जननी रेडियोमा यस्तो ज्यादती !

जननी रेडियोमा यस्तो ज्यादती !


Radio-anniversary
चैत २० गते रेडियो नेपालको ६६औँ वार्षिकोत्सव । मान्छेको भीड तर स्रष्टा कलाकार, जो रेडियो नेपालसँग पर्यायवाचीकै रूपमा जोडिएका नाम हुन्– ती सबै कहाँ हो कहाँ !? विगतका वर्षमा झैँ गीत–सङ्गीत प्रतियोगिता सम्पन्न भयो । देशैभरिका कलाकारले मौका पाउनका लागि पाँचवटै प्रसारण केन्द्रबाट कलाकार छनोट प्रक्रिया सम्पन्न गरे । आर्थिक हिसाबले निर्बल भए पनि कलाका लागि खर्च प्रशस्त, प्रतियोगिताका विजयीलाई पुरस्कार राशि राम्रो हुँदाहुँदै पनि कल्पनाभन्दा बाहिरको निर्णय भइछाड्यो । व्यवस्थापन यसरी फस्यो कि हेर्दाहेर्दै सहरमा दिउँसै डकैती भएजस्तो !

निष्पक्ष परिणामको लागि लहर चल्यो, जथाभावी निर्णय हुनै नदिने योजना बनेर पनि त्यो कसरी असम्भव बन्यो भन्दा निर्णायकमा थेप्चा नाक–चुच्चा नाक भनी समावेशीको नारा उराल्दै मन्त्रालयको ‘शक्ति’मा अल्लारे केटाहरू आउनु, कार्यालयभित्रकै सङ्गीतकर्मी विभिन्न वहानामा निर्णायकमा बसी आफ्नै घरका सन्ततिलाई उच्चतम् अङ्क हालिदिनु । हात्ती छिर्‍यो पुच्छर अड्कियो भनेको यही होला– व्यवस्थापकीय भूमिकामा रहेका कार्यकारी निर्देशक सुरेश कार्कीले जति नै स्पष्टताको नारा लगाए पनि कर्मचारीबाटै उनी झुक्किए र पूर्णरूपेण गलत निर्णय निस्किन पुग्यो ।

यसरी जननी रेडियो संस्थालाई टेकेर विभिन्न वहानामा अपराध गर्ने कामको अन्त्य नभए रोडियो नेपालको चाँडै हातपाउ बस्नेछ । स्रोताले सुन्न छाडिसकेको रेडियो नेपाल आफ्नो भविष्यप्रति कति सचेत छ, त्यो त भोलिका दिनमा खुल्दै जाला । अर्थ मन्त्रालयले अनुदानसमेत रोक्ने हल्ला चलिरहेको बेला रेडियोको सौन्दर्य– गीत–सङ्गीत र त्यसको राष्ट्रव्यापी प्रतियोगितामा पनि कर्मचारीबाटै जालझेल हुन्छ भने त्यस्ता कर्मचारी त्यहाँ अटाइरहनुको के अर्थ ?

तसर्थ, सुधारको अभियानमा कुकर्म होइन सुकर्मसाथ लाग्नुहोस्, अन्यथा एक दिन आफ्नो अपराधले आफैँ सकिने बेला नआउला भन्न सकिन्न । हत्या–हिंसाबाट राज्य कब्जा गर्ने सपना र सच्चा कलाकारलाई लत्याई ‘आफ्नो’ र भनसुनको बलमा ‘उत्कृष्ट’ बनाउँदा यस्तै पाप लाग्न सक्छ । आगामी दिनमा छातीमा हात राखी प्रण गर्दै जालझेल त्याग्ने वाचा गर्नुहोस्, किनकि बाहिर सन्देश पटक्कै राम्रो गएको छैन ।

– रेडियो नेपालका शुभचिन्तकहरू, काठमाडौं