नयाँ वर्षको आरम्भमै निर्माण शुभारम्भ

नयाँ वर्षको आरम्भमै निर्माण शुभारम्भ


बहुप्रतीक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तत्काल प्रारम्भ हुने भएको छ । चीन सरकारको अनुदान तथा सहुलियत ऋणमा बन्न लागेको उक्त आयोजनाको निर्माण चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । विमानस्थल निर्माणमा २१ अर्ब रुपैयाँ र तीन वर्षको समय लाग्ने बताइएको छ । तात्कालिक प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा. रामशरण महतको विशेष अग्रसरतामा उक्त विमानस्थल निर्माण परियोजना सम्भव भएको थियो र निर्माणको शुभारम्भ पनि कोइराला आफैँ गर्न चाहन्थे । तर, काम गर्ने कोइराला र महत भए पनि शिलान्यास गरेर काम देखाउने अवसर भने प्रधानमन्त्री खड्गप्रसादले पाउनुभएको छ । वैशाख ८ गते निर्माण शुभारम्भ गरिनु उपयुक्त हुने सुझाव ज्योतिषीहरूबाट प्राप्त भएको भए पनि पर्यटनमन्त्रीले तत्काल गर्न जोड दिएका कारण वैशाख १ गते नै विमानस्थल निर्माण शुभारम्भ गर्ने निधो भएको हो । नेपालको सबैभन्दा राम्रो र सुविधासम्पन्न हुने दाबी गरिएको उक्त विमानस्थल निर्माणको शुभारम्भ गर्न प्रधानमन्त्री खड्गप्रसाद ओली वैशाख १ गते छिन्नेडाँडा पुगी औपचारिक कार्यक्रममा सहभागी बन्नुहुने जानकारी प्राप्त भएको छ ।
Pokhara airport