दिल्लीको ‘आमआदमी’ र बाबुराम भट्टराईको नयाँ शक्ति

दिल्लीको ‘आमआदमी’ र बाबुराम भट्टराईको नयाँ शक्ति


Birendramani-Paudel

– वीरेन्द्रमणि पौडेल

कोही प्रशंसा गर्नलायक छ भने प्रशंसा गर्न कन्जुस्याइँ गर्नुपर्दैन, न त विरोध गर्नलायक व्यक्तिको विरोध गर्न हच्किनु आवश्यक नै छ । प्रशंसा त्यसको गरिन्छ जसको काम र चिन्तन मानवहित र समाज परिवर्तनका लागि सहयोगी साबित भएको छ । विरोधको हकमा त्यो व्यक्तिको विरोध गरिन्छ, हुनुपर्छ जसको काम र चिन्तन राष्ट्रविरोधी, मानवताविरोधी र समग्र प्राणीहितविपरीत छ भन्ने प्रमाणित हुन्छ । यतिबेलाको प्रसङ्ग डा. बाबुराम भट्टराई र उनको नेतृत्वमा केही महिनाअघि मात्रै जन्मिएको नयाँ शक्ति नामक राजनीतिक दलसँग सरोकार राख्छ, जसको कतै प्रशंसा र कतै आलोचना गर्न उपयुक्त ठानिएको छ ।

डाक्टर बाबुराम भट्टराई वर्तमान नेपालका केही चर्चित नाममध्ये एउटा नाम हो । यो नाम राजनीतिक क्षेत्रसँग सम्बन्धित छ । बाबुरामजस्तै चर्चित नामहरू अरू पनि छन् । उदाहरणका लागि उनको यसअघिको पार्टी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका नेता झलनाथ खनाल, नेपाली काङ्ग्रेसका भर्खरै पार्टी सभापति बन्न सफल शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्का, डा. शशांक कोइराला, राजगद्दी छाडेका भूतपूर्व राजा ज्ञानेन्द्र, राप्रपा नेपालका कमल थापा, प्रथम राष्ट्रपति डा. रामवरण यादव, तराई–मधेसतिर ज्यादा राजनीतिक गतिविधि सञ्चालन गर्ने उपेन्द्र यादव बढी चर्चामा छन् ।

पुष्पकमल दाहाल प्रचण्ड जनयुद्ध हाँकेर जित र हारको अनुभव प्राप्त नगरी फुत्त बीचको प्वालबाट निस्केर एक्कासि प्रधानमन्त्रीको कुर्सीमा उक्लिन र एकथान फोटो सिंहदरबारमा झुन्ड्याउन सफल हुनाले, तेस्रो ठूलो दलको मालिक भए पनि क्रियाशीलता पहिलो नम्बरकै मालिकजस्तो देखाउन सक्षम भएकाले चर्चित छन् । प्रधानमन्त्री केपी ओली, विपक्षी वा अन्य कसैलाई मन परोस्–नपरोस् बोलीद्वारा नै सुन्नेहरूलाई एकैझमकमा कुर्सीबाट जुरुकजुरुक पार्न सक्षम भएकाले, कुनै जमानामा ‘को हो केपी ओली म चिन्दिनँ’ भन्न भ्याउने प्रचण्डको साथ लिएर सरकारको घोडा चढ्न सफल भएकाले, भित्र के हो थाहा छैन, तर बाहिर कसैसँग नझुकी सरकार चलाउन सफल देखिएकाले उनी चर्चामा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उमेरभन्दा बढी त्यही पार्टीबाट राजनीति गरेकाहरूलाई पछि पार्दै राष्ट्रपतिजस्तो गरिमामय पदमा उक्लिन सफल भएकी र रक्षामन्त्री हुँदा रक्षामन्त्रीकै रूपमा प्रस्तुत हुन सफल भएकीले चर्चित हुन पुगेको देखिन्छ ।

