ज्योतिषीय दृष्टिमा नेपाल र विश्वजगतको ०७३ साल

ज्योतिषीय दृष्टिमा नेपाल र विश्वजगतको ०७३ साल


सैन्यशक्ति प्रबल, भ्रष्टको तेजोबध

Atmaram Upreti
– ज्यो. सिद्धान्त शिरोमणि आत्माराम उप्रेती

०७३ ले नेपाल र विश्वलाई समेत दिन सक्ने फलबारे ज्योतिषीय मतमा केही झलक प्रस्तुत गरिँदै छ ।

यस वर्षका वर्षपति साधारण नाम ४४औँ सम्वत्सरको उदय भएको छ । विक्रम सम्वत् २०७३ मा राजा शुक्र र मन्त्री बुध हुनेछन् । यी दुवै ग्रह शुभ शान्त हुन् र पनि शासकहरूको अनमेल या यीबीचका झैझगडाका कारण प्रजाहरू अशान्तिले हैरान हुन्छन् । भूतपूर्व र वर्तमान शासकबीच मारामारको होडबाजी चल्नेछ । उग्रवामपन्थी र आतङ्कवादीहरूले बम–गोलाबारीसमेत गर्ने योग छ । वामपन्थीहरू सत्ताबाट बाहिरिनेछन् । वामपन्थीबाट छुटफुट भएर गएका स–साना दलहरू पुराना भूतपूर्व शासक एवम् अन्य देशबाट सञ्चालित दलहरूसँग मिल्न पुग्नेछन् र वामपन्थीहरूलाई धोका दिनेछन् । भूतपूर्व शासकको पक्षमा जनताद्वारा सैनिक आक्रमणसम्मको प्रयत्न हुनेछ ।
२०७३ सालमा गृह सुधारका लागि सेना परिचालन हुने योग परेको छ । सोमबारेऔँसी एउटा मात्र पर्ने यो वर्षको सुरुमा आकाशीय वृष्टि प्रशस्त मात्रामा नहुने हुनाले मुख्य बालीमा नकारात्मक प्रभाव पर्ने हुन्छ । सप्तमेश द्वादशमा हुँदा विदेशी स्त्रीहरूबाट राज्यमा धन आउने क्रम रहन्छ । धन स्थानको शुक्र सातौँ स्थानमा हुँदा विश्वविख्यात दानी–मानी, धनी–सुखी रोगरहित राग–द्वेष बर्जित र कृषि उन्नतिद्वारा विश्व परिचालित गराउन सफल हुन्छ । ब्रतबन्ध–विवाह पनि यस वर्ष गरेकाजति भाग्यका सूचक हुनेछन् । मानिसमा बुद्धिको विकास, धर्मको जागरण, विश्व कुन्डलीमा धर्मेश साताँै स्थानमा हुँदा राजा भएका देशमा विदेशीले राजाको खोजी र सम्मान गर्नेछन् भने राजा नभएका देशमा राजसंस्थाको चर्चा पुन: गद्दी आरोहणका प्रस्तावहरू अगाडि सारिनेछन् । धन व्यापार कारक शुक्रले राज्यमा बाटाको र व्यापार निकासको अधिकार लिएको हुँदा जनताले राज्यमा विदेशी व्यापार स्थापना तथा विदेशी राजमार्ग राष्ट्रमा हुनुपर्छ भन्ने जनहस्तक्षेपका चर्चाले प्रभाव पार्नेछन् । पश्चिम मुलुकहरूमा धार्मिक क्षेत्रको बजेटमा कटौती हुनेछ । राष्ट्रसङ्घका महासचिवमा हेरफेर हुने सम्भावना देखिन्छ ।

अष्टम भावेश मंगल तेस्रो स्थानमा स्वगृहे भई बसेको हुँदा राष्ट्रसङ्घीय अदालतबाट पहिले गरिएका उद्योग र मृत्युसम्बन्धीका निर्णयहरू सैनिकको दबाबमा फिर्ता लिनुपर्ने हुन्छ । मृत्युदण्डसम्बन्धी कानुनमा हेरफेर, मृत्यु विभागको स्वामी पापग्रह मंगल स्वगृहेको हुँदा कार्य सञ्चालकलाई सैनिकको तर्फबाट अचानक धम्की आउन सक्ने योगहरू परेका छन् । नोकरचाकरहरू मालिकसँग झगडा गरेर निक्लनेछन् । कुकुरहरूमा रोग भय हुनेछ, सेनाको कारबाहीमा मजदुरहरू धेरै मारिनेछन् । हाल भएका पश्चिमका बीस मुलुकमा देखापरेको जिका भाइरस अर्कै रूपमा भयावह हुनेछ । उत्तरी मुलुकमा सामुद्रिक आदिको प्रबल सम्भावना छ ।

