दिनेश भण्डारीलाई सम्झिँदा…

दिनेश भण्डारीलाई सम्झिँदा…


Jiban Sing Bhandari
:: जीवनसिंह भण्डारी ::

०४५ सालमा हुनुपर्छ, म नारायणी यातायातबाट केन्द्रीय सदस्य भई तत्कालीन नेपाल यातायात व्यवसायी सङ्घमा आएँ । त्यसैबेला अरनिको यातायातबाट योगेन्द्र कर्माचार्य पनि यातायात क्षेत्रमा आउनुभयो । उहाँ र मेरोबीचमा मित्रता बढ्दै गयो । ०४६ मा प्रजातन्त्र आएपछि ०४७ सालमा नेपाल यातायात व्यवसायी महासङ्घको चुनावमा दिनेशजी (स्व. दिनेश भण्डारी) र योगेन्द्रजीबीच मलाई कोषाध्यक्षको उम्मेदवार बनाउने भन्ने सल्लाह भएछ । दुवैले मलाई उक्त प्रस्ताव स्वीकार गर्न आग्रह गर्नुभयो, तर त्यो पद मेरो विषयभन्दा फरक थियो भन्ने मेरो धारणा थियो । नारायणी यातायात व्यवसायी सङ्घमा कार्यवाहक अध्यक्षसमेत रहेर काम गरेको अनुभवले कोषाध्यक्षभन्दा अन्य पद नै उपयुक्त थियो । तर, साथीहरूको आग्रह मैले टार्न सकिनँ र स्वीकार गरेँ । नारायणी यातायात व्यवसायी सङ्घमा काम गर्दा पनि मैले संस्थामा आर्थिक पारदर्शिता हुनुपर्छ, पारदर्शिता नभए संस्थाको गरिमा र विश्वसनीयता पनि रहँदैन भन्ने कुरा जोडदार ढङ्गमा उठाएको थिएँ । पारदर्शिताको अभावले संस्थालाई विवादमा पार्छ भन्ने मेरो सोच र बुझाइ थियो । त्यसैअनुसार मैले काम गरँे भन्ने मलाई लाग्छ ।

नेपाल यातायात व्यवसायी महासङ्घको कोषाध्यक्षको जिम्मेवारी लिएपछि मैले नारायणी यातायात व्यवसायी सङ्घको सोचलाई अघि बढाउने काम गर्न थालँे । त्यसैक्रममा संस्थाभित्र दुई विचारको जन्म भयो । दुवै विचार पछि गएर यातायात क्षेत्रमा दुई समूहमा विभाजित हुन पुग्यो । एउटा समूहको नेतृत्व मैले गरेँ भने अर्को समूहको नेतृत्व अर्कै साथीले गर्नुभयो । तथापि, हामीबीच कुनै व्यक्तिगत दुश्मनी भने थिएन, केवल सोच–शैलीमा भिन्नता थियो । मेरो समूहमा योगेन्द्रजी र म रह्यौँ भने दिनेशजी अर्को समूहमा रहनुभयो । तर पनि मलाई उहाँले के भन्नुभयो भने, ‘मेरो आत्माले तपाईंलाई नै सपोर्ट गरेको छ, म तपाईंलाई नै साथ दिन्छु, तपाईंको भावना मैले बुझेको छु, तपाईं निर्धक्क अघि बढ्नुहोस् ।’ पछि उहाँले दुवै समूहलाई मिलाउने प्रयत्न पनि गर्नुभयो । सोचको नितान्त फरकपनका कारण समूहगत एकता भने हुन सकेन । त्यसपछि दिनेशजीलाई मैले पनि भनँे, ‘हामी एक न एक दिन अवश्य एक ठाउँमा पुग्छौँ, अहिले केही समय अलग रहँदा पनि तपाईं र मेरो भावना फरक छैन ।’ जवाफमा उहाँले ‘ठीकै छ’ भन्नुभयो ।

