यसरी सम्पन्न भयो उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

यसरी सम्पन्न भयो उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम


राष्ट्रिय सुरक्षा तालिम
नेपाली सेनाद्वारा आयोजित दशदिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सोमबार सकिएको छ । राष्ट्रिय हित तथा सुरक्षा मामिलाको प्रश्नमा बर्दीधारी सेनाको मात्र नभई समाजका सबै तह र तप्काको समान जिम्मेवारी रहने निष्कर्ष सहित तालिन सम्पन्न भएको हो । नेपाली सेनासहितका सुरक्षा अङ्ग र सरोकार भएका सबै निकायबीच एउटै अवधारणा बनाउने प्रमुख उद्देश्यका साथ शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सञ्चालन गरिएको थियो ।

नेपालको भूराजनीति र परराष्ट्रनीति, राष्ट्रिय सुरक्षा, सैनिक र नागरिकबीचको सम्बन्ध तथा विपद् व्यवस्थापन सम्बन्धमा कसरी सामूहिक प्रयास अघि बढाउन सकिन्छ भन्नेबारेमा तालिमका क्रममा विज्ञद्वारा प्रस्तुत गरिएको अवधारणामा समूहगत छलफल गरिएको बुझिएको छ । हाम्रा यसअघिका राष्ट्रिय सुरक्षा रणनीति तथा विदेशी र छिमेकी मुलुकले अख्तियार गरेका परराष्ट्र र सुरक्षा नीतिबारेमा विज्ञद्वारा प्रस्तुत गरेको कार्यपत्रका आधारमा राष्ट्रिय सुरक्षा नीति बनाउन सहयोग पुग्नेगरी तालिमका अवसरमा प्रशिक्षार्थीले सुझाव प्रस्तुत गरेका थिए। राष्ट्रिय सुरक्षा चुनौतीका विभिन्न अवस्थालाई बुझ्न र परिस्थितिलाई विश्लेषण गरी राष्ट्रिय सुरक्षा नीति बनाउन तथा सुरक्षा रणनीति तय गर्न सहयोग पुग्ने विश्वासका साथ सरकारका सहसचिव, नेपाली सेनाको सहायकरथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका नायब–महानिरीक्षक तहसम्मका अधिकृतलाई समावेश गरिएको थियो ।

सुरक्षा चुनौतीका विविध आयामलाई समेत समावेश गरी सञ्चालन हुने सो तालिमबाट आन्तरिक सुरक्षामा नेपाली सेनाको परिचालनलाई अझ व्यावहारिक रुपमा बुभ्mन तथा नागरिक–सैनिक सम्बन्ध सुमधुर बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ । आर्थिक, कूटनीतिक, सैनिक र सूचना तथा प्राविधिक पक्षबीचको अन्तरसम्बन्ध र यसबाट राष्ट्रिय सुरक्षामा पार्ने प्रभावबारे समेत मूल्याङ्कन एवम् परीक्षण गर्न सक्ने क्षमताको विकास गर्न तालिमबाट मद्दत पुग्ने विश्वास गरिएको नेपाली सेनाले जनाएको छ ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री भीमबहादुर रावलले राज्यका विभिन्न क्षेत्रका जिम्मेवारी र विकास निर्माण लगायत कामलाई अघि बढाउँदा राज्यको भूराजनीति र सुरक्षण नीतिलाई ध्यान दिँदै राष्ट्रिय हितमा काम गर्न योगदान पुगोस् भन्ने हेतुले उच्चस्तरीय सुरक्षा तालिम सञ्चालन गरिएको जानकारी दिए । राष्ट्रिय सुरक्षा नीति र सुरक्षा परिषद्लाई अघि बढाउने विषय सुरक्षा निकायको मात्र होइन भन्ने बुझ्न आवश्यक छ भन्दै रक्षामन्त्री रावलले लामो समयदेखिको राजनीतिक सङ्क्रमण अन्त्य गरेर अघि बढ्ने क्रममा मुलुक अत्यन्त संवेदनशील मोडमा रहेकाले ठीक बिन्दुबाट अघि बढ्न सक्नुपर्ने बताए ।

स्टाफ कलेजका समादेशक उपरथी जगदीशचन्द्र पोखरेलले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका बारेमा विशेषज्ञबाट प्रस्तुत गरिएको अवधारणामाथि समूहगत छलफल गरी राष्ट्रिय सुरक्षा नीति बनाउन सहयोग पुगोस् भन्ने मान्यताबाट तालिम सञ्चालन गरिएको जानकारी दिएका थिए ।

सहभागी प्रशिक्षार्थीका तर्फबाट इन्जिनियर महेश्वरनरसिंह केसीले राष्ट्रिय हित र सुरक्षाको विषय सेना र प्रहरीको मात्र नभई सबै नेपालीको पनि जिम्मेवारीको विषय भएका बारेमा विभिन्न कोणबाट विस्तृत रुपमा छलफल भएको जानकारी दिए भने मुलुकको सुरक्षासँग सम्बन्ध राख्ने मन्त्रालयका प्रथम तथा द्वितीय श्रेणीका अधिकृत, सुरक्षा निकाय, बैंक तथा उद्योग वाणिज्य क्षेत्र तथा विश्वविद्यालयका प्राध्यापक र व्यापारी गरी २७ जना तालिममा सहभागी थिए ।