प्रसस्त लाभ हुने उद्योगहरू अकारण राज्यद्वारा अथवा दैवीप्रकोप तथा उग्रपन्थीद्वारा ध्वस्त हुनेछन्, बन्धु–बान्धवादीहरूसहितलाई भोग–उपभोग र मित्रसुखबाट वञ्चित गराउँछ । शनि बक्री भई विधान मस्यौदा विभागको स्वामी हुनाले विधानको मस्यौदा हेरफेर गर्ने क्रममा वादविवादले उग्र रूप लिनेछ । देश–देशमा जातीय सम्प्रदाय सङ्घीयताको पक्षमा मंगोलियन, हिन्दू, क्रिश्चियन, इस्लामिक तथा विदेशी धर्म खरिददारहरूबीचको कचिङ्गलले गर्दा पूर्ण रूपमा वैधानिक कार्यमा उग्रवामपन्थीहरूको दबाबका कारण शीघ्र कार्य सम्पन्नतामा बाधा–अड्चन आउनेछ । काला जातिका व्यक्तिहरू विश्व सङ्गठनका प्रमुख हुनेछन् । पूर्वशासकहरू यस वर्षका सञ्चालक भइरहने छैनन् । सञ्चारमाध्यमद्वारा विपक्ष उग्रपन्थीहरूको चर्चा–परिचर्चा प्रसस्त गर्नेछन् । शनिश्चर मंगलको घरमा विराजमान हुनाले कुनै पनि देशको संविधान संशोधन कार्य सेनाको हातमा जान सक्दछ, अथवा सैनिकसँग राय बाझिन सक्नेछ ।

कृषि उत्पादनसम्बन्धी कार्यहरू प्रसस्त फलदायी हुनेछन् । तर, उत्पादित पदार्थ बाहिरिने आशङ्का हुनेछ । भूविशेषज्ञहरू पृथ्वीका पूर्व–उत्तरी भूभागमा नयाँ खालका धातु पत्ता लगाउन सफल हुनेछन् । समुद्रमा कालो धातुको अजङ्ग मूर्ति फेला पर्नेछ । तर, बक्री शनिका कारण देश–विदेशका विवादले बुद्धिमा पर्दा लाग्न सक्दछ र वैज्ञानिक नै अलमलमा पर्नेछन् ।

दिन दुईगुना, रात चौगुना खण्डवृष्टि जल–वर्षा हुने र वर्षाबाट मृत्युवरण दुई प्रतिशतले क्षति हुनेछ । कुनै ठाउँमा जलवर्षाको अधिकारी बुध सूर्य साथ हुँदा पूर्वीदेशहरूमा खडेरी र आगजनि तीव्र रूपमा हुनेछ । सैनिकको कारबाही तथा दैवी कारणले जनता मारिनेछन् । चौपाया तथा वनस्पतिमा रोगबाट विनाश गराउँछ । प्रधानमन्त्री तथा न्यायाधीशहरू सैनिक र पूर्वशासकको मिलोमतोमा सस्पेन्स वा नजरबन्द हुनसक्ने सम्भावना प्रसस्त देखिन्छ ।
केतु र सूर्यबाट शनि र मंगलको दृष्टि र राहुको गुरुलाई शत्रुभावले पूर्ण दृष्टि दिएका कारण र कानुन मन्त्रालय विधान र शिक्षा विभागको स्वामी पनि सेनाको घरमा बस्नाले कानुनी अधिकार सेनाको मातहत जान सक्छ । अन्तर्राष्ट्रिय दबाब हुनुका साथै प्रगतिमा बाधा हुनेछ पटक–पटक वार्ता र समझदारीमा असफलताको योग छ ।
पूर्वीदेशहरूले आगजनी तथा भूकम्प एवम् जल–सामुद्रिक आँधीबाट क्षति व्यहोर्नुपर्दछ । जनतामा स्वदेशी शत्रु र विदेशी शासक मित्र परेको भान पाइन्छ । वर्षको आरम्भमा आठौँ र बाह्रौँका ग्रह भोग गरेको हुँदा वैशाख महिनामा क्षति बढी गराउने देखिन्छ ।

