मन्त्रिपरिषद्का पूर्वअध्यक्षद्वारा नयाँदिल्लीमा सम्बोधन

मन्त्रिपरिषद्का पूर्वअध्यक्षद्वारा नयाँदिल्लीमा सम्बोधन


Regmi 2
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा सहभागी भई् सम्बोधन गरेका छन् । भारतका चर्चित आध्यात्मिक गुुरु श्री श्री रविशंकरद्वारा स्थापित सँस्था The Art of Living तथा अन्य विभिन्न सामाजिक सँस्थाहरुको आयोजनामा २०७२ फागुन २८ गतेदेखि शुरु भएको महोत्सवको समापन कार्यक्रममा सम्बोधन गर्दै रेग्मीले साँस्कृतिक विशेषताले विश्वमा मानवीय सेवामा अघि बढ्न उत्प्रेरित गर्ने हुँदा यसप्रकारको साँस्कृतिक महोत्सवले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका उनका सहयोगी राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।

विगतमा आध्यात्मिक गुरु श्री श्री रविशंकर नेपाल भमणमा आएको स्मरण गर्दै द आर्ट अफ लिभिङले समाजमा शान्ति, सद्भाव र सकारात्मक विचारको प्रवर्धनमा सहयोगी बनेको धारणा उनले व्यक्त गरे । महोत्सवको समापन समारोहमा सम्बोधनकै क्रममा रेग्मीले नेपाल र भारतबीच साँस्कृतिक सम्बन्ध कायम रहेको बताउँदै साँस्कृतिक एवं सामाजिक रुपमा समेत समान रहेका दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई दीगो बनाउन यस प्रकारका साँस्कृतिक महोत्सवहरुको आयोजना अत्यन्त प्रभावकारी हुने पनि बताए ।

महोत्सवमा १५५ देशका प्रतिनिधि र ३५ हजार कलाकारको सहभागिता रहेको बताइएको छ । करिब ३५ लाख मानिसहरु सहभागी रहेको महोत्सवमा नेपालबाट मात्र १५० जना कलाकारहरु लगायत आर्ट अफ लिभिङसँग सम्बन्धित हजारौं नेपालीको सहभागी रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको सो महोत्सवमा भारत सरकारका प्रायः सबै सांसद तथा मन्त्रीहरुका साथै भारतबाहिरका सांसद, मन्त्रीहरु, सरकार प्रमुखहरु, राष्ट्रप्रमुखहरु, पूर्व राष्ट्रप्रमुखहरु तथा पूर्व सरकार प्रमुखहरुको महोत्सवमा उल्लेख्य सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् ।
Regmi 1