दाउन्ने क्षेत्रमा दुर्घटना बढेपछि…

दाउन्ने क्षेत्रमा दुर्घटना बढेपछि…


बर्दघाटस्थित दाउन्ने पहाड

नवलपरासी जिल्लाअन्तर्गत पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरी निकायले अभियानकै रूपमा ट्राफिक सचेतना र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । सवारीचालकले सवारी ऐनअनुसार सवारी नचलाएपछि बर्दघाटस्थित दाउन्ने पहाड, सुनवल, बेलाटारी, कावासोती इलाकामा दुर्घटना ह्वात्तै बढेको छ भने ट्राफिक प्रहरीले सवारीचालक, स्थानीय नागरिक र सञ्चारकर्मीबीच छोटो समयको अन्तरक्रिया कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको पश्चिम ट्राफिक कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।

उपरीक्षक अधिकारीले लामो दूरीको सवारीचालकहरूको शारीरिक अवस्था चेकजाँचको प्रबन्ध मिलाइएको र सवारीचालकले खानपानमा पनि सन्तुलन अपनाउनुपर्ने सचेतना दिइएको बताए । सडकको जीर्ण अवस्था, प्रहरी जनशक्तिको कमीले पनि समस्या बढेको उपरीक्षक अधिकारीको भनाइ छ । ट्राफिक नियम पालना नगरेकै कारण दुर्घटना बढेको अवस्थामा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, यातायात व्यवसायी, शिक्षक र सरोकारवाला निकायको बीचमा संयुक्त रूपमा सचेतना पुर्‍याउन सकिए लक्ष्यमा पुग्न सकिने अवधारणा बनाइएको छ । सडक दुर्घटना बढेर सर्वत्र चिन्ता र चासो बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले पनि जिल्लाका मुख्य चोक, बजार र दक्षिणी भेगमा सवारी दुर्घटना न्यूनीकरण र लागूऔषधबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जिल्लाको नरसही गाविसमा महिला र घरेलु हिंसा न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रमलाई सहजीकरण गर्दै प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले सबैमा ज्ञान बढ्न गए यस्ताखाले विकृतिलाई हटाउन सकिने बताए । उपरीक्षक चौधरीले हिंसा रोक्न ठीक समयमा सही सूचना प्राप्त भए त्यसलाई कानुनी दायराअनुसार समाधान गर्न सकिने बताए । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा घरेलु हिंसा र लागूऔषध दुव्र्यसनीहरूको चलखेल बढ्न थालेपछि प्रहरीले गाविसअन्तर्गतका महिला सञ्जाल, राजनीतिक दल, स्थानीय क्लबका पदाधिकारीहरूले संयुक्त भेलाको आयोजना गरी दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । जिल्लाको त्रिवेणीस्थित गण्डक ब्यारेजमा नाकामा सुरक्षा कडाइ बढेपछि दुव्र्यसनीहरूले भुजहवा, बिसुनपुरा, झुलनिपुरतर्फ चलखेल बढाएको बुझिएको छ । जिल्लामा पछिल्लो तीन महिनायता ३० प्रतिशत सवारी दुर्घटना न्यूनीकरण भएको पनि बताइएको छ ।
– आरपी उपाध्याय