बबिनामाथि बर्बर आरोप !

बबिनामाथि बर्बर आरोप !


बबिना मोक्तान
पार्टीको तर्फबाट सांसद भएपछि पार्टीको नीति अङ्गीकार गर्नुपर्नेमा विद्रोही समूहलाई प्रत्यक्ष सहयोग गरेको आरोपमा राप्रपा नेपालकी व्यवस्थापिका सांसद विवादमा तानिएकी छिन् । बबिनाका ससुरा पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाविरुद्ध जेहाद छेडेर अलग्गै समूह निर्माण गर्दा पनि बबिना किन कमल थापा पक्षमै टाँसिएर रहिन् भन्ने पनि रहस्यपूर्ण रहेको पाँचथरका राप्रपा नेपालसम्बद्ध कार्यकर्ताबीच चर्चा चल्ने गरेको छ ।

सो दलसम्बद्ध एक स्रोतका अनुसार बबिना कमल थापातिरै अडिनुमा संसद् विकास कोषको बजेट प्रमुख कारण रहेको छ । विकास निर्माणका लागि भनेर छुट्टिएको रकममा ब्रह्मलुट हुन थालेपछि संसद् विकास कोषको बजेटमाथि नै प्रश्नचिह्न उठ्न थालेको परिवेशमा प्रत्येक सांसदले आफ्नो क्षेत्रमा २० लाख खर्च गर्न पाउने भएपछि सो रकममा भ्रष्टाचार पनि उत्तिकै बढेको छ । राप्रपा नेपालकी सांसद बबिना मोक्तान लावतीबाट पनि निर्वाचन क्षेत्र विकासमा खर्च गर्नुपर्ने रकममा अनियमितता भएको उनीनिकट स्रोतको दाबी छ । उनले पार्टीको जिल्ला कार्यसमितिसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा विद्रोही सङ्गठन राप्रपा नेपाल समानान्तरका कार्यकर्ता पोस्नेलगायतका निजी स्वार्थमा उक्त रकम प्रयोग गरेकी छिन् । सांसद लावतीका ससुरा पद्मसुन्दर लावतीले राप्रपा नेपालको समानान्तर सङ्गठनको नेतृत्व गर्दै पार्टी फुटाएपछि उनी सोही रकमसम्बन्धी विवादबाट उम्कन मात्र कमल थापासँग टाँसिएको प्रस्ट भएको बताइन्छ । नाम राप्रपा नेपालको भए पनि उनको व्यवहार भने विद्रोही नै देखिएको छ भनी कैयन् कार्यकर्ता आरोप लगाउँछन् ।

सांसद् लावती पार्टीले आयोजना गरेका कुनै पनि औपचारिक कार्यक्रममा उपस्थित हुने गरेकी छैनन् । पद्मसुन्दर लावतीले पार्टी विभाजन नगर्दाकै अवस्थामा अघिल्लोपटक आन्तरिक कलहकै कारण उनीमार्फत खर्च हुने रकम लावतीको जिल्लालाई नदिई केन्द्रले चितवनलाई दिएको थियो ।

यस्तै, सांसदले पार्टीको जिल्ला समितिलाई सहयोग पुर्‍याउने नीति भए पनि उनले खुलेआम रूपमै समानान्तर सङ्गठनको जिल्ला समितिलाई आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोग गर्दै रहँदासमेत पार्टीले एउटा स्पष्टीकरणसमेत नसोधेको भन्दै राप्रपा नेपालका जिल्ला पार्टी कार्यकर्ता भने अचम्मित भएका छन् । सांसद् लावतीले उक्त छुट्याइएको रकम विद्रोही सङ्गठनकै कार्यकर्ता समावेश गरेर उपभोक्ता समिति बनाई अपचलन गरेको बताइएको छ । ठूलो रकम छुट्याइएको सुखबोध मावि जोरसालका ‘सुस्त मनस्थितिका विद्यार्थीलाई सहयोग तथा पानीट्याङ्की निर्माण’ शीर्षकलाई हेर्दा रकम दुरुपयोग अझ प्रस्ट हुन्छ, जहाँ समानान्तरका जिल्ला सचिव राजकुमार जोशीलाई तीन लाखको जिम्मा दिइएको छ । जिविसमा योजना फरफारक गर्ने कर्मचारीलाई रकम चटाएपछि सम्बन्धित योजना यथार्थमा सम्पन्न भएको हो वा होइन भन्ने नहेरी फरफारक गर्ने प्रचलनले भ्रष्टाचारलाई थप बढावा दिएको हो । यसरी हेर्दा २० लाखमध्ये १० लाख पत्रिकाको नाममा आफ्नै खल्तीमा र आधा रकम विद्रोही कार्यकर्ताको खल्तीमा जाने प्रस्ट देखिएको भन्दै जिल्लाका कार्यकर्ताले यसबारे केन्द्रको ध्यानाकर्षण गराउने भएका छन् । पार्टीको तर्फबाट सांसद भएपछि पार्टीको नीति अङ्गीकार गर्नुपर्नेमा विद्रोही समूहलाई प्रत्यक्ष सहयोग गर्दासमेत राप्रपा नेपालले उनीलाई निष्कासन गर्न आँट नगरेकोप्रति कार्यकर्ताहरू आक्रोशित भएका छन् ।

– दिलजित सुब्बा, हाल काठमाडौं