किन दिन्छ स्लामिक स्टेट ‘यौनदासी’लाई गर्भनिरोधक ?!

किन दिन्छ स्लामिक स्टेट ‘यौनदासी’लाई गर्भनिरोधक ?!


islamic_state_woman
एजेन्सी । अत्यन्त अमानवीय कर्मका कारण यतिबेला विश्वभर कुख्याति कमाइरहेको चरमपन्थी सङ्गठन इस्लामिक स्टेटले ‘सेक्स स्लेभ’ अर्थात् यौनदासीहरूलाई अलग–अलग प्रकारका गर्भनिरोधक दिने गरेको एक जाँचबाट पत्ता लागेको छ । आतङ्ककारी लडाकाहरूलाई निरन्तर यौनदासी आपूर्ति गर्न सकियोस् भन्ने उद्देश्यले सो सङ्गठनले यौनदासीहरूलाई गर्भनिरोधक दिने गरेको ‘न्युयोर्क टाइम्स’ले जनाएको छ । इराकमा सङ्गठनबाट उम्कन सफल पैँतीसभन्दा बढी यजिदी महिलासँगको साक्षात्कारपछि अखबारले यो कुरा प्रकाशमा ल्याएको हो ।

बताइएअनुसार अपहरित महिलाको गर्भनिरोधका लागि इस्लामिक स्टेटले औषधि या इन्जेक्सन र कहिलेकाहीँ दुवै उपायको समेत अवलम्बन गर्ने गर्दछ । महिला गर्भवती नबनुन् ता कि ज्यादाभन्दा ज्यादा आतङ्ककारी लडाकाहरूको यौनतुष्टिका लागि तिनको प्रयोग गर्न सकियोस् भन्नेमा उक्त सङ्गठन अत्यन्त सजग रहने गरेको बताइन्छ ।
बताइएअनुसार महिलाले गर्भधारण गरिहाले जबर्जस्ती गर्भपात गराइन्छ र तिनलाई पटक–पटक यौनकर्ममा प्रयोग गरिन्छ । इस्लामिक स्टेटले यजिदीहरूलाई ‘सैतानको उपासक’ ठान्ने गरेको ‘न्युयोर्क टाइम्स’को दाबी छ । यजिदीहरूको धर्ममा इसाई, फारसी र इस्लाम धर्मको अंश मिसिएको आक्षेप पनि इस्लामिक स्टेटले लगाउँदै आएको छ ।
पीडित महिलाको स्वास्थ्य–परीक्षण कार्यमा संलग्न एक गाइनोकोलोजिस्टलाई उद्धृत गर्दै बताइएअनुसार इराकमा संयुक्त राष्ट्रसङ्घको मद्दतमा चलिरहेका क्लिनिकमा करिब सात सय यस्ता महिला पुगेका छन् जो इस्लामिक स्टेटका आतङ्ककारी लडाकाबाट बलात्कृत भएका छन् । तर, यीमध्ये केवल पाँच प्रतिशतले मात्र गर्भधारण गरेका छन् । संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवाधिकार सङ्गठनहरूले इस्लामिक स्टेटमाथि सुनियोजित तवरले महिला एवम् कम उमेरका किशोरीको अपहरण र बलात्कारमा संलग्न रहँदै आएको आरोप लगाउँदै आएका छन् । कतिपय मानवाधिकार सङ्गठन त यतिसम्म आरोप लगाउँछन् कि इस्लामिक स्टेटका लडाकाले १२ वर्षसम्मका किशोरीमाथि पनि बलात्कार गर्न हिच्किचाउँदैनन् ।

स्लामिक स्टेटले आफ्ना कतिपय लडाकालाई यौनतुष्टिको निम्ति यजिदी युवती इनाम दिन्छ भने कैयन युवतीचाहिँ यौनदासीको रूपमा बिक्री गरिन्छन् । सन् २०१४ मा मात्र पाँच हजार यजिदी पुरुष र महिलालाई चरमपन्थीहरूले आफ्नो पकडमा लिएका थिए । यीमध्ये लगभग दुई हजारचाहिँ या त इस्लामिक स्टेटको पकडबाट भाग्न सफल भए या तिनलाई लुकिछिपी त्यहाँबाट भगाइएको थियो ।