बुँदागत रूपमा भन्नुपर्दा–

(१) यस वर्ष नौ वटा कर्मजीवी योग परेका छन् । यसको फल भनेको सामाजिक प्रतिष्ठा, खनिज, धातुजन्य पदार्थहरूको उत्पादनमा वृद्धि, व्यापारमा प्रगति हुनेछ ।
(२) मालव्य महापुरुष योगले गर्दा राष्ट्र सङ्घलाई शक्तिसम्पन्न हुनुका साथै अविछिन्न प्रतिष्ठा कायम गर्ने अवसर प्राप्त गराउनेछ ।
(३) तन्त्रमन्त्र साधना योग परेकाले मन्त्र साधना शक्तिको खोज गराउनेछ ।
(४) राष्ट्र सञ्चालकहरूलाई डरपोक, काँतर, भयभीत अल्पइच्छा एवम् परतन्त्रजीवी गराउँछ ।
(५) शंखयोग लग्नेश र दशमेश चर राशिमा हुँदा बन्दछ । सुमधुर व्यवहार आनन्दप्रिय विद्वान् जनसेवी गराउँछ ।
(६) देहपुष्ट योगका कारण पूर्ण विकसित सम्पदाको सुख हुनेछ ।
(७) मातृ दीर्घायु योग रहेको छ, यसले पञ्च–प्रकृत्ति तथा वनस्पति उद्बिजहरूको आयु वृद्धि गराउँछ ।
(८) अन्य पुत्रयोगका कारण पुत्र नहुनेलाई धर्मपुत्रद्वारा पालनपोषणको व्यवस्था हुने हुन्छ ।
(९) भाग्य योगले अत्यधिक सुख उपभोगका साधनहरू उपलब्ध हुनेछन् ।
(१०) अरिष्ठ भङ्ग योगका कारण जस्तोसुकै समय आइपरे तापनि तत्काल समाधान हुनेछन् ।
(११) लक्ष्मी धनयोग रहेकोले देश–विदेशमा पूर्वआँकलनभन्दा २५ प्रतिशत धन वृद्वि गराउँछ ।

यी त भए नेपाललगायत संसारव्यापी प्रभावको कुरा । २०७३ सालमा नेपालको राजनीतिमा पर्न सक्ने प्रभावबारे छोटकरीमा फलादेश गर्ने जमर्को गरेको छु ।

नेपाल वृश्चिक राशिबाट कहिल्यै फरक हुन सक्दैन । वृश्चिक राशि नेपालको एकादश स्थानमा विश्व लग्न परेको हुनाले र विश्वको तेस्रा स्थान भ्रातृभाव नेपाल र नेपालको शत्रुभाव विश्वको आठौँ परेको छ । विश्वलग्नको स्वामी र नेपालको स्वामी मंगल पृथ्वी कारक एवम् आकाश कारक सूर्य नेपालको छैटौँ स्थानमा हुँदा राजा, जनता र सेनाको मिलोमतोमा दलहरू बढारिन सक्ने पो हो कि भन्ने आशङ्का उब्जिन सक्छ । नेपालको विधान विभागमा केतु स्वगृहे भई बसेको हुनाले २०७३ मा संविधान संशोधन गरेमा ठीकै छ । यस वर्ष राष्ट्रको आँखा छलेर बेवारिसे बन्दुक भित्र्याउने कार्य तीव्र रूपमा हुन्छ । विधान विभागको स्वामी वृहस्पति खर्च विभागमा …हुनाले पूर्वसंविधानमा नष्ट गरिएका धर्मसम्बन्धी बुँदाहरू ८० प्रतिशत ब्युँझिनेछन् । नेपालको सातौँको स्वामी दक्षिण दिशाको अङ्क वृष राशिमा दक्षिण दिशाको प्रधानमन्त्री कारक शुक्र विश्व लग्नको व्यय विभागमा हुँदा नेपालमा हिन्दूराष्ट्र पूर्ण रूपमा खारेज गर्ने क्रममा युरोपियन मुद्रा भित्र्याउने कार्य हुन्छ । तर, मरेको बौरिने र बचाउन खोजेकोचाहिँ मर्न सक्नेछ । दक्षिण छिमेकी मुलुकको इशारामा मात्र संविधानको खाका तयारी संशोधन हुन सक्छ । अमेरिका, अस्ट्रेलिया, बेलायत, नाइजेरिया, नर्वे, नेपाल, चीन र अफगानिस्तानलाई अढैया दशा छ । नेपाल र भारतलाई शनि साढे सात लागेको छ । ल, च, अ, नबाट नामोच्चारण भएका देशहरूलाई शनि आठौँमा पुगेर मृत्यु अढैयामा र म, ट लाई गृहयुद्घ प्रवेश भएको हुँदा अरू कुनै देशको सहायता गर्न खोज्दा वा विश्वमा आफ्नो हिटलरी कायम गर्न खोज्दा अव्यावहारिक निर्णय गर्दा अचानक युद्धमा होमिनुपर्ने बाध्यता सिर्जना हुनु तथा उत्तरपूर्व क्षेत्रमा जलादी एवम् जल–भूकम्पबाट सङ्कटकालीन अवस्था सिर्जना हुन सक्दछ ।

