दलको नेता पनि देउवा नै

दलको नेता पनि देउवा नै


Deuwa elected
नेपाली कांग्रेस संसदीय दलको नेता पनि प्रजातान्त्रिक विधिबाट चयन गर्न भएको प्रयासलाई सकारात्मक रूपमा लिइएको छ । सभापतिमा शेरबहादुर देउवाको विजय भएपछि एकथरीले रामचन्द्र पौडेललाई दलको सर्वसम्मत नेता बनाउनुपर्ने भन्दै त्यसनिम्ति पहल पनि गरेका थिए । सभापति देउवाले समेत सर्वसम्मत ढङ्गले दलको नेता चयन गर्नु उपयुक्त हुने धारणा प्रकट गर्न थाल्नुभएपछि जो बने पनि दलको नेता सर्वसम्मत ढङ्गले चयन होला भन्ने अनुमान गर्न थालिएको थियो ।

तर, पार्टीका अधिकांश नेता तथा प्रभावकारी सदस्यहरूले देउवामाथि दलको नेता बन्न चर्को दबाब दिए । विगतमा सुशील कोइराला र त्यसअघि गिरिजाप्रसाद कोइराला पार्टीको सभापति रहँदा पनि उहाँहरूले दलको नेता पदसमेत आफैँले लिनुभएको दृष्टान्त प्रस्तुत गर्दै दबाब दिएपछि सभापति शेरबहादुर देउवा दलको नेता पदमा चुनाव लड्न तयार हुनुभएको बुझिएको छ । मंगलबार (चैत २३ गते) सभापति देउवासँगै अर्का नेता रामचन्द्र पौडेलले पनि उक्त पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि पौडेललाई दलको उपनेता र पार्टी सरकारमा जाँदा उपप्रधानमन्त्री बनाउने गरी दलको नेतामा देउवालाई सर्वसम्मत बनाउन पनि प्रयास भएको थियो । तर, पौडेल उपनेता बन्न राजी हुनुभएन ।

सधैँभरि चुनाव लड्ने र हार्ने गर्दा ‘इमेज’ राम्रो हुँदैन भनी शुभचिन्तकहरूले दिएको सुझावलाई पनि नेता पौडेलले वास्ता गर्नुभएन । प्रकाशमान सिंहलाई प्रस्तावक र महामन्त्री डा. शशाङ्क कोइरालालाई समर्थक बनाएर पौडेलले उम्मेदवारी त दिनुभएको छ, तर उहाँलाई कोइराला पक्षका पनि कतिपयले मत नदिने सम्भावना छ । डा. शेखर कोइरालाले समेत पौडेललाई मत नदिने अनुमान गरिएको छ । यता शेरबहादुर देउवाको प्रस्तावक र समर्थकमा फरमुल्लाह मन्सुर र पद्मनारायण चौधरी रहेका छन् । मन्सुर र चौधरीले यसअघि भएको दलका नेताको निर्वाचनमा तात्कालिक सभापति सुशील कोइरालालाई मतदान गरेका थिए । पार्टीको महाधिवेशनकै समयमा दशभन्दा बढी कोइरालासमर्थक सांसदहरूले देउवालाई खुलेर समर्थन गरिसकेका थिए भने यसबीचमा पुरानो संस्थापन समर्थक दर्जनभन्दा बढी सांसदहरूले दलको नेतामा देउवालाई समर्थन गर्ने भएका छन् ।

सुशील कोइरालासँग सोह्र मतले पराजित हुनुभएका देउवाले यसपटक कम्तीमा ११० देखि १३० मत प्राप्त गर्ने विश्वास केही दिनअघिदेखि नै प्रकट हुँदै आएको हो । रामचन्द्र पौडेलले भने कम्तीमा ७६ देखि बढीमा ९७ सम्म मत प्राप्त गर्ने अनुमान विश्लेषकहरूले गरेका छन् । पराजय निश्चित भएकै कारण पौडेलका शुभचिन्तकहरूले उहाँलाई उम्मेदवार नबन्न सुझाव दिएका हुन् । डा. रामशरण महत या प्रकाशमान सिंहलाई उम्मेदवार बनाएर देउवासँग प्रतिस्पर्धामा उतार्न शुभचिन्तकहरूले सुझाव दिएका भए पनि ‘स्ट्याटस मेन्टेन’ गर्नका लागि पौडेल आफैँ उम्मेदवार बनेर मैदानमा उत्रनुपरेको बताइएको छ ।