्वाङ पार्दै समुन्द्रमा डुबाएका दृश्यहरु देखेका थिए । क्लाउडका छोरीहरुमध्ये ८४ वर्षीया डाफ्ने एडिन्जरले ….उहाँ अब यहाँ हुनुहुन्न, यस कुरालाई सम्झदा दुःखी हुन्छु, तर, जीवनको प्रक्रिया यस्तै हो .. भनेकी थिईन् ।
सातवटा बच्चाहरु मध्येका क्लाउड सन् १९०१ को मार्च महिनामा वोर्शेस्टरको पर्शोमा जन्मेका थिए । सन् १९१५मा उनी १४ वर्ष पुगेर एक महिनाको हुँदा ब्रिटिश नेभी (जलसेना) मा तालिमका लागि हस्ताक्षर गरेर भर्ना भएका थिए । तालिम सिद्धिएपछि उनी एचएमएस रिभेन्ज नामक युद्धपोतमा खटिएका थिए । नोभेम्बर १९१८मा उनले स्कटल्याण्डको फिर्थ अफ फोर्थमा जर्मनी जंगी जहाजहरुको बेडाले ब्रिटिशसमक्ष हार मानेर आत्मसमर्पण गरेको देखेका थिए । उनले अर्को द्वीप समूह स्कापा फ्रोमा सात महिनापछि जर्मनीहरुले उनीहरुका जहाजहरुको आसनमा भ्वाङ पार्दै ब्रिटिशको हात नपरुन् भनी पानीजहाजहरु डुबाएका पनि देखेका थिए । प्रथम विश्वयुद्धपछि क्लाउड नेभीसँग नै आबद्ध रहेका थिए । उनलाई सन् १९२६मा इन्स्ट्रक्टरको हैसियतमा मेलबोर्नस्थित फ्लाइण्डर्स नेभल डिपोटमा तैनाथ गरिएको थियो । त्यतिबेला बेलायतबाट अस्ट्रेलिया जाँदा यात्रु पानीजहाजमा उनका भावी पत्नी एथेललाई भेटेका थिए । क्लाउडलाई दोस्रो विश्वयुद्धको बेलामा स्थायी रुपमा अस्ट्रेलियाई जलसेनामा सरुवा गरिएको थियो । त्यसपछि उनले प्रमुख डेमोलिसन अफिसर र रोयल डकयार्ड प्रहरीको सदस्यको हैसियतमा काम गरेका थिए । उनी ५५ वर्षका उमेरमा सेवा निवृत्त भएका थिए । २ वर्षअघि उनले आफ्नो जीवनको आत्मकथा “द लास्ट अफ लास्ट” प्रकाशन गरेका थिए । अब प्रथम विश्वयुद्धमा संलग्न चिनेकाहरुमा एकजना फ्लोरेन्स ग्रीन नाम गरेकी ११० वर्षीया वृद्धा महिलामात्र जीवित छिन् भनेर जानकारी प्राप्त भएको छ । तिनले प्रथम विश्वयुद्धमा आइमाईहरुको रोयल एहर फोर्समा वेट्रेसकी काम गरेकी थिईन् । श्रोत – मेट्रो, सुमल, मेस ।