राजदूत सिफारिसप्रति देउवाको आपत्ति

राजदूत सिफारिसप्रति देउवाको आपत्ति


sherbahadur-deuwa

एक्काइस मुलुकका लागि सरकारले राजदूत सिफारिस गरेको सातादिन भन्दा बढी बितेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाउनुभएको छ । प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै देउवाले आपत्ति जनाउनुभएको हो ।

तेज–तीर्थ ट्रष्टले अक्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले संविधान कार्यान्वयनमा नेपाली कंँग्रेसले सरकारले भन्दा धेरै काम गरेको दाबी गर्नुभयो । उहाँले संविधान कांग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर कांग्रेसले संविधान संशोधन गर्ने उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा ट्रष्टका अध्यक्ष तीर्थमान डङ्गोल, कांग्रेस नेता कृष्ण सिटौला, सांसद भीमसेनदास प्रधान, नेपाली काँग्रेसका नेता लोकेश ढकाल, मानव अधिकारवादी नुतन थपलिया, एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीलगायतले संविधान चाँडो कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

यसैबीच उक्त ट्रष्टले स्थापना गरेको एकलाख नगद राशिको पुरस्कार एम्नेष्टी इन्टरनेसनल नेपाल शाखालाई प्रदान गरिएको छ । कार्यक्रममा सभापति देउवाले एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष अधिकारीलाई सो रकम प्रदान गर्नुभयो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ गतवर्ष स्थापना भएको सो ट्रष्टले शान्ति र लोकतन्त्र, नेपाल भाषा साहित्यको विकास र नेपाली पत्रकारितामा विशेष योगदान पु¥याएको संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।