जीवनमा कहिलेकाहीँ राम्रो काम गर्ने सोच या असल नियत राखेर गरेको कामले पनि आलोच्य तुल्याउँदोरहेछ, नैतिक रूपले दायित्व लिनुपर्ने बनाउँदोरहेछ । मैले पनि त्यस्तो नियति व्यहोर्नुप¥यो । नेपाल यातायात व्यवसायी सङ्घ, जसलाई मैले आफ्नो जन्मदिने बाबुआमासरह सम्मान र श्रद्धा गरेँ भन्ने लाग्छ । मैले तीन दशक यातायात क्षेत्रमा काम गर्दा एक रुपैयाँ तलब–भत्ता लिइनँ । सरकारबाट गठित समितिको अध्यक्ष हुँदासमेत एक पैसाको कुनै सुविधा लिइनँ । यातायात व्यवसायी महासङ्घ र त्यस क्षेत्रको गरिमा घटाउने कुनै कार्य गरिनँ र सरकारलाई पनि विभिन्न तरहले सघाएँ, व्यवसायी र सरकारी निकायबीच सम्बन्ध बिग्रने होइन हरदम मिलाउने काम नै गरेँ भन्ने लाग्छ । तर, मेरै पालामा मेरै कारण नेपाल यातायात व्यवसायी सङ्घ विभाजित हुन पुग्यो । म आफ्नो सोच राम्रो हो भनी त्यसलाई व्यावहारिक तवरमा लागू गराउन चाहन्थँे, तर त्यतिबेलाको अर्को समूह भने मेरो विपक्षमा थियो । मैले त्यही सङ्घमा रहेर विचार र व्यवहारले नै जित्नुपर्ने थियो, तर त्यसबेलाको मेरो उमेर–अनुभवजन्य व्यवहारले गर्दा होला, म आफ्नो सोचलाई रातारात लागू गराउने धुनमा रहँे । मेरो विचारमा यातायात व्यवसायीलाई जोगाउन र यातायात सञ्चालनमा यात्रुका गुनासाहरूलाई सम्बोधन गर्न ढिलाइ गर्नुहुँदैन भन्ने मेरो तीव्र धारणाले समस्या थपिन पुग्यो ।

यही कारण मैले तत्कालीन प्रधानमन्त्रीलाई भेटेर आफ्नो सोचको विषयमा व्याख्या गरँे । प्रधानमन्त्री मेरो सोचप्रति सकारात्मक हुनुभयो र ‘तपाईंको सोचलाई सफल पार्न आवश्यक पर्ने कुरा के–के हुन्, त्यो उपलब्ध गराउनु’ भन्नुभयो । त्यसैबेला व्यवसायी सङ्घबाट एउटा छुट्टै समूहले ट्रक व्यवसायीहरू फुटेर अर्को अलग सङ्घ दर्ता गरेका थिए । यस अवस्थामा मैले प्रधानमन्त्रीज्यूसँग नेपालमा यातायात क्षेत्रमा सुधार गर्न नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नाम गरेको संस्था दर्ता गराइदिन आवश्यक सहयोग मागँे । तत्कालिक प्रधानमन्त्रीज्यूबाट तत्कालीन कांग्रेस नेता भीमबहादुर तामाङ र प्रधानमन्त्रीका स्वकीय सचिव शारदाप्रसाद दाहाललाई उक्त कामका लागि सहयोग गरिदिन खटाउनुभयो । त्यसपछि मेरा मित्र योगेन्द्र कर्माचार्यसँग मैले अध्यक्ष बस्न अनुरोध गरेँ, सुरुमा उहाँले मान्नुभएन । ‘म चुनाव हारेको व्यक्तिभन्दा अर्कै व्यक्ति राख्न उपयुक्त हुन्छ’ भन्ने सुझाव उहाँले दिनुभयो । तर पछि प्रधानमन्त्रीज्यूले उहाँ र मलाईसमेत बोलाएर अध्यक्ष योगेन्द्रजी नै रहनुपर्छ भनी सुझाव दिनुभएपछि उहाँ राजी हुनुभयो । महासचिवमा विष्णु शिवाकोटीलाई राखेर नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन पुग्यो । केही समयसम्म उक्त महासङ्घको तीव्र विरोध भयो । यातायात क्षेत्रमा पुनः अर्को पनि संस्थाले आफूलाई महासङ्घमा परिणत ग¥यो ।

