‘पानामा पेपर्स’ मामलामा अख्तियारको दृष्टि

‘पानामा पेपर्स’ मामलामा अख्तियारको दृष्टि


अख्तियार दुरुपयोग अनुसन्धान आयोग
विश्वचर्चित ‘पानामा पेपर्स’सँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको आयोग पवक्ता कृष्णहरि पुष्करले जानकारी दिएका छन् । संसार हल्लाएको सो मामलामा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि अख्तियारको ध्यान यस मामलामा तानिएको प्रवक्ता पुष्करको कथन छ । उक्त ‘पेपर्स लिक्स’मा नेपालका एक दर्जनभन्दा बढी मुछिएको बताइए पनि ती को हुन् र उनीहरूको आर्थिक अवस्था के हो भन्ने खुलाइएको छैन ।

बताइएअनुसार नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि अख्तियारले सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरेको छ भने आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालयलगायतका निकायसँग पनि छलफल गरिरहेको छ ।

‘नेपालका केही व्यक्तिको नाम जोडिनुले अख्तियारले अध्ययन गर्नैपर्ने देखिएको’ भन्दै पुष्करले पहिलो चरणको सामान्य अध्ययन सकिएको बताए । त्यसको विवरणका आधारमा थप अध्ययन हुने उनले बताए । सबै तथ्यका आधारमा नेपालका करिब एक दर्जन अधिकारी एव् व्यवसायी मुछिएको पाइएको र त्यसले मुलुकको प्रतिष्ठामाथि पनि आँच पुर्‍याएको आयोगको ठहर छ ।

स्मरणीय छ, मध्यअमेरिकी राष्ट्र पानामास्थित कानुनी सेवा प्रदायक कम्पनी मोसाक फोन्साकाले विश्वका गैरकानुनी कारोबार एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी दिइएका सेवाका दस्तावेज सार्वजनिक गरेको थियो । विश्वका सत्तारूढ एवम् चर्चित नेता, खेलाडी, अभिनेता र व्यवसायीले कर छली गरेको उक्त पानामा पेपर्समा उल्लेख गरिएको थियो । गोप्य रुपमा अरूका सम्पत्तिको कर छलीलाई लुकाउन सहयोग गर्ने चौथो ठूलो निकायका रुपमा त्यसलाई हेरिन्छ । त्यस खुलासामा १२ देशका १ सय ४२ नेता र तिनका आफन्तले कर तिर्नु नपर्ने स्थानमा सम्पत्ति जम्मा गर्ने गरेको खुलासा गरेको हो । त्यसमा विश्वका ८० देशका पत्रकारले एक करोड १५ लाख दस्तावेजको अध्ययन गरेर नतिजाबाहिर ल्याएका थिए ।