प्रधानमन्त्री ठीक ढंगले नहिँडे थान्को लगाइने

प्रधानमन्त्री ठीक ढंगले नहिँडे थान्को लगाइने


काठमाडौं । नेकपा एमाले नेता केपी शर्मा ओलीले गृहमन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री झलनाथ खनाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने चेतावनी दिएका छन् । गृह माओवादीलाई दिनु पार्टी निर्णयविपरीत हुने भन्दै ओलीले भनेका छन्-’गृहमन्त्रालय माओवादीलाई दिए उनलाई निकै महंगो पर्छ ।’ शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता ओलीले प्रधानमन्त्रीमा उदण्डता, स्वेच्छाचारिता र सत्तामोह देखिएको भन्दै यो प्रवृत्ति स्वयम प्रधानमन्त्रीका लागि राम्रो नहुने दावी गरेका छन् । ‘झलनाथजी ३९ देखि ४६ सालसम्म पार्टीको महासचिव हुनुहुन्थ्यो, त्यतिवेला ठीक ढंगले नहिँडेकोले थान्को लगाइएको थियो’ उनले भनेका छन्-’अब पनि उहाँलाई थान्को लगाइन्छ । काम नगर्ने कसैलाई पनि पदमा राख्न सकिँदैन ।’
यद्यपि उनले प्रधानमन्त्री खनाललाई पार्टी निर्णय विपरित जाँदा के हुन्छ भन्ने थाहा भएकोले पार्टी विपरीत नजाने विश्वास ब्यक्त गरेका छन् । माओवादीलाई गृहमन्त्रालय नदिने निर्णय देश र जनताको पक्षमा भएको भन्दै त्यसमा कुनै पनि हालतमा तलमाथि पार्न नहुने ओलीको जिकिर थियो । नेता ओलीले कुर्सीमा अर्जुन दृष्टि लगाउने, छेपारो जस्तै कुर्सीमा टासिएर बस्न रुचाउने तर सिन्कोसम्म नभाच्ने प्रधानमन्त्री हुनु र नहुनुको कुनै अर्थ नभएको भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरेका छन् ।
राष्ट्रिय सहमतिको कुरा गरेर खनाल प्रधानमन्त्री बने पनिसहमतिको एजेण्ड भन्दा अन्तरविरोध चर्काएर कुर्सी टिकाउने खेलमा लागेको ओलीको आरोप थियो । उनले भने-’झलनाथजी सहमति कायम गर्नेभन्दा पनि सहमतिमा भाँजो हालेर सत्ता टिकाउने खेलमा लिप्त हुनु हुन्छ ।’ उनले प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा राष्ट्रिय सहमति, शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउँदै नयाँ संविधान जारी गर्ने काम हुनै नसक्ने ठोकुवा पनि गरेका छन् । उनले भने-’झुक्याएर, ढाँटेर मुलुक अगाडि बढ्न सक्दैन, यो सबैले बुझ्नु पर्छ ।’ संविधानसभाको म्याद यथास्थितिमा थप्न नसक्ने स्पष्ट पार्दै ओलीले अगाडि भने-’के का लागि संविधानसभाको म्याद थप्ने, संविधान बनाउन कि भत्ता खान ? ’-अ.ख. कामाण्डौ मेस