‘हावादारी’ सरकारको दिनगन्ती सुरु

‘हावादारी’ सरकारको दिनगन्ती सुरु


‘आ बैल मुझे मार’ भूमिकामा प्रधानमन्त्री ओली

KP Sharma Oli

उत्तर कोरियाझैँ चीनको काखमा बसेर ‘ठूला कुरा’ गर्ने प्रवृत्ति नेपालमा सत्तासीन वामपन्थी कम्युनिस्टहरूले दर्शाउन थालेका छन् । जुच्छे विचारका अनुयायी एवम् माओ त्से तुङका हितैषीहरूको आड–भरोसामा टिकेको खड्गप्रसाद ओली नेतृत्वको सरकारले सानातिना विषयमा पनि पश्चिमा र छिमेकी मित्रराष्ट्र भारतलाई भड्काउने व्यवहार गर्न थालेपछि ओलीले नेपाललाई पनि उत्तर कोरियाजस्तै बनाउने हो कि भन्ने चिन्ता र त्रास थपिएको छ । भारत थप आशङ्कित र सशङ्कित हुने गरी चीनसँग विभिन्न सम्झौता गर्दा असहज स्थिति उत्पन्न हुने त्रास बढेका बेला भारत र युरोपियन युनियनद्वारा जारी सामान्य वक्तव्यलाई लिएर ओली सरकारले असामान्य व्यवहार प्रस्तुत गरेपछि प्रधानमन्त्रीकै कारण वर्तमान सरकार सङ्कटमा पर्ने सम्भावना पनि बढेको छ ।

जे–जस्ता सहमति, सम्झौता या सन्धि भएका भए पनि नेपाली जनताको दैनिक जीवनमा तत्काल सकारात्मक प्रभाव र परिवर्तन आउने स्थिति देखिएको छैन । भारतीय सीमा नाकामा ६ महिनादेखि उत्पन्न अवरोध हटेर केही सहजताको स्थिति बन्दै गर्दा ईयू–भारत संयुक्त वक्तव्यलाई लिएर सरकारले आफूलाई जसरी प्रस्तुत गर्‍यो, त्यसले दुईपक्षीय सम्बन्धमा तनाव बढाउने खतरा पैदा गरेको छ । त्यसैले खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले निरन्तरता पाएसम्म नेपाल–भारत सम्बन्ध पूर्ववत् सुमधुृर हुन नसक्ने र जनताको दैनिक जीवन सहज एवम् सरल नहुने तस्बिर स्पष्ट हुँदै गएको छ ।

खड्गप्रसाद नेतृत्वको सरकार दिनप्रतिदिन एक्लिँदै गएको छ । पश्चिमा मुलुक र मित्रराष्ट्र भारतलाई ओली आफैँले चिढ्याएका छन् । उनको आफ्नै पार्टीभित्र पनि ओलीको भूमिका र क्रियाकलापलाई लिएर असन्तुष्टि बढिरहेको छ । सत्ता साझेदार दलहरू खड्गप्रसादको क्रियाकलाप र सोचसँग हैरान भएका छन् । प्रमुख साझेदार दल एनेकपा माओवादीको नेतृत्वमाथि सरकार छोड्न दबाब परिरहेको छ । न्यायाधीशलगायत अन्य महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरूमा एमाओवादीलाई स्थान नदिएको, एमालेले एकलौटि ढङ्गले शासन सञ्चालन गरेको र सरकारमा आफ्नो पार्टी सहभागी हुनुको औचित्य नदेखिएको निष्कर्ष निकाल्दै एमाओवादी नेतृत्व वर्तमान प्रधानमन्त्रीप्रति असन्तुष्ट बनेको बताइन्छ । उचित र उपयुक्त विकल्प नपाएकोले मात्र एमाओवादी सरकार छोड्ने निर्णयमा पुग्न सकेको छैन । प्रचण्डको नेतृत्व स्वीकार गर्न कांग्रेस तयार भयो भने एक मिनेट ढिलाइ नगरीकन एमाओवादी सरकार छोड्ने अवस्थामा छ ।

त्यस्तै विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि सरकारबाट बाहिरिने साइत हेरेर बसिरहेको छ । राप्रपा र राप्रपा नेपाल यो अप्राकृतिक गठबन्धनलाई धेरै लम्ब्याउने पक्षमा नरहेको बुझिँदै छ । सीपी मैनाली र चित्रबहादुर केसीलगायतका समूह सरकार ढाल्ने र निरन्तरता दिने निर्णायक हैसियतमा छैनन् । नेमकिपाका नारायणमा बिजुक्छे खड्गप्रसाद नेतृत्वको सरकार ‘राष्ट्रवादी भएकोले यसलाई ढल्न दिनुहुँदैन’ त भन्छन्, तर उनी आफैँ सरकारमा प्रत्यक्ष रूपले सहभागी छैनन् र ओली सरकार ढल्ने अवस्थामा त्यसलाई जोगाउने सामथ्र्य पनि यिनी राख्दैनन् । प्रधानमन्त्री खड्गप्रसादको आफ्नै बोली र व्यवहारका कारण सरकारको सङ्कट बढेको महसुस विश्लेषकहरूले गरेका छन् । ओलीको क्रियाकलाप ‘आ बैल मुझे मार’ भन्ने प्रचलित उक्तिको बराबर भएको बौद्धिक समुदायको निष्कर्ष छ । अहिलेसम्म सरकारबाट खड्गप्रसादलाई विस्थापित गर्ने योजना कार्यान्वयनको प्रारम्भ भइसकेको छैन । कांग्रेस संसदीय दलको नेता चयन भएपछि मात्र सरकार परिवर्तनको प्रयासले गति लिने स्थिति छ । संसदीय दलको नेता चयनसँगै विभिन्न राजनीतिक दलहरूसँग कांग्रेसले जनताको दैनिक जनजीवन सहज बनाउन सरकार परिवर्तन गर्नुपर्ने विषयमा संवाद सुरु गर्ने भएको छ ।

यसरी संवाद सुरु भएपछि वैशाखको दोस्रो साताभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धनको खाका तयार हुने अपेक्षा सम्बद्ध पक्षले गरेको छ । सकेसम्म एमाओवादीलाई पनि साथ लिएर नयाँ सरकार बनाउने र एमाओवादी नआए एमालेबाहेकका दलहरूलाई मात्र समेटेर भए पनि सरकार गठन गर्ने सोच कांग्रेस नेतृत्वको भएको बुझिन्छ । कांग्रेसको यस्तो सोचलाई सत्ता गठबन्धनका नेताहरूले ‘सरकार बनाउने, तर चलाउन नसक्ने सोच’ भनी टिप्पणी गर्ने गरेका छन् । कांग्रेसलाई एमाओवादीले साथ नदिँदा सत्तापक्ष र प्रतिपक्षबीच एकदेखि बढीमा पाँच मतसङ्ख्याको मात्र अन्तर हुने देखिन्छ र यो झिनो अन्तरलाई सत्तारुढ वामपन्थी नेताहरूले ‘कमजोर स्थिति’ भन्ने गरेका छन् ।
जे होस्, अब केपी ओली नेतृत्वको ‘हावादारी’ सरकारको दिनगन्ती सुरु भएको छ, ओलीले आगामी दिनमा आफ्नो बचाउ कसरी गर्न सक्ने हुन्, जिज्ञाशाको विषय बनेको छ ।