एमालेका अर्का नेता झलनाथ खनाल सधैँभरि सुकिलोमुकिलो भएर प्रस्तुत हुने चरित्रका कारण मात्रै होइन, आफ्नो पार्टीका कार्यकर्ताको ढाडमा बुई चढेर खोला तर्ने र चिट्ठा परेर प्रधानमन्त्री हुँदा छिमेकी भारतले सर्वाधिक हेला गरेर भ्रमणको निम्तो नदिएको कारण आज पनि चर्चित छन् । शेरबहादुर देउवा गिरिजाप्रसाद कोइराला नामका प्रजातन्त्रवादी बताइने र खासमा तानाशाह र अधिनायकवादी चरित्रका धनी व्यक्तिलाई पार्टीमा टक्कर दिएर, छिमेकी मुलुकको चाकडीबाजको परिचय अन्य नेताहरूले बनाइरहेको अवस्थामा ठाडै अमेरिकी लवीको नेताको परिचय बनाएर, कुनै पनि चुनाव जित्न साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्न सक्ने भएकाले र नेपालको राजनीतिक इतिहासमा राजाद्वारा असक्षम घोषित भई प्रधानमन्त्रीको पदबाट गलहत्याइएका कारण शेरबहादुर देउवा चर्चित छन् । रामचन्द्र पौडेल त्यागी र अनुशासित बन्न सक्ने, तर राजनीतिमा जाल, झेल र अनेक तिकडम पनि आवश्यकता पर्दो रहेछ भन्ने पटकपटक धोका पाउँदा पनि नचेत्ने र राजनीतिक घेरामा प्रवेश गरेपछि चाहिनेभन्दा ज्यादा आदर्शवादी बन्न हुँदैन भन्ने कुरा कत्ति पनि थाहा नपाउने नेताको परिचय बनाएका कारण यिनी चर्चित छन् । कृष्ण सिटौला पहिले गिरिजाको र पछि सुशील कोइरालाको सुरुवालको तुना दह्रोसँग समात्न सफल भइ अघि बढेको र नेपाली काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा रामचन्द्र पौडेललाई शानदार ढङ्गले पछार्न भूमिका खेलेका कारण चर्चित छन् । चर्चाका हिसाबले खुमबहादुर खड्का कम चर्चित छैनन् ।
Naya-Shakti-3
काङ्ग्रेसका मझौलादेखि तल्ला तहका प्राय: सबै कार्यकर्ताको मन जित्न सफल भई ‘खुमबहादुर दाइ’को परिचय बनाएका यिनले ‘खुमबहादुर दाइले भनिहाल्नु भो नाइँ कसरी भन्नु’ भन्ने खालका हजारौँ कार्यकर्ता बनाउन सफल यिनी भ्रष्टाचारको आरोपमा अदालतले जेलै पठाएर पनि कार्यकर्ताहरूको मन यिनीबाट टाढा नभएका कारण यिनले तेह्रौँ महाधिवेशनमा शेखर कोइरालापछिको धेरै मत ल्याएर चर्चित बने । त्यसो त उनी यतिबेला नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नैपर्छ भन्ने अभियानमा सरिक भएर पनि चर्चित भएका छन् । शशांक कोइराला आँखाको डाक्टर भएर राजनीतिको पनि डाक्टर बन्ने प्रयास गरेकाले, नेपाली काङ्ग्रेस पार्टीका महामानव वीपी कोइरालाका कान्छा छोरा भएकाले, आफूभन्दा दिग्गज नेताहरू हुँदाहुँदा महामन्त्रीको पदमा चुनाव लड्ने मौका पाएर चुनावमा विजयसमेत हासिल गरेर यिनी चर्चित भएका छन् ।

यसको अलावा यी डाक्टरले ‘अब नेपाली काङ्ग्रेस पूर्णरूपले बीपीको सिद्धान्तअनुसार चल्नुपर्छ’ भन्ने विचार व्यक्त गर्दै यतिबेलाको काङ्ग्रेसले अख्तियार गरेको नीति सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरुद्ध जाँदासमेत भरमार भोट दिएर काङ्ग्रेसीहरूले महामन्त्रीमा जिताएका कारण चर्चित बन्न पुगेका छन् । राजगद्दी छाडेका राजा ज्ञानेन्द्र गद्दीमा छँदासमेत राजा कम र राजनीतिज्ञ ज्यादा भएका कारण चर्चित भए भने विश्वमा जहाँजहाँ राजतन्त्रको अन्त्य भएको छ कतै राजा देश छाडेर भागेका छन्, कतै मारिएका छन्, त कतै जेलमा हालिएको छ, तर यी राजाले गद्दी छाड्दा विश्व इतिहासमा कतै नभएको अवस्था सिर्जना भयो । यी राजा भागेनन् । जेल परेनन् । आज पनि ठाँटसँग नेपाली जनताकै माझमा ‘इधरउधर’ गरिरहेका छन् । त्यसकारण विश्वको इतिहास बदलेका कारण भूतपूर्व राजा ज्ञानेन्द्र चर्चित छन् । कमल थापा पनि चर्चाको शिखरमै छन् ।

