मालिकाको नाममा मस्ती गर्ने योजना

मालिकाको नाममा मस्ती गर्ने योजना


कच्चा तेल आयात
दीपक तिमिल्सिना नामक एक सामान्य व्यापारीलाई अघि सारेर केही सत्तासीन तथा नवधनाढ्यहरूले इन्धन व्यापारलाई एकलौटि कब्जामा लिन प्रयास गरेका छन् । कच्चा तेल आयात गरी रिफाइन र बिक्री–वितरणसमेत गर्ने अनुमति हालै मालिका नामक कम्पनीलाई दिइएको छ । दीपक तिमिल्सिनाको नाममा स्थापना गरिएको उक्त कम्पनीको चालू पुँजी पाँच अर्ब रहेको छ र बीस हजार किलोलिटर इन्धन सञ्चय गर्न मिल्ने स्टोरेज ट्याङ्क निर्माण गर्ने पूर्वाधार भएको दाबी पनि उक्त कम्पनीले गरेको छ ।

दशौँ अर्बको कारोबार हुनसक्ने इन्धन व्यापारका निमित खोलिएको कम्पनी (मालिका)का मालिक दीपक तिमिल्सिना दश करोड रुपैयाँ पनि निकाल्न नसक्ने व्यक्तिका रूपमा चिनिन्छन् । तिमिल्सिनाको पछाडि नवधनाढ्य उपेन्द्र महतो र राजबहादुर सिंहसमेत रहेको बुझिएको छ । प्रधानमन्त्रीको सचिवालयका इन्द्र भण्डारी र राजेश बज्राचार्यसहितको टोली मालिकालाई इन्धनको एकलौटि व्यापार अनुमति दिलाउन लागिपर्नुले प्रधानमन्त्री केपी ओलीसमेतको संलग्नता रहेको आशङ्का छ ।

दीपक तिमिल्सिनाले उपलब्ध गराउने ‘सानो बिटो’को प्रभावमा पर्ने व्यक्तिका रूपमा भण्डारी र बज्राचार्यलाई लिइन्न । कुनै प्रकाश शर्मा नामक बिचौलियामार्फत केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई समेत ‘मालिका’मा सामेल गराइएको दाबी शर्माका निकटवर्तीहरूले गरेका छन् । मालिकाले पाएकै जस्तो (आयात, रिफाइनरी, स्टोरेज र बिक्री–वितरण) अनुमति पाउन सीजी, विराटलगायतका कम्पनीहरूले आवेदन गरेका छन् । यसअघि अनुमति प्राप्त कम्पनीहरूको इजाजतपत्र सरकारले रद्द गरेको छ र नवआवेदक कम्पनीहरूलाई इजाजत नदिन प्रधानमन्त्रीको सचिवालयदेखि एमाओवादी अध्यक्षसमेत लागिपर्नुले मालिकाको पछाडि ठूलो शक्ति रहेको सङ्केत गरेको छ ।