पोखरा विमानस्थल बन्ने सम्भावना बढेपछि सरोकारवाला दंग !

पोखरा विमानस्थल बन्ने सम्भावना बढेपछि सरोकारवाला दंग !


पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा नेपाल र चीनबीच हस्ताक्षर भएपछि सरोकार भएका पक्षले खुसी व्यक्त गरेका छन् । लामो समयदेखि चर्चामा रहे पनि कुनै पनि काम अगाडि बढ्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला चीन सरकारसँग सोमबार भएको सम्झौताले आयोजना अगाडि बढ्नेमा आशा पलाएको भन्दै विशेषतः पोखरावासीले खुसी व्यक्त गरेका हुन् ।

चीन सरकारले नेपाललाई सो विमानस्थल निर्माणका लागि रु २१ अर्बभन्दा बढी ऋण दिने भएको छ । सहुलियतपूर्ण ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। कुल ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्नेछ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज नलाग्ने बताइएको छ ।

ऋण सम्झौता भएकोप्रति खुसी व्यक्त गर्दै कास्कीका पूर्वसांसद् एवम् एकीकृत नेकपा (माओवादी)का नेता राजकाजी गुरुङले विगत ४० वर्षदेखि पोखरेली जनताको चाहना पूरा भएको र आर्थिक समृद्धिको ढोका खोलेको बताए । उनले पोखरा विमानस्थल ४ नं प्रदेशको आर्थिक समृद्धिको ढोका खोल्ने माध्यम भएको र लामो समयदेखि हुँदै आएको राजनीतिक खिचातानीको समेत अन्त्य भएको उल्लेख गरे ।
पोखरा विमानस्थल
केही दिनपहिलेको मन्त्रिपरिषद्को बैठकले सो विमानस्थल अगाडि बढाउने निर्णय गरेको थियो भने चिनियाँ ठेकेदार कम्पनी सिएमसीले प्रारम्भिक रुपमा कामसमेत सुरु गरिसकेको छ । सम्झौता भएपछि तीन महिनाको अवधि तयारीका लागि लाग्नेछ । सरकारले केही समयभित्रै सो विमानस्थलको शिलान्यास गर्नेछ । यसका लागि लामो समयदेखि रहँदै आएको जग्गा प्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत लगभग सम्पन्न भएको बताइन्छ ।

‘‘धेरै पहिले हुनुपर्ने काम अहिले आएर सम्पन्न भयो, यसलाई सकारात्मक रुपमा लिनुपर्छ’’, पूर्वमन्त्री भीम आचार्यले भने, ‘‘हामी नेपालीको काम गर्ने शैली एकदमै सुस्त र परम्परागत भएका कारण समस्या पैदा हो । तर ढिलै भए पनि ऋण सम्झौता भयो यो सकारात्मक छ ।’’

यस्तै, क्षेत्रीय होटल सङ्घ पोखराका पूर्वअध्यक्ष विप्लव पौडेल पोखरा विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौता हुनु नै महत्वपूर्ण भएको बताउँछन्। ‘‘यो निर्णय उत्साहजनक छ । पहिले नै हुनुपर्ने थियो ढिलो नै भए पनि राम्रो निर्णय भएको छ । यसले काँस्केली जनतालाई त खुसी दिएको नै छ, त्योभन्दा बढी खुसी आम नेपाली पनि भएका छन्,’’ उनले भने ।

कास्कीका सांसद् यज्ञबहादुर थापा पोखरेली जनताको लामो समयदेखिको सपना पूरा हुने चरणमा पुगेको बताए । विमानस्थल निर्माणका लागि पार्टीगत रुपमा भन्दा पनि सामूहिक रुपमा नै लागेको भन्दै उहाँले आगामी चार वर्षभित्र जुनसुकै हालतमा पनि परियोजना सम्पन्न हुनुपर्ने उनको कथन छ ।