नेपालको भूमिको स्वामी शनि नेपालको लग्नमा गोचर क्रममा पाप ग्रह पुगेको हुँदा जलउत्पन्न, दैवीप्रकोप तथा ज्वालामुखी विस्फोटबाट क्षतिग्रस्त गराउँछ । विदेशले नेपालको भूमि हस्तक्षेप गर्न खोज्नु वा नेपालको पहिले गुमेको भूमि त्यहाँ बस्ने नेपाली मूलकाले नेपालतर्फ गाभ्न मद्दत् गर्नेछन् । विदेशी लडाकुले नेपालको भूमि प्रयोग गर्न भूमिका बनाई गृहयुद्घ तीव्र गराई शान्तिका लागि भनेर सेना ओराल्न भूमि माग गर्नेछन् । नेपालले नदिनु नै हितकर हुनेछ । नेपालको भाग्य भावको स्वामी चन्द्रमा एकादश आय स्थानमा हुँदा अन्त्यमा गएर दक्षिणी मुलुकको इशारामा मात्र संविधान संशोधनमा केही बल पुग्नेछ । नत्रभने समस्या ज्युँकात्युँ रहने सम्भावना धेरै छ ।

नेपालको संविधान संशोधन गर्ने क्रममा ठूलो मात्रामा वैदेशिक धनराशि हातपर्ने योग प्रसस्त जुटेको पाइन्छ । सूर्य र बुध छैटौँ स्थानमा बसेको हुनाले र नेपालको स्वामी मंगल लग्नमा हुँदा लगभग ६० प्रतिशत जनताले भूतपूर्व राजा र सैनिकको चर्चा गर्नेछन् । विगतमा भएका समझदारीहरू अर्थहीन भई गोलमालमा पर्नेछन् । नेपालको स्वामी मंगलले आफ्ना शत्रुहरू आपैँmले तहमा ल्याउनेछ । नेपालको धर्म विभागको अधिकारी उत्तरी छिमेकी मुलुकतर्फ लागेको र धर्मसभाका सचिव चन्द्रमाको केन्द्रमा विराजमान शुक्र गुरुको दृष्टि हुनाले हिन्दूराज्य पुनर्बहाली हुने पक्षमा संशोधनमा अवश्यै बल पुग्नेछ । पश्चिमी मुलुकको दबाबमा र आय प्रलोभनमा धर्मनिरपेक्ष भने तापनि सङ्कटले बाटो नदिएपछि केही समय सबै पक्षले छलफल र बहसमा जोड गर्ने छन् । अन्त्यमा गएर दक्षिणी मुलुकको इशारामा संशोधन हुन सक्दछ । विदेशी धर्म लोप हुँदै जानेछ ।

धेरैजसो नेताको जग्गाजमिन जाँचमा पर्नेछन् । भ्रष्ट शासक एवम् उच्चपदस्थहरूमाथि कारबाही प्रबल बन्ने देखिन्छ । यस वर्ष सूर्य र बुध नेपालको छैटौँ परेको हुनाले नेपालले आफ्नो शत्रु आफैँले तह लगाउनेछ । जे हुनु छ आफैँ हुन्छ, नेताहरूलाई थाहा हुँदैन । लोकतन्त्र नेपाललाई शत्रु परेको छ भने लोकतन्त्रलाई नेपाल मृत्यु परेको छ । देशलाई व्यवस्था फापेन भने समस्या समाधान हुँदैन । पत्रकार जगत्ले यस वर्ष क्षति व्यहोर्नुपर्दछ । अन्तर्राष्ट्रिय पोल खुलेको कारण सजाय पाउनेछन् । चोर–डाँकाहरू ८० प्रतिशत सेना–पुलिसको कब्जामा पर्ने, उम्कने उपाय किञ्चित्त मात्र । तर, सरकारले डाँकाहरूलाई मिलोमतोमा राहत दिने देखिन्छ । चन्दाआतङ्क, गिरफ्तारी र पक्राउजस्ता क्रियाकलापले शान्ति र स्वतन्त्रतामा बाधा आउनेछ । राजाले श्रीपेच नखोजे पनि श्रीपेचले राजा खोजेको अवस्था प्रबल छ । राजसंस्था ब्युँझाउने अभियानकर्ताहरूको मार्ग सहज बन्दै जाने देखिन्छ ।
०७३ साल