नेपाल र चीनबीच यस्तो भयो सम्झौता

नेपाल र चीनबीच यस्तो भयो सम्झौता


Oli China
नेपाल र चीनबीच दशबुँदे सम्झौता एवम् समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन ‘ग्रेट हल अफ पिपल’मा आयोजित विशेष समारोहमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सोमबार भएको सम्झौतामा दुई देशबीच यातायात तथा पारवहन, हुम्ला र सिवारा नदी (हिल्सा)मा पुल निर्माण, व्यवस्थापन र मर्मत तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यान्वयनका लागि आर्थिक एवम् प्राविधिक सहयोग आदानप्रदान हुने उल्लेख गरिएको छ।

पोखरा विमानस्थल निर्माणका लागि सहुलियत एवम् अनुदान ऋण उपलब्ध गराउनेसम्बन्धी सम्झौता पनि भएको छ । यस्तै, नेपालमा पेट्रोल र ग्यासको सम्भाव्यता अध्ययन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ भने जलवायु परिवर्तनसँग जोडिएका विषय सम्बोधनका लागि दुई मुलुकको जनसङ्ख्या तथा वातावरण मन्त्रालयले काम गर्ने गरी सम्झौता भएको छ ।

बौद्धिक सम्पत्ति संरक्षण प्रणालीको सबलीकरण, नेपाल चीन स्वतन्त्र व्यापार संयुक्त सम्भाव्यता अध्ययन तथा नेपाल राष्ट्र बैंक र चिनियाँ बैंकिङ नियामक आयोगबीचको सम्झौता भएका छन् । ती सहमतिमा दुई देशका तर्फबाट सम्बन्धित मन्त्री तथा उच्च अधिकारीले हस्ताक्षर गरी आदानप्रदान गरेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बताइएअनुसार प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच व्यापार विविधीकरण, सीमापार सम्बन्ध र पूर्वाधार विकास, जलविद्युत् क्षेत्रमा सहकार्य, पर्यटन, आर्थिक, शैक्षिक र सांस्कृतिक विषयमा पनि छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धको विस्तृत समीक्षा हुनाका साथै सुमधुर सम्बन्ध कायम रहेकामा सन्तुष्टि जाहेर समेत भएको थियो । दुई पक्षबीच पारस्परिक विश्वास, आपसी हित र सहकार्यको प्रवद्र्धन र थप सबलीकरणका विषयमा पनि विचार आदानप्रदान भएको थियो ।

वार्तामा उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, मुख्य सचिव र वरिष्ठ अधिकारीको सहभागिता थियो ।
सोमबार नै चिनियाँ प्रधानमन्त्री खछ्याङबाट प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यको सम्मानमा दिवाभोजको आयोजना गरियो। त्यसअघि ओलीको सम्मानमा ‘ग्रेट हल अफ द पिपल’मा राजकीय सम्मान दिइएको थियो । दुवै प्रधानमन्त्रीले ‘गार्ड अफ अनर’को निरीक्षण गरेका थिए ।