काठमाडौं–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन

काठमाडौं–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन


काठमाडौं–लुम्बिनी रेलमार्ग
चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीले काठमाडौंदेखि पोखरा हुँदै लुम्बिनीसम्म रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सहयोग मागेको भए पनि चिनियाँ कम्पनीले यससम्बन्धी अध्ययन केही महिनाअघि नै प्रारम्भ गरिसकेको जानकारी प्राप्त भएको छ । समाचारअनुसार चीनको सीएएमसी नामक कम्पनीले आवास तथा भौतिक योजना मन्त्रालयबाट अनुमति लिएर सम्भाव्यता अध्ययन गरेको हो र सो कम्पनीले ‘प्रिफिजिबिलिटी स्टडी’को काम सम्पन्न गर्न लागिसकेको बुझिएको छ । डीपीआर तयार भएपछि नेपाल सरकारले अनुरोध गरेमा काठमाडौंदेखि लुम्बिनीसम्मको रेलमार्गमा चीनले सघाउने बताइएको छ ।

प्राप्त जानकारीअनुसार पहिलो चरणमा काठमाडौंदेखि देवीघाट तर्फको बाटो हुँदै पोखरासम्मको रेलवे बनाइनेछ । काठमाडौंको नेपालटारबाट सुरु हुने रेलवेको पहिलो स्टेसन देवीघाटनजिक, त्यसपछि मलेखु र आँबुखैरनी हुँदै पोखरासम्म पुग्नेछ । मलेखु आसपास रेलको मर्मत–सम्भारसम्बन्धी स्टेसन बनाइने पनि बुझिएको छ । काठमाडौं–पोखरा–लुम्बिनीसम्मको रेलवे निर्माण भएपछि दोस्रो चरणमा चीनको सिगात्सेदेखि केरुङ हुँदै देवीघाटसम्म रेलवे निर्माण गरिने सम्बद्ध सूत्रले जनाएको छ । उक्त परियोजनाबारे निकट भविष्यमा चीनका राष्ट्रपति या प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा अनुदान तथा सहुलियत ऋणसम्बन्धी सम्झौता हुने बताइएको छ ।