किन ‘आफ्नै’ विमानबाट चाइना उडे ओली ?

किन ‘आफ्नै’ विमानबाट चाइना उडे ओली ?


oli-in-china
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नोसमेत साझेदारी रहेको विमान लिएर चीन भ्रमणमा जानुभएको चर्चा राजधानीमा चलेको छ । इन्भेष्टमेन्ट बैंकका मालिक पृथ्वीबहादुर पाँडे र यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाको ५१ तथा तिब्बतीयन एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको भनिएको हिमालय एयरलाइन्सको विमान लिएर ओली यतिबेला जम्बो टोलीसहित चीन भ्रमणमा हुनुहुन्छ । ३० चैतदेखि नियमित उडान अनुमति लिएको उक्त विमान यात्री बोकेर उड्नका निम्ति आवश्यक प्रक्रियासमेत पूरा भई नसकेको बताइन्छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको विमान प्रयोग गर्दा प्रधानमन्त्री भ्रमणको शोभा बढ्ने र नेवानिलाई त्यसबाट लाभ पुग्ने स्थिति भए पनि ओलीले किन ‘हिमालय’ नै रोज्नुभयो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।

हाल एमालेलाई कार्यालय सञ्चालन गर्न आफ्नो घर उपलब्ध गराउने आङछिरिङ शेर्पासँग केपी ओलीको विशेष सम्बन्ध रहिआएको छ र ओलीको मौद्रिक स्रोतका रूपमा छिरिङ चिनिन्छन् । पर्यटन तथा उड्डयनसम्बन्धी व्यवसायमा आबद्ध आङछिरिङकै इच्छाबमोजिम ओलीले पर्यटनमन्त्री बनाइदिने गरेका पनि छन् । पछिल्लो समय मन्त्री भएका कृपाशुर शर्पा र आनन्द पोखरेललाई एमालेको भन्दा आङछिरिङको प्रतिनिधिका रूपमा लिइएको छ । केपी ओली ‘हिमालय’को ब्राण्ड एम्बासडर बन्नसमेत तयार हुनुभएको बताइन्छ ।

केपी ओलीलाई आङछिरिङ शेर्पाले आफ्नो व्यवसायमा ‘साइलेन्ट पार्टनर’ बनाउनुभएकोले शेर्पाको हरेक कामप्रति ओलीको सहयोग र समर्थन हुने गरेको चर्चा राजधानीमा चलेको छ । भूकम्पले बल्खुस्थित एमाले कार्यालयलाई क्षतिग्रस्त तुल्याएपछि ओलीले नै आङछिरिङको घरबाट पार्टी काम सञ्चालन गर्ने प्रस्ताव राख्नुभएको थियो । एमालेकी तात्कालिक उपाध्यक्ष विद्या भण्डारीले ‘आफूलाई छिरिङको घरमा पार्टी कार्यालय सार्ने कुरा मन नपरेको’ बताउनुहुँदा ओलीले ‘मलाई त यो भूकम्प आएकै मन परेको छैन’ भनी हास्य जवाफ फर्काउनुभएको थियो । छिरिङको घरमा पार्टी कार्यालय सरेपछि विद्या भण्डारीले त्यहाँ पाइला नराख्नुभएको बताइन्छ । राष्ट्रपति बनिसकेपछि अब सम्भवत: भण्डारीले त्यस घरमा पाइला हाल्नुपर्ने छैन । जे होस्, यतिबेला राजधानीमा प्रधानमन्त्री केपी ओली र व्यवसायी आङछिरिङ शेर्पाबीचको सम्बन्ध र साझेदारीबारे व्यापक चर्चा–परिचर्चा भइरहेको छ ।