सिंहदरबारभित्र ओली–सरकारले देखायो काम !

सिंहदरबारभित्र ओली–सरकारले देखायो काम !


dog sinhadurbar
नेपालको इतिहासमा कामलाई भन्दा टुक्का हाल्ने र हावादारी गफ गर्ने भनेर सर्वत्र चर्चा कमाएका केपी ओली नेतृत्वको सरकारले सिंहदरबार परिसरमा अर्को एउटा जगहँसाइको काम गरेको छ । सिंहदरबार परिसरभित्रका मानवआकारप्रकारका भ्रष्ट, निकम्मा र आलश्यग्रस्त ‘प्राणी’हरूलाई व्यवस्थापन गर्न नसकेरहेको बेला बाघ नै मारे झैँ गरी साइनबोर्ड राखेर कुकुरको व्यवस्थापन गर्न खोजेको उल्लेख गरिएको छ । ओली सरकारले निकै महत्त्व दिएर ठड्याएको उक्त साइनबोर्डमा ‘सिंहदरबारभित्र कुकुरलाई प्रवेश निषेध गर्ने’ समेत उल्लेख गरिएको छ ।

गत साता टाँगिएको उक्त साइनबोर्ड हेरेर सिंहदरबार जाने प्राय: सबै मुच्र्छा पर्ने गरी हाँस्ने गरेका छन् । सिंहदरबार सचिवालय पुनर्निर्माण समिति र काठमाडौं महानगरपालिकाको ‘संयुक्त सिंहदरबार कुकुर व्यवस्थापित क्षेत्र’ घोषणा गरी साइनबोर्ड टाँसिएको हो । साइनबोर्ड पढेर खित्का छोड्दै गरेका अछामका एक सर्वसाधारणले ‘कुकुरको भन्दा सिंहदरबारभित्रको भष्ट्राचारलाई बन्ध्याकरण गर्ने प्रयत्न गरिउको भए पो काम देखिन्थ्यो’ भन्ने प्रतिक्रिया दिए । ‘जस्तो सरकारको नेतृत्वकर्ता त्यस्तै उनका कार्यन्वयनकर्ता’ भनेर व्यङ्य गरेका थिए । सिंहदरबार प्रवेश गर्नेवित्तिकै मेनरोडमै देखिने उक्त साइनबोर्ड यतिबेला मनोरञ्जनको साधन मात्र बनेको अनुभूति हुन्छ । यसरी, हावाबाट विजुली निकाल्ने, ग्यासको पाइप घर–घर पुर्‍याइदिने गफ दिने केपी सरकारले राजधानीबाट कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण अभियान चलाएर ऐतिहासिक र साहसिक काम गरेकोमा व्यङ्ग्य गर्नेको राम्रै जमात सिंहदरबारमा देखिन थालेको छ ।