सिटौलाले राखे नयाँ कीर्तिमान !

सिटौलाले राखे नयाँ कीर्तिमान !


krishna prasad sitaula
नेपाली कांग्रेसमा सर्वाधिक चतुर नेताको रूपमा कृष्णप्रसाद सिटौलालाई लिन थालिएको छ । नेताहरू केबी गुरुङ, खुमबहादुर खड्का, तारानाथ रानाभाट, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र पूर्णबहादुर खड्कालगायतभन्दा कनिष्ट मानिने सिटौला दश वर्षअघि तात्कालिक कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगको निकटताका कारण रातारात शक्तिशाली बनेर उदाएका थिए । उनको भूमिकाले माओवादीलाई सहयोग पुर्‍याएको देखिएपछि कांग्रेसभित्र सिटौलाको व्यापक आलोचना हुन थालेको थियो ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा गृहमन्त्री बनाइएका सिटौलाका कारण कांग्रेसलाई अप्ठ्यारोमा पारेको ठान्न थालिएपछि सुशील कोइरालाले सिटौलाको आलोचना मात्र गरेनन्, सार्वजनिक रूपमै पदबाट राजीनामासमेत मागेका थिए । त्यसताक सुशील र सिटौलाबीचको मनमुटावलाई नजिकबाट बुझ्नेहरूले कुनै दिन सुशील कोइराला ‘पावर’मा पुगेपछि सिटौलाको राजनीतिक भविष्य सङ्कटमा पर्ने ठानेका थिए । गिरिजाप्रसादले ‘पावरफुल’ बनाइदिएका सिटौला सुशील कोइराला ‘पावर’मा आएपछि अनुमानविपरीत झनै शक्तिशाली बने । अर्को पक्षको अड्चन र विरोध रहँदारहँदै पनि सभापति रहेका सुशील कोइरालाले कृष्ण सिटौलालाई महामन्त्री बनाइछाडे । त्यस्तै केही घन्टाकै लागि भए पनि उपप्रधानमन्त्रीसम्मको हैसियत दिलाउने कार्य पनि सुशीलकै कार्यकालमा भयो ।

सुशीलको कार्यकालभर उनको सबैभन्दा निकटस्थ रही काम गरेका सिटौलाको राजनीति सुशीलसँगै सकिने अनुमान धेरैको थियो । शेरबहादुर देउवा शक्तिमा आउँदा सिटौलाको भूमिका सकिने अनुमान गर्नेहरू यतिबेला छक्क पर्न थालेका छन् । कुनै समय देउवाका विरोधी या आलोचक भनी चिनिएका सिटौला अहिले देउवासँग सर्वाधिक निकट बन्ने कसरत गर्दै छन् र उनले यसमा एक हदसम्म सफलता पनि पाएको बुझिँदै छ । आफ्नो उम्मेदवारीलाई सभापति पदमा शेरबहादुर देउवाको विजयको कारण बताउँदै देउवाको निकट बन्न पुगेका सिटौलाले कांग्रेस संसदीय बोर्ड (जसले टिकट बाँड्ने गर्दछ) को सदस्य बन्ने आकाङ्क्षा राखेका छन् । त्यस्तै, सिटौलाले खुमबहादुर खड्कालाई उपसभापति बन्न नदिन पनि अनेक कसरत गरिरहेको बताइन्छ । खड्काले ‘स्पेस’ पाउँदा आफूलाई क्षति पुग्ने ठान्दै आएका सिटौला दशकअघिदेखि नै खुमबहादुरका विरोधी मानिन्छन् । ‘खुमबहादुरलाई उपसभापति नबनाए आफू देउवालाई नि:सर्त सहयोग गर्न तयार रहेको’ सन्देश सिटौलाले देउवासमक्ष पनि पुर्‍याएको बताइन्छ । सिटौलाको यस्तो इच्छालाई सभापति देउवाले कुन रूपमा ग्रहण गर्नुभएको छ सो भने बुझन् सकिएको छैन ।

जे होस्, कृष्णप्रसाद सिटौला नेपाली कांग्रेसको इतिहासमा सूर्यप्रसाद उपाध्यायपछिको चतुर व्यक्तिका रूपमा चिनिएका छन् । फरक–फरक धारका नेतालाई आफ्नो आवश्यकताअनुरूप पट्याउन सक्ने क्षमतामा सिटौलाले कांग्रेसमा नयाँ कीर्तिमान राखेका छन् । सुशील कोइराला र गिरिजाप्रसादलाई झैं देउवालाई आफ्नो काबुमा लिन सिटौला सफल हुनसक्ने भने ठानिएको छैन ।