यातायात क्षेत्रलाई सुधार गर्ने क्रममा मैले आफ्नो पालामा दुई महासङ्घलाई पुनः एकीकरण गर्ने अठोट गरेँ र देशभरका यातायात व्यवसायीलाई पत्रपत्रिकामार्फत सार्वजनिक अपिल गर्दै देशका विभिन्न भागमा यातायात व्यवसायीसँग कार्यक्रम आयोजना गर्ने काम गरेँ । यस क्रममा सर्वप्रथम कास्कीको पोखरामा सबै स्थानीय संस्थाहरूलाई भेला गरी त्यहीँबाट आफ्नो अभियान सुरु गरेँ । केही वर्षको प्रयासपछि सम्पूर्ण यातायात व्यवसायीको सहयोगबाट पुनः हामी यातायात एकीकरणको सफलताको बिन्दुमा पुग्यौँ ।
Dinesh-Bhandari (1)
त्यसबेला एकतिरको नेतृत्व दिनेश भण्डारीले लिनुभयो भने अर्कोतिरको योगेन्द्र कर्माचार्यले नेतृत्व गर्नुभएको थियो । जसका कारण हामी तीनजना एक ठाउँ हुनासाथ यातायात एकीकरणको बाटो सहजै खुलेको थियो । त्यसपछि हामीले आफ्ना पहिलेकै सोचअनुसार संस्थालाई अगाडि लैजाने निर्णय ग¥यौँ । उक्त सोच तीनैजना मिलेर पूरा गर्ने वचनबद्धता प्रकट भयो र यातायात एकीकरणपछिको नेतृत्व कसले लिने भन्ने विषयमा एउटा महत्वपूर्ण निर्णय गर्ने अभिभारा मेरो टाउकोमा थियो । मैले योगेन्द्रजी धेरै अनुभवी र सिनियर हुनुभएकाले उहाँलाई नै प्रस्ताव गरेँ, तर योगेन्द्रजीले ‘मैले धेरै समय अध्यक्षको पद सम्हालिसकेको छु, एकचोटि दिनेशजीलाई नै जिम्मेवारी दिएर हेरौँ’ भन्नुभयो । उहाँको प्रस्तावलाई मैले पनि समर्थन गरेँ, फलस्वरूप दिनेशजी नै अध्यक्ष बन्नुभयो र आफ्नो यातायात क्षेत्रको नयाँ जिम्मेवारीको यात्रा अघि बढाउनुभयो । यातायात एकीकरण गरेबापत मैले तत्कालीन प्रधानमन्त्रीबाट एकीकरणको सम्मान लिँदै यायातात क्षेत्रबाट बिदाइ लिएँ । तर पनि दुई साथीको अनुरोधमा हामीबीच एउटा सहमति भयो । महत्वपूर्ण कामको निर्णय लिँदा तीनजनाकै सहमतिबाट गर्ने भनी चण्डेश्वरी भगवतीको मन्दिर बनेपा गई हामीले यातायात क्षेत्रलाई सुधार गर्ने, कहिल्यै विमति नराख्ने शपथ लियौँ ।

आज दिनेशजीको सम्झनामा मसँग रहेको त्यसबेलाको लिखित माइन्युट बुकले सम्झनाका यी शब्द कोर्न बाध्य तुल्यायो । दिनेश भण्डारीले यातायात क्षेत्रमा तीन दशकभन्दा लामो अवधि निष्कलङ्क, निस्वार्थ ढङ्गले योगदान पु¥याउनुभयो । उहाँको कारण नेपालभरका पङ्क्तिकारलगायत सम्पूर्ण यातायात व्यवसायीहरू र सरोकारवाला सरकारी निकायहरू, राजनीतिक दलहरूसमेतलाई मर्माहत बनाएको छ । दिनेशजीको तेह्रौँ पुण्यतिथिका अवसरमा महासङ्घको पूर्वसंरक्षकको नाताले उपस्थित हुँदा मैले त्यहाँ विभिन्न वक्ताका विचार सुनेँ । स्वर्गीय दिनेश भण्डारी नेपालको यातायात क्षेत्रमा एउटा सम्मानित व्यवसायी नेताको रूपमा अमर रहने एक सफल व्यक्तित्व हुनुहुनेछ र उहाँसँगै हामीले बनाएको संयुक्त सोचलाई यातायात व्यवसायीलाई जोगाउने अनि यातायात क्षेत्रलाई सुधार गरी सर्वसुुलभ ढङ्गले यात्रुले सेवा पाउने अधिकारलाई तत्काल व्यवहारमा लागू हुनेगरी अघि बढाउनुपर्छ भन्ने मेरो अन्तरआत्माले महसुस ग¥यो ।

त्यसैले, केही दिनअघि मात्र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी राजधानीबाट तत्काल यातायात क्षेत्रलाई सुधार गरी यात्रुहरूले पाएको दुःख अन्त्य गर्न र यातायात व्यवसायीको समस्या समाधान गर्न विनम्र अनुरोध गरँे । प्रधानमन्त्रीज्यूबाट अत्यन्तै सकारात्मक रूपमा ग्रहण गरी सुझावका लागि धन्यवादसमेत प्रदान गर्नुभयो । आशा गरौँ, दिनेशजीलगायत हामी सबैको चाहनामा ने.रा.या.व्य. महासङ्घ र सरकार दुवै पक्ष एकै ठाउँमा उभिएर कार्य अघि बढोस् । यसो हुन सके मात्र स्व. दिनेश भण्डारीको आत्माले शान्ति पाउनेछ ।

(लेखक यातायात सुधार समितिका पूर्वअध्यक्ष एवम् ने.रा.या.व्य. महासङ्घका पूर्वसंरक्षक हुनुहुन्छ ।)