कांग्रेस अब बीपीतिर !

कांग्रेस अब बीपीतिर !


BP Koirala
नेपाली कांग्रेस अब कांग्रेसको मौलिक रूपमा फर्कने सम्भावना बढेको छ । बीपी कोइरालाको विचार र दर्शनविरुद्ध गिरिजाप्रसाद कोइरालालाई प्रयोग गरी कम्युनिस्टको एजेण्डा बोक्न लगाउनेहरू पार्टीभित्र किनारा लागेपछि कांग्रेस आफ्नै रूपमा फर्कने सम्भावना बढेको हो । गिरिजाप्रसादलाई अघि लगाएर कांग्रेसलाई कम्युनिस्टको एजेण्डा बोकाउने नेताहरूमा कृष्णप्रसाद सिटौला, नरहरि आचार्य र युवा नेता गगन थापा पर्दथे । नेता रामचन्द्र पौडेल पनि त्यसबेला कोइरालाको सहयोगीमध्येका एक हुनुहुन्थ्यो । सुजाता कोइरालालगायत अन्य केही व्यक्तिले पनि गिरिजाप्रसादलाई विशेष किसिमले सहयोग पुर्‍याएका हुन् ।

तर, नेताहरू शेरबहादुर देउवा, शैलजा आचार्य (स्वर्गीय) र खुमबहादुर खड्का (जो बीपी कोइरालाको सच्चा अनुयायी मानिन्छन्) लाई त्यस प्रकरणमा एकप्रकारले भूमिकाविहीन तुल्याइएको थियो । बाह्रबुँदे सम्झौता हुँदा तात्कालिक दरबारको षड्यन्त्रमा परेर थुनामा राखिनुभएका नेता देउवाले सुरुमा बाह्रबुँदे सम्झौताप्रति पृथक धारणा राख्नुभएको हो, तर पछि देउवा उक्त सम्झौतालाई स्वीकार गर्न बाध्य हुनुभएको थियो । दरबारकै कोपभाजनमा परेर सूर्यनाथ उपाध्यायद्वारा सताइएका खुमबहादुर खड्का त अहिलेसम्म बाह्रबुँदे सम्झौताको विरोध गर्दै हुनुहुन्छ । केही समय गिरिजाप्रसाद कोइरालालाई सिटौलासँगै मिलेर सहयोग पुर्‍याउनुहुने डा. शेखर कोइराला पनि पछिल्लो समय बीपीको ‘लाइन’ छोड्नुहुँदैनथ्यो भन्ने निष्कर्षमा पुग्नुभएको छ ।

कांग्रेसलाई वामपन्थीकरण गर्ने अभियानमा प्रकाशमान सिंहको पनि भूमिका थिएन । यतिबेला सर्वाधिक मत प्राप्त गर्ने तीन नेतामा खुमबहादुर खड्का, प्रकाशमान सिंह र डा. शेखर कोइराला पर्नुभएको छ । महामन्त्रीमा विजयी डा. शशाङ्क कोइरालाले पनि कांग्रेसको वामपन्थीकरणमा कुनै योगदान पुर्‍याउनुभएको थिएन । बीपी कोइरालाको विचारलाई सान्दर्भिक र उचित ठान्नुहुने शशाङ्कले बाह्रबुँदे सम्झौताको समर्थनमा कहिल्यै बोल्नुभएको छैन । गिरिजाप्रसादको ‘लाइनमा चल्नेहरू’मध्ये नरहरि आचार्य मस्तिष्काघात भई उपचाररत हुनुहुन्छ भने कृष्ण सिटौला र गगन थापालाई मतदाताहरूले नै भूमिकाविहीन बनाइदिएका छन् ।

सहयोगी भूमिकामा रहनुभएका रामचन्द्र पौडेल पनि एकप्रकारले पाखा लगाइनुभएको छ । यसरी कांग्रेस अब बीपीवादीहरूको हातमा गएको छ । शेरबहादुर देउवा, खुमबहादुर खड्का, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, डा. रामशरण महत र विमलेन्द्र निधिजस्ता बीपीका अनुयायीहरू हाबी भएको कांग्रेस नेतृत्वले वाममैत्री परिवर्तनको विकल्पमा प्रजातन्त्रमैत्री अवस्था सिर्जना गर्न सक्ने हुन् या होइनन् चासोका साथ हेरिएको छ । उहाँहरूको पूर्वअडान र वैचारिक धारका आधारमा भने कांग्रेस अब आफ्नो मौलिक स्वरूपमा फर्कने सम्भावना छ भन्न सकिन्छ ।