सञ्चार संस्थालाई थप उत्तरदायी बनाइने मन्त्री राईको कथन

सञ्चार संस्थालाई थप उत्तरदायी बनाइने मन्त्री राईको कथन


sancharmantri Rai
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालका सबैखाले सञ्चार संस्थालाई मर्यादित र जनताप्रति थप उत्तरदायी बनाउने नीति सरकारको रहेको जनाएका छन् । नेपालगन्जस्थित रेडियो कृष्णसार एफएमको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले सञ्चारसंस्था जनमुखी भएनन् भने यसले समाजमा अराजकता निम्त्याउँछ, त्यसैले सबै सञ्चार संस्थाको अनुगमन र नियमन आवश्यक छ भन्ने धारणा सार्वजनिक गरेका हुन् ।

यसैगरी, सञ्चारमन्त्री रार्इले राजनीतिको नैतिक बलमा गठन भएको वर्तमान सरकार क्रमशः जनमुखी हुँदै गएको दाबी समेत गरेका छन् । प्रेस चौतारी नेपाल बाँकेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको राष्ट्रिय भावना र सरकारको प्रष्ट अडानका कारण राजनीतिक अस्तव्यस्तताको अन्त्य गर्न पनि सरकारले सफलता पाएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमण नेपालका लागि उपलब्धिमूलक र ऐतिहासिक भएको बताउँदै सरकारका प्रवक्ता राईले ती दुवै मुलुकसँग नेपालको सम्बन्ध अब नयाँ शिराबाट अघि बढ्ने विश्वास व्यक्त गरे । “जनताका प्रतिनिधिले लेखेको संविधानले गणतन्त्रलाई संस्थागत गरेको छ, मुलुकमा कानुनी शासन स्थापित भएको छ, अब संविधान कार्यान्वयनका लागि हामीबीच राष्ट्रिय सहमति आवश्यक छ, जसले संविधानप्रतिको केही असन्तुष्टि चिर्न सफल हुनेछ”– उनको कथन थियो ।

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरेर भूकम्पप्रभावितलाई पुनःस्थापनाको काम अघि बढाएको बताउँदै मन्त्री राईले जनताको दैनिक जीवनसँग सम्बन्धित विषयमा पनि सरकार त्यत्तिकै गम्भीर रहेको उल्लेख गरे भने मधेसी मोर्चाको आधारभूत माग संविधान संशोधनबाट सम्बोधन भइसकेको र प्रादेशिक सीमाङ्कनसम्बन्धी मुद्दा राजनीतिक संवाद समितिले तीन महिनाभित्र तयार गर्ने अध्ययन प्रतिवेदनका आधारमा टुङ्गो लगाइने उनको भनाई थियो ।

सोही अवसरमा सञ्चारमन्त्री राईले स्थानीय निकायको निर्वाचनको मिति छिट्टै घोषणा गरिने बताउँदै निर्वाचनका लागि सबै दललाई सहमतिमा ल्याउने प्रयास गरिने पनि बताए । सो क्रममा सरकारले आमसञ्चार माध्यमलाई थप व्यवस्थित गर्न आमसञ्चार नीति मन्त्रिपरिषद्मा प्रस्तुत गरेको र सो नीति पारित भएपछि श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक कार्यान्वयनमा आउने, सञ्चारको अनुगमन र नियमन सहज हुने, लोककल्याणकारी विज्ञापन व्यस्थित हुने र पत्रकार दुर्घटना बिमाबाट पत्रकार लाभान्वित हुने मन्त्री राईले जानकारी दिए ।