दिल्ली भ्रमणमा जानबाट किन रोकिए प्रचण्ड ?

दिल्ली भ्रमणमा जानबाट किन रोकिए प्रचण्ड ?


Prachanda3
एमाओवादी अध्यक्ष प्रचण्डले तय भइसकेको भारत भ्रमण अन्तिम क्षणमा आएर स्थगित गर्नुभएपछि भ्रमण स्थगित गर्नुको वास्तविक कारण खोजी भएको छ । प्रचण्डको चैत २५ गते भारत भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । भारत जाने र त्यहाँका उच्चपदस्थ कर्मचारीहरू तथा कतिपय नेताहरूसँग भेटघाट तथा संवाद गर्ने कुरा सधैँ प्रचण्डको प्राथमिकतामा पर्ने गर्दछ । दिल्ली भ्रमणको अवसरलाई प्रचण्डले सधैँ अति महत्त्व दिँदै आउनुभएको छ र एक महिना मात्र दिल्लीको सम्पर्क सूत्रहरूसँग संवाद या सम्पर्क हुन सकेन भने प्रचण्ड छटपटिन थाल्नुहुन्छ । दिल्ली टाढिएको महसुस हुनेबित्तिकै प्रचण्ड नेपालभित्रै दिल्लीका दूतहरू खोज्न थाल्नुहुन्छ र ‘कुरा कहाँ बिग्रियो ? किन मसँग दिल्ली टाढिँदै छ’ भनेर सोधपुछ गर्ने गर्नुहुन्छ ।

संविधान जारी गर्ने क्रममा र त्यसपछि प्रचण्डले दिने गर्नुभएका अभिव्यक्ति र व्यवहारले नयाँदिल्लीसँग उहाँको सम्बन्ध चिस्याएको थियो । पछिल्लो समयमा प्रचण्डले दिल्लीसँगको सम्बन्ध सामान्य बनाउन चाहनुभएको छ र यसक्रममा भारतनिकटका मानिने विभिन्न व्यक्ति र एजेन्सीका मानिससँग प्रचण्डले हारगुहार गर्दै पनि आउनुभएको छ । प्रचण्डको लामो समयदेखिको अनुनयविनयपश्चात् चैत २५ गते दिल्ली भ्रमणमा जाने तिथि तय भएको थियो । भ्रमणको कार्यक्रम तय भएको सात दिन नबित्दै प्रचण्डले आफू भारत भ्रमणमा जान असमर्थ रहेको जानकारी आधिकारिक रूपमा भारतलाई गराउनुभयो । त्यसरी भारत भ्रमण तत्काल स्थगित गर्नुको कारण स्पष्ट गर्दै उहाँले ‘सरकार ढाल्नुअघि भारत भ्रमण गर्दा राम्रो सन्देश नजाने’ भनी भन्नुभएको छ । नयाँदिल्लीको भ्रमण गरेर फर्किएपछि सरकार ढाल्ने योजना कार्यान्वयनमा लाग्दा आफ्नो ‘राष्ट्रवादी’ छविमा आँच पुग्ने र राजनीतिक रूपमा राम्रो सन्देश पनि नजाने बताउँदै प्रचण्डले आफू निर्धारित मितिमा भारत जान नसक्ने जानकारी गराउँदा भारतीय पक्ष गम्भीर भएको बुझिएको छ ।

आफूलाई भारतले दिने महत्त्वको मापन गर्न मात्र प्रचण्डले भारत भ्रमणमा जाने चाहना व्यक्त गरेको हो या साँच्चै ओली सरकार विस्थापित गर्नुअघि नयाँदिल्ली जानु उपयुक्त नहुने ठानेर भ्रमण स्थगित गरिएको हो भन्ने प्रश्नमा भारतीय पक्षले गम्भीरतापूर्वक विचार गरिरहेको बुझिएको छ । यदि प्रचण्ड यथाशीघ्र सरकार छोड्न तयार हुनुभएन र ओलीलाई निरन्तरता दिने भूमिका निर्वाह गरिरहनुभयो भने प्रचण्डले आफूप्रतिको भारतीय दृष्टिकोण बुझ्न मात्र ‘भारत भ्रमणको नाटक’ रचिएको निष्कर्षमा सम्बद्ध पक्ष पुग्ने प्रबल सम्भावना छ । खड्गप्रसाद नेतृत्वको सरकार विस्थापित गर्न प्रचण्ड तत्कालै अग्रसर भएमा भने त्यसको बेग्लै सन्देश जाने विश्वास गरिएको छ । प्राप्त अर्को एक जानकारीअनुसार प्रचण्ड निर्धारित मितिमै भारत भ्रमणमा जान चाहनुहुन्थ्यो । तर, पार्टीका नेताहरूले ‘मुस्किलले बनेको राष्ट्रवादी छवि धमिलिन सक्ने र सरकार छोड्ने या ढाल्ने नै हो भने दिल्ली जानु उपयुक्त नहुने’ भनी दबाबसहितको सुझाव दिएपछि प्रचण्ड रोकिनुभएको हो । प्रचण्डले अब खड्गप्रसाद नेतृत्वको सरकार ढाल्ने भूमिका निर्वाह गर्नुहुने हो या सबै थरीलाई चक्मा दिँदै यही सरकारलाई निरन्तरता दिने भूमिका निर्वाह गर्नुहुने हो सोको जानकारीका निम्ति थप केही दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।