अग्निपीडित बेलायतवासी नेपाली परिवारलाई सहयोग

अग्निपीडित बेलायतवासी नेपाली परिवारलाई सहयोग


UK pic

बेलायत । नेपलिज–ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले बेलायतस्थित लेस्टरनिवासी अग्निपीडित नेपाली मधुसुदन आचार्यको परिवारलाई एक कार्यक्रमबीच राहत सहयोग हस्तान्तरण गरेको छ । गत अप्रिल २१, बिहीबारका दिन आचार्यको घरमा आगलागी हुँदा शरीरमा लगाएको एकसरो कपडाबाहेक सम्पूर्ण सरसामान खरानी भएको खबर विभिन्न पत्रपत्रिकामार्फत जानकारी पाएपछि पीडित आचार्य परिवारको सहयोगका लागि एनबीसीयूकेले सामाजिक सहयोग र उद्धारकों भावनाका साथ संस्थाका सदस्यहरूबीच राहत सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । यसरी संस्थाका सदस्यहरूको बीचबाट सङ्कलित नगद राहत सहयोग पाँच सय ५७ पाउन्डको चेक नेपाल डाइन क्याटरिङ नर्थहेम्टनमा आयोजित एक विशेष कार्यक्रमबीच संस्थाका संयोजक कमलराज खनालले आचार्य परिवारलाई हस्तान्तरण गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रम समायोजन गरिदिनुहुने सिर्जनशील लेस्टर, यूकेका अध्यक्ष पशुपति पोखरेलले समाजमा घट्ने यस्ता अप्रिय घटनालाई सामाजिक सङ्घ–संस्थाहरूले एक–आपसमा भाइचारा सम्बन्ध राखी सहयोग आदानप्रदान गर्नु र सामाजिक सहयोगको भावनाको विकास गर्नुपर्ने बताउँदै एनबीसीयूकेलाई धन्यवाद ज्ञापन गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा एनबीसीयूकेको तर्फबाट कोषाध्यक्ष राजेन्द्र ओझा तथा कार्यसमिति सदस्य ऋषि खनाल सहभागी हुनुभएको संस्थाका सचिव मिलन घिमिरेले बताए ।

– विपिन निरौला (युके)