गुटको राजनीति तोड्न देउवाको नेतृत्व आवश्यक छ

गुटको राजनीति तोड्न देउवाको नेतृत्व आवश्यक छ


Chandra Bhandari
:: चन्द्र भण्डारी (नेता, नेपाली कांग्रेस) ::

० नेपाली कांग्रेसलाई महाधिवेशनको चटारोले छोपेको छ, देशको समस्या त याद छैन होला हो कि तपाईंहरूलाई ?
– देशको समस्या भोग्ने अंसियार हरेक कांग्रेसजन पनि हुन् भने समस्या बोध नहुने त कुरै भएन । मुलुकको समस्या समाधान गर्नकै लागि हामीले संविधान निर्माण गरेका हौँ, तर संविधान जारीपछि केही समस्या उत्पन्न भएका छन्् । यसरी अकल्पनीय रूपमा उत्पन्न समस्या समाधानका लागि सबभन्दा ठूलो दलको नाताले कांग्रेस आफ्नै हिसाबले क्रियाशील रहेकै छ । जहाँसम्म महाधिवेशनप्रति बढ्ता ध्यान केन्द्रित रहेको सवाल छ, यो त स्वाभाविक छ कि अहिले महाधिवेशन गर्न नेपाली कांग्रेस संवैधानिक हिसाबले नै बाध्य भएको परिस्थिति हो ।

० यत्तिका पटक वार्ता भएर पनि मधेस समस्या सुल्झिन सकेको छैन, कांग्रेसले यसलाई कसरी लिएको छ ?
– संसद्देखि तराईका नेतागण र अन्य दलका नेतृत्वसँग पनि हामी तराई–मधेसको समस्यामा केन्द्रित रही आवश्यक छलफल तथा प्रक्रियामै छौँ । तराईका जनता भनेका दक्षिणतर्फको सीमाका सदियौँदेखिका रक्षक हुन् । यस्तो जिम्मेवारी निर्वाह गर्दै आएका जनताको तप्काको समस्याप्रति कांग्रेसजस्तो जिम्मेवार पार्टी बेसरोकार रहन सक्ने या रहन मिल्ने त सवाल नै छैन । तर, मधेसका जनता जुन समस्यामा छन््, त्यसको अतिरञ्जनापूर्ण ढङ्गले प्रचारप्रसार गरी त्यहाँका सीमित नेताहरूले आफ्नो स्वार्थ पूर्ति गर्न खोजेका मात्र हुन् भन्ने टीका–टिप्पणी पनि आमनेपालीबीच हुने गरेको छ । यसलाई निराधार मान्न सकिने अवस्था पनि छैन । कांग्रेसले मात्र चाहेर या कोसिस गरेर मधेस समस्या हल हुने अवस्था नरहेको, अर्थात् समस्याको गाँठो अलिक उल्झिएको मैले महसुस गरेको छु । तथापि, अन्तत: मधेस समस्या समाधानमा ढिलोचाँडो नेपाली कांग्रेसको अहम् भूमिका दर्शिने नै छ ।