केपी ओली नेतृत्वको सरकारमा यतिबेला पनि शानदार खुवी प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसङ्घमा गएर नाकाबन्दीको मिलाई–मिलाई चर्को विरोध गर्न सके । भारतका नेताहरूसँग प्रस्ट कुरा राख्न सके । यसरी त चर्चा कमाएकै हुन् । यसको अतिरिक्त हिन्दूधर्म घोषणा गराउन चाहने, राजतन्त्र फर्काउन चाहनेहरूको भोट भसक्कै बटुलेर चौथो शक्तिको रूपमा स्थापित भएपछि ती जनताको भोट र विश्वासलाई कौडीको मूल्यमा बेचेर गणतन्त्रवादीहरूको सरकारमा गए । यसकारण यिनी बेजोड चर्चामा छन् । प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव राष्ट्रपतिको कुर्सीमा बहाल रहँदा सबै जनतालाई समान व्यवहार र स्नेह गर्न सफल भएका कारण, सेनापति रुक्मांगत कटवाललाई थमौती गरेका कारण र यतिबेला सरकारले उनी बसेको घरभाडा नतिरिदिएर विजोग अवस्थामा पुगेका कारण यिनी चर्चामा रहिरहेका छन् । अर्का रहे उपेन्द्र यादव । राजनीतिमा फड्को मार्दै ह्वात्त भएको मधेस आन्दोलनबाट फुत्त निस्केर लुसुक्क उपप्रधानमन्त्रीसम्मको कुर्सीमा उक्लिन सफल भएर र पछिल्लो दिनमा बिहारका पुराना मुख्यमन्त्री लालुप्रसाद यादवका अगाडि ‘भिजेको मुसो आसन’ प्रदर्शन गरेका कारण यिनी चर्चित छन् ।

उल्लेख गरिएका नेताहरू अनेक–अनेक विशेषताका कारण चर्चित छन् भने यी डाक्टर बाबुराम भट्टराईचाहिँ केही अतिरिक्त कारणले गर्दा उल्कै चर्चामा छन् । सबैभन्दा पहिले त यिनले यस्तो अवस्थामा एमाओवादी पार्टी छाडे जुन बेला भर्खरै संविधानसभाबाट संविधान जारी भएको थियो । आफूले पहिरिएको एउटा थोत्रो जुत्ताको त मान्छेलाई माया लाग्छ भने यिनले त वर्षौं बिताएको माओवादी पार्टी छाडेर, सांसद पद छाडेर पूरै पुराना राजनीतिक घेराबाट बाहिर भागे । असल असल मान्छे भेला गराएर नयाँ पार्टी खोलेर नयाँ ढङ्गबाट पार्टी हाँक्दै सरकारमा गएर नेपाललाई दुनियाँको एक नम्बरको देश बनाउँछु भन्ने सपना देख्दै–देखाउँदै नयाँ शक्ति गठन गर्न पुगे । यिनले सोचे ‘भारतको दिल्लीमा कहिल्यै राजनीतिमा नआएको अनुभवहीन अरविन्द केजरीवालले त आमआद्मी पार्टीको नामबाट विधानसभामा ७० सिटका लागि भएको निर्वाचनमा ६७ सिट जितेर चमत्कार देखाए भने म त डाक्टर बाबुराम हुँ, एकपटक देशको प्रधानमन्त्री भइसकेको मान्छे, पक्कै पनि केजरीवालकै पाराले यो देशमा नयाँ पार्टी मार्फत उदाउँछु । सपना देख्न पाइन्छ । सपना देख्न टिकट काट्नुपर्दैन, कसैको अनुमति पनि लिन पर्दैन । डाक्टर भट्टराईले पनि ठूलै सपना देखे । तर, यिनको सपनाचाहिँ कुखराको चालजस्तो भएन न त हाँसको चालजस्तै भयो । प्रयास त यिनले हिरोइनलाई पार्टीमा ल्याउँदा ठीक हुन्छ कि अर्का कुनै समाजसेवीलाई ल्याएर हुन्छ गरेकै हुन्, तर स्थापित राजनीतिक दलहरूका अगाडि यिनको यतिबेला केही जोडबल चल्लाजस्तो देखिएन ।

