खुला सीमाको जायज फाइदा उठाउन आग्रह

खुला सीमाको जायज फाइदा उठाउन आग्रह


प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै राजदूतले भने- ‘सबका साथ और सबका विकास’

Ranjeet Ray
भारतीय महावाणिज्य दूतावास वीरगन्ज र नेपाल–भारत महिलामैत्री समाजद्वारा जनकपुरमा ‘सीमावर्ती समस्या र समाधान’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि भारतीय राजदूत रणजित रेसमेत सहभागी सो कार्यक्रममा राजदूत रेले नेपाल–भारतको खुला सीमालाई गलत कार्यमा उपयोग गर्न नहुने बताउनुभयो । सीमासम्बन्धी समस्या समाधानको दीर्घकालीन उपाय पहिल्याउनु जरुरी रहेको उल्लेख गर्दै उहाँले खुला सीमाको जायज फाइदा लिएमा यसको विशिष्टता युगान्तकारी हुन सक्ने धारणा राख्नुभयो । वाणिज्य, पारवहनलगायतका समस्याबारे आगामी महिना हुन गइरहेको दुवै देशका सचिवस्तरीय छलफलमा ध्यानाकर्षण गराउने उहाँको कथन थियो ।

आफ्नो सम्बोधनमा राजदूत रेले भन्नुभयो, ‘नेपाल–भारत मित्रता विश्वकै इतिहासमा उत्कृष्ट रहेको छ र भारत सधैँ नेपालमा स्थायित्व र शान्ति चाहन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सधैँ ‘सबका साथ और सबका विकास’ (सबैको साथ र सबैको विकास) भन्ने मान्यताका साथ अगाडि बढिरहनुभएको छ । सदियौँदेखि रहिआएको हाम्रो सम्बन्ध दिगो रहिरहोस् भन्ने मान्यताबाट हामी अभिप्रेरित एवम् प्रयासरत छौँ ।’ विभिन्न क्षेत्रका पदाधिकारीले उठाएका प्रश्नको जवाफमा राजदूत रेले बोर्डरमा बस्नेहरूले हातेमालो गरेर स्वयम् नै समस्याका समाधान गर्न सक्ने औँल्याउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले खाद्यान्न सामग्रीको तस्करीमा वृद्धि भइरहेकाप्रति ध्यानाकर्षण गराउनुभयो भने नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले दुवै देशका नागरिकबीच कटुता उत्पन्न गराउने क्रियाकलाप बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । यस्तै, उद्योग वाणिज्य सङ्घ जनकपुरका अध्यक्ष शिवशङ्कर साहले अयोध्या–जनकपुर सडक निर्माण कार्यको चर्चा चलिरहेको स्मरण गराउँदै चर्चालाई व्यवहारमै उतार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपालको धनुषा, महोत्तरी, सर्लाही र भारतको सीतामढी र मधुवनी जिल्लाका सुरक्षा, व्यापार र सञ्चार क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रममा समाचार, मानव तस्करी, दैनिक उपभोग्य सामग्री, नेपाली रुपैयाँमा कारोबार, हातहतियार ओसारपसार, भारतीय नेपाली सवारीसाधन आवागमन, जडीबुटीको निर्यात, नागरिकता समस्याबारे छलफल भएको थियो ।

विद्यालय भवन निर्माण र नदी नियन्त्रणका लागि करोडौँ सहयोग
1 Pr 2 pic
कास्कीका विभिन्न उच्च माध्यमिक तथा माध्यमिक विद्यालयका भवन निर्माणार्थ मित्रराष्ट्र भारतले ११ करोड ५८ लाख ६० हजार सहयोग प्रदान गर्ने भएको छ । उक्त रकमबाट पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस (अनुमानित लागत चार करोड १० लाख ७१ हजार ६ सय उन्नाइस), भरतपोखरीस्थित सरस्वती टीका उमावि (अनुमानित लागत तीन करोड ७० लाख ८६ हजार सात सय उनान्साठी) र ढाँडबेसीस्थित अर्वा विजया माध्यमिक विद्यालय (अनुमानित लागत तीन करोड ७१ लाख २८ हजार पाँच सय साठी) को भवन निर्माण गरिनेछ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत निर्माण हुने यी परियोजनासम्बन्धी सम्झौतापत्रमा भारतीय दूतावासका द्वितीय सचिव रोशन लेप्चा र कास्कीका स्थानीय विकास अधिकारी नारायण श्रेष्ठबीच केही दिनअघि हस्ताक्षर भएको छ ।

यसैबीच सिँचाइ मन्त्रालयमा गत साता आयोजित एक कार्यक्रममा बागमती, लालबकैया तथा कमला नदी नियन्त्रणका लागि भारत सरकारबाट उपलब्ध ३८ करोड ६२ लाख ६ हजारको चेक नेपालका लागि भारतीय राजदूत रञ्जित रायले सिँचाइमन्त्री उमेश यादवलाई हस्ताक्षर गर्नुभयो । सो अवसरमा सिँचाइमन्त्री उमेशकुमार यादवले चुरे विनाशका कारण नेपाल र भारतले भोगिरहेको समस्यालाई संयुक्त रूपमा समाधान गर्नुपर्ने औँल्याउँदै भारततिर बग्ने नदीहरू दुवै देशका लागि प्राकृतिक वरदानकै रूपमा रहे पनि वर्षायाममा हुने क्षतिलाई न्यूनीकरण गर्न दुवै देशले संयुक्त रूपमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । संयुक्त रूपमा लड्नका लागि नै भारतले बागमती, लालबकैया तथा कमला नदीहरू नियन्त्रणका लागि सहयोग गरेको भन्दै मन्त्री यादवले त्यसप्रति आभार पनि प्रकट गरे । नेपाल–भारत बाढी तथा डुबान संयुक्त समितिले वर्तमान समयमा आपसी सहयोगमा गरेका कार्यहरू उदाहरणीय रहेको मन्त्री यादवको कथन थियो ।
1 Pr 1 pic
भारत बिहारको पटनामा बसेको नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दशौँ बैठकले यो सहयोगबारे निर्णय गरेको थियो । यसअघि सोही नदीका लागि भारतले ४२ करोड ३१ लाख ७२ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । त्यसमध्ये बागमतीका लागि १० करोड, लालबकैयाका लागि ११ करोड, कमलका लागि १६ करोड रकम छुट्याइएकोमा बागमती ४० किलोमिटर, लालबकैया ६१ किलोमिटर र कमलाका लागि ६७ किलोमिटर तटबन्ध निर्माण कार्य भएको छ ।