पाप इश्वरलाई लाग्छ- इन्द्रकुमार श्रेष्ठ

पाप इश्वरलाई लाग्छ- इन्द्रकुमार श्रेष्ठ


चोर पनि सज्जन कहलिएको छ
डाँकु पनि इमानदार जनिएको छ
ज्यानमारा त अझ महात्मा भनिएको छ
कहिल्यै कसैले सजाय पाउँदैन
ग्रहदशाको पालै आउँदैन
चोरको ठूलोठूलो स्वर छ
डाँकुलाई कसैको डर न भर छ
ज्यानमारा खुकुरी उध्याइरहेछ
सधैंभरि माथिको माथि
निर्धा-निमुखालाई धर्धरी रुवाउँदा पनि
सधैंभरि उनी नै जातीको जाती
न त उसलाई कहिल्यै रोगै लाग्छ
न त उसलाई कहिल्यै दु:खै पर्छ
गर्ने बेलामा उही नै
मनपरी-मनपरी गर्छ ।

भगवान् !
के तिमीलाई पनि चोरदेखि डर लागेको हो ?
के तिमीलाई पनि डाँकुदेखि त्रास जागेको हो ?
कि ज्यानमाराले आफूलाई पनि मार्छ भन्ने लागेको हो ?
त्यही भएर तिमी अदृश्य रूपमा भागेको हो ?
त्यसो हो भने
हृदयमा विशाल आक्रोश जाग्छ
अनि म भन्छु
सारा पाप त इश्वर !
तिमीलाई नै लाग्छ

गजल- प्रकाश बस्नेत
भत्केर गोठ गैसक्यो यहाँ कसले पो देख्यो र ?
चुहिएर पाली गइसक्यो यहाँ कसले पो देख्यो र ?

कमाउन परदेश लागेको छोरो हरायो उतै नै
विपत्ति केथ्यो त्यो देशमा त्यहाँ कसले पो देख्यो र ?

झुप्रामा कुप्रा बूढा छन् हुक्का कसले पो बनाउला –
खुम्चेर नसा थलामा परे जहाँ कसले पो देख्यो र ?

मतानमा गाई मझेरीमा बाउ मेलामा स्वास्नी छे
कमाउन गएथ्यो छोरो के भो उहाँ कसले पो देख्यो र ?