सुरुको तामझाम हेर्दा लाग्थ्यो– यिनले केही त गर्लान् कि ? तर, यतिबेला त्यो अवस्था छैन । यिनले सबै पार्टीबाट र नागरिक समाजबाट असल मानिस भित्र्याएर पार्टीलाई फराकिलो र मोटो बनाउँछु भन्ने सोचेका थिए, तर ठीक के हो, गलत के हो मूल्याङ्कन गर्न नसक्ने अधिकांश नेपालीको चरित्र एउटा पार्टीमा टाँसिएपछि कात्रो ओढेर घाटमा नगइन्जेल उही पार्टीमा झुन्डिने बानी नबुझ्दा डाक्टर बाबुरामलाई मज्जैले धोका हुन पुग्यो । फेरि डाक्टर बाबुरामले के पनि गल्ती गरे भने जिन्दगीको लामो समय हिंसा ठीक हो भनेर थुप्रै नेपाली जनताको शरीरबाट बाहिर निस्किएको तातो र रातो रगत हेरेका उनलाई यतिछिट्टै त्यो गल्ती जनताले बिर्सिहाल्छन् र ह्वात्तै गौतम बुद्ध मानेर गालामा म्वाई खाइहाल्छन् । उनले यही सोचे जुन सोच गल्ती नै हो । जनताको स्मरणशक्ति उतिसारो कमजोर छैन भन्ने कुरा यिनले भेउ पाउनै सकेनन् । यहीँनेर डाक्टर भट्टराई चुके । आर्किटेक्ट इन्जिनियर उनी राजनीतिक इन्जिनियर पनि बने, तर उनको राजनीतिक इन्जिनियरिङले नेपाली जनतालाई केही राहत दिएन । उल्टो अशान्ति, निराशा र अँध्यारो गन्तव्य मात्रै देखायो ।

त्यसकारण यतिबेला प्रशंसाको हकमा ‘असल असल’ मान्छे खोजेर पार्टीलाई नयाँ र शुद्ध बनाउँछु भन्ने उनको चिन्तनलाई प्रशंसा गर्न मिले पनि असल र अनुशासित मान्छेहरूको सङ्ख्या यो मुलुकमा दिनप्रतिदिन कम हुँदै गएको परिप्रेक्ष्यमा यही भन्न सकिन्छ कि बाबुराम भट्टराईलाई सफलता मिल्न गाह्रो छ । सफलता मिल्न जनताले पत्याउनुपर्छ । यदि पहिलाको ‘नेपाली रगतको पाप’ जनताले चाँडै माफ गरिदिए भने र डाक्टर भट्टराईले साँच्चै पश्चात्ताप मानेर जनतासँग पुरानो कर्मका लागि माफी मागे भने असम्भव छैन डाक्टर भट्टराईको नयाँ शक्ति दिल्लीको आमआदमीजस्तै हुनसक्छ । यिनको लोकप्रियता अरविन्द केजरीवालको भन्दा माथि हुन सक्छ, तर फेरि पनि भन्न सकिन्छ कि जस्तो अवस्था सिर्जना हुने डाक्टर भट्टराईले सोचेका छन् त्यो हुन निकै कठिन छ, भए पनि चानचुने समय काफी हुनेछैन । बीस–चालीस वर्ष अवश्य लाग्नेछ । डाक्टर भट्टराईको पुरानो मन पखालिएर सफा भइसकेको भए उनको नेतृत्वको नयाँ शक्तिलाई सफलता मिलोस् । शुभकामना !