० कांग्रेस महाधिवेशननजिक रहेको परिवेशमा मधेसका गाउँ–जिल्लामा पनि गाउँ अधिवेशनहरू हुनु आवश्यक छ, अब भनिदिनुस् आगामी १५ गतेभित्र मधेस समस्याले निकास नपाए तराई–मधेसका गाउँ–ठाउँमा गाउँ अधिवेशन हुन सक्ला ?
– हामीले ल्याएको लोकतन्त्र, हामीले ल्याएको विकास, हामीले बनाएको संविधान र तराई–मधेसका जनताको हक–अधिकारका लागि हामीले गर्न लागेको समाधानको प्रयास या माग सम्बोधनको प्रयत्नको आधारमा हामी तराई–मधेसका गाउँमा निर्वाध अधिवेशन गर्न धक मान्नुपर्ने अवस्थामा छैनौँ भन्ने मेरो विश्वास हो । यहाँनेर थप म केन्न चाहन्छु भने लोकतन्त्रमा जुनकुनै दलले आफ्ना दलीय गतिविधि सञ्चालन गर्न पाउनुपर्छ, कसैले रोकटोक गर्नुहुँदैन । तराई–मधेसका कुनै शक्तिले अन्य दलका संवैधानिक गतिविधिप्रति रोकावट गर्ने प्रयत्न गर्छ भने त्यसले स्वयम् त्यस्ता शक्तिको पनि हित गर्दैन भन्ने मेरो मान्यता छ । जनतालाई दु:ख नदिने, अन्य राजनीतिक दललाई निषेध नगर्ने, साङ्गठनिक कार्यमा ढुक्कले लाग्न दिने कर्तव्य त्यहाँका सबै राजनीतिक दल, शक्ति या समूहको पनि हो । अर्काको गतिविधिलाई जबर्जस्ती बिनाकारण रोक्न खोजिन्छ भने त्यस्ताहरूले कसरी लोकतन्त्रको कुरा गर्न सुहाउला त ? यो प्रश्नको मर्मप्रति मधेसकेन्द्रित दलका नेताहरूले पनि ख्याल गर्नुपर्छ ।

० लोकतन्त्रका लागि लडेको सबभन्दा पुरानो पार्टी भनी गर्व गर्न रुचाउने कांग्रेसभित्र चाहिँ लोकतान्त्रिक अभ्यास कत्तिको छ, खुलस्त पारिदिन सक्नुहुन्छ तपाईं ?
– यो प्रश्न हाम्रानिम्ति अलिक सङ्गीन प्रकारकै छ भन्नुपर्ने हुन्छ । आन्तरिक प्रजातन्त्रको सवालमा नेपाली कांग्रेस आलोचनाको सिकार हुँदै आएको कुरालाई मैले मात्र ढाकछोप गर्न खोजेर सम्भव नहोला । हालैको एउटा उदाहरण लिऊँ, क्रियाशील सदस्यता वितरणमा निम्तिएको विवाद हल गर्न सभापति आफैँले एउटा कमिटी गठन गर्नुभयो, तर उक्त कमिटीले दिएको रायसुझाव उहाँ स्वयम्ले पालना गर्नुभएन । यसलाई पार्टीभित्र रहेको अलोकतान्त्रिक प्रवृत्तिकै रूपमा लिन सकिन्छ ।

० सभापतिलाई मात्र दोष दिएर तपाईं या कांग्रेसका युवापुस्ताले उम्कन मिल्छ त ?
– यतिबेलाको नेपालको युवापुस्ता इतिहासकै कमजोर पुस्ताको रूपमा देखियो भनेर त मैले बारम्बार दोहोर्‍याउँदै आएको छु । कांग्रेसभित्र पनि यो कुरा लागू हुन्छ, अर्थात् नेपाली कांग्रेसको युवापुस्ता पनि कमजोर नै छ ।

० यसको मतलब हालको पाको उमेरका नेताहरूलाई चुनौती दिन सक्दैन, प्रतिस्पर्धा गर्न सक्दैन कांग्रेसको युवापुस्ताले ?
– जबसम्म युवापुस्ता निर्मम तवरबाट अगाडि आउन सक्दैन, कांग्रेस प्रजातान्त्रिक तरिकाले चल्न सक्दैन र हामीले चाहेअनुरूप देशका समस्याको निकास, मुलुकको विकास, समृद्धि या सम्पन्नता पनि सम्भव छैन भन्ने ठान्छु म । यो यथार्थ हो । हाम्रो नेतृत्व एउटै व्यक्तिलाई अस्वाभाविक किसिमले पटक–पटक अवसर दिन हिच्किचाउँदैन, एउटै व्यक्तिलाई पटक–पटक मन्त्रीको जिम्मेवारी दिन अप्ठ्यारो मान्दैन र मन्त्री खानेले पनि अरूलाई पनि अवसर दिनु उपयुक्त होला भनी सोच्न खोज्दैन । अर्थात्, युवापङ्क्तिलाई त हाम्रो नेतृत्व ‘भेन्टिलेसन’ दिनै चाहँदैन । यो सत्य लुकाएर लुक्दैन र अब लुकाउन आवश्यक पनि छैन । यस्तो अवस्थालाई चिर्ने हाम्रो प्रयत्न जारी छ । तर, युवानेताहरू पनि यहाँ चुकेका छन् । कतापट्टिको कित्तामा आफूलाई अटाउन सक्दा लाभ हुन्छ, आफ्नो राजनीतिक यात्रा सुगम हुन्छ भनी जोडघटाउ गरेर चल्न खोज्ने प्रवृत्ति युवापुस्तामा पनि देखिएको छ । यसले युवापुस्ताकै बाटो छेकेको छ, सम्भावना बोकेका असल युवाहरू पनि यही कारणले पछि परेका छन् भन्दा अतिसयोक्ति नहोला ।

० यसको मतलब कांग्रेस नीतिमुखी नभई व्यक्तिमुखी भयो भनी लाग्ने गरेको आरोपमा पनि दम छ होइन त ?
– हामी त पार्टीलाई नीतिमुखी बनाउन नै लागिरहेका छौँ, एउटा सिस्टममा ढाल्न खोजिरहेका छौँ, तर अहिलेसम्म नेतृत्वमा रहेका शीर्ष नेतृत्वचाहिँ व्यक्तिमुखी भएकै हो भन्न धक मानिरहनुपर्ने अवस्था अब रहेन । पार्टीलाई नीतिमुखी बनाऔँ, व्यक्तिमुखी प्रवृत्तिलाई विकार ठानेर सदाका लागि त्यागौँ भनेर हामी त भनिरहेका छौँ र त्यसैका लागि प्रतिबद्ध पनि छौँ । हामीले ल्याएको लोकतन्त्र त क्षमता छ भने जो पनि अघि बढ्न पाउनुपर्छ भन्ने पो हो त, को नेताको नजिक छ, कुन आसेपासेले कत्तिको चाकडी बजाएको छ भन्ने हेरेर तिनैलाई अवसर दिने सामन्ती सोचशैलीलाई फल्नफुल्न दिनका लागि त होइन नि । हो, हाम्रो लडाइँ निरन्तर जारी छ, यस्तै अलोकतान्त्रिक प्रवृत्तिका विरुद्ध ।

० नेपाली कांग्रेसको आगामी सभापति को होला भन्ने चासो सर्वत्र छ यतिबेला, तपाईं भनिदिनुस् कि कांग्रेसको अबको सभापति को हुनुपर्ला ?
– जसरी आज देश आईसीयूमा छ त्यसरी नै मेरो पार्टी पनि आईसीयूमै परेको रूपमा म बुझ्दछु । मानौँ कि यस विषमावस्थाबाट बाहिर निकाल्न म आफैँ राम्रो चिकित्सक हुँ । तर, पेसेन्टहरूचाहिँ यहाँ कस्ता परे भने युवा चिकित्सक जतिसुकै जानेबुझेको भए पनि हात काँप्ने अवस्थामा पुगेका कुनै जमानाका थोत्रा चिकित्सककै शरणमा जान चाहन्छन् । यस्तो विडम्बनापूर्ण अवस्थाको सही चित्रण गर्दा हामीजस्ताको आफ्नो पोजिसनमै नकारात्मक परिवर्तन हुनसक्ने खतरा रहेको छ, तर हात काँप्ने अवस्थामा पुगेको हाम्रो नेतृत्व स्वयम्ले पनि परिवर्तनको ढोका घच्घच्याउन पहलकदमी लिनुपर्छ भन्ने मेरो दृढ मान्यता छ, ता कि नेतृत्व स्वयम्को इज्जत पनि रहोस् र युवापुस्ताले जिम्मेवारी पनि पाओस् । जसले गर्दा पार्टी पनि ऊर्जावान बनोस् ।
chandra
० यसको मतलब तपाईं सुशील कोइराला छोडेर शेरबहादुर देउवालाई सभापति बनाउन चाहनुहुन्छ, हो ?
– सुशीलजी उमेरले मात्र पाको हुनुभएको नभई पार्टी सभापति हुनुभयो, प्रधानमन्त्री पनि हुनुभयो, यस क्रममा उहाँकै नेतृत्वमा देशले नयाँ संविधान पायो । उहाँ आदरणीय व्यक्तित्व बन्नुभएको हो । तर, संविधान बनाइसकेपछि राष्ट्रपति या देशको अभिभावक भएर बस्नुपर्ने मान्छे कसको के चक्करमा लागेर फेरि प्रधानमन्त्रीको लोभ देखाउँदै आज यस हालतमा पुग्नुभएको छ । उहाँ पार्टी सभापति रहँदा खै कुनै विभाग वा पार्टीका निकायहरू चलेनन्, सुस्तको सुस्तमै यत्तिका समय गुज्रियो । प्रधानमन्त्री हुनुभयो तर हुनैपर्ने र गर्न सकिने काम पनि गर्न सकेको या भएको देखिएन । औँल्याउन सकिने कुरा धेरै छन्, तर त्यसरी व्याख्या गरिरहनु आवश्यक छैन । मैले सिम्बोलिक रूपमा मात्र भन्न खोजेको । उहाँजस्तो व्यक्तिले अब प्रधानमन्त्रीको ओहोदा फेरि ताकिरहनु आवश्यक नै थिएन । यसले उहाँको मात्र नभई कांग्रेसकै साख गिर्न पुग्यो । तैपनि उहाँ यो महसुस गरिरहनुभएको छैन । यसले हामीजस्ताको चित्त दुख्नु स्वाभाविक छ । सुशील कोइराला आफ्नो इतिहास र योगदानका निम्ति सम्माननीय व्यक्ति हुनुहुन्छ र पनि समयसुहाउँदो कदम चाल्ने मामलामा अब पछि परिसक्नुभएको छ । यसमा अब कुरा चपाइरहनै पर्दैन । जहाँसम्म शेरबहादुर देउवालाई सभापति बनाउने भन्ने सवाल छ, हो अनुकूल परे त म आफैँ हुन चाहन्थेँ, तर के यो चाहना राखेजस्तो सहज र स्वाभाविक छ त ? अनि, कांग्रेसलाई गुटगत चरित्रले कमजोर पार्‍यो, अब यसको अन्त्य हुनुपर्छ भन्दै पार्टी एकढिक्का बनाएर लैजाने अठोटका साथ नेतृत्व लिन अग्रसर शेरबहादुर देउवाजस्ता नेतालाई चाहिँ सभापति हुने अवसर दिनैहुन्न भनी सोच्नु आवश्यक छ र ? निषेधको राजनीति कसैले गर्नुहुँदैन कसैलाई यत्तिकै निषेध गर्नुहुँदैन ।

० देउवा क्याम्पमा गएर तपाईंले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न खोज्नुभयो भनेमा के जवाफ दिनुुहुन्छ ?
– पार्टीभित्रको ग्रुपिजम अन्त्य गर्नका लागि यतिबेला देउवाजीलाई पार्टीको कमाण्ड सुम्पनु उचित र आवश्यक भएको ठहरमा म पुगेको छु । यसलाई आदरणीय सुशील कोइराला या अन्य कोही पनि नेताले अन्यथा रूपमा लिनुहुँदैन भन्ने मेरो